११ जेष्ठ २०८२, शनिबार

जनसेवक र त्यागी एमाले उम्मेदवार घननाथ
  • न्युज मानसराेवर

बाँके\ राजनीतिमा निष्ठा र त्याग महŒवपूर्ण मानिन्छ । राजनीति गर्नेहरु लाभको पदमा पुगेर शक्ति आर्जन गर्ने लोप राख्छन् । यतिमात्रै होइन राजनीतिलाई केवल जनताको सेवा मान्नेहरुको पनि कमी छैन । यस्ता धेरै पात्रहरु छन्, जसको विषयमा अहिलेसम्म न लेखिएको छ । न त उनीहरुलाई खोजिएको छैन । शक्ति केन्द्रसँगको निकटताले समाजमा धेरै प्रभाव पार्छ अहिलेको राजनीतिमा ।

‘राजनीति फोहोरी खेल हो’ भन्ने भाष्य स्थापित गरिएको छ । यो असल राजनीतिक चरित्र होइन । राजनीतिक चरित्र भनेकै जनताको सेवा गर्नु हो । न की पैसा कमाउने र लाभको पदमा पुग्ने ।

३०औँ वर्ष जनताको सेवामा खटिएर, ठूलो राजनीतिक उचाइ लिएर पनि लाभको पदमा नपुगेका पात्र हुन्, घननाथ खनाल । उनी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा बैजनाथ गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हुन् । खनालले नेकपा एमालेबाट बैजनाथ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

उनी भन्छन्, ‘राजनीति गरेको ३०औँ वर्ष भयो । मसँगै राजनीति गरेकाहरु मन्त्रीसम्म भए । तर मैले पदको लागि मरिहत्ते गरिन् ।’ कुशल संगठकको छबी बनाएका उनी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा भने अध्यक्षको उम्मेदवार बनेका छन् ।

एमालेको बाक्लो संगठन भएको बैजनाथमा उनको उम्मेदवारीले नेकपा एमालेले पुनः बैजनाथको सरकार चलाउने आशा गरेको छ । गत निर्वाचनमा बैजनाथमा अध्यक्ष, उपाध्यक्षसहित बहुसंख्यक वडामा नेकपा एमालेले जितेको थियो । यसपटक पनि जित हुनेमा विश्वस्त छ एमाले । अध्यक्षका उम्मेदवार खनालले यसपटक पनि बैजनाथमा नेकपा एमालेको जित पक्का रहेको बताउँछन् ।

उक्त पार्टीको सदस्य तथा उम्मेदवारका हिसाबमा आफ्नो टिम पनि विजयी हुनेछ । समृद्ध बैजनाथको नेतृत्व आफूले गरेमा पाँच वर्षमा जनताले महसुस हुनेगरी काम गरिने उनले बताएका छन् ।

यसपटक भने पार्टी र जनताको चाहनाअनुरुपमा आफू अध्यक्षको उम्मेदवार बनेको उनको भनाइ छ । आफूले स्थानीय सरकारलाई सबल र जनतामैत्री तथा समृद्ध बनाउन उम्मेदवार दिएको उनले बताए । ‘पालिकाको नेतृत्व चुनौतीपूर्ण नै हुने भन्दै सबै चुनौतीलाई परास्त गर्न सकिने अठोटका साथ मेरो उम्मेदवारी हो,’ खनाल भन्छन् ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सम्पूर्ण उम्मेदवार घरदैलो अभियानमा छन् । घरदैलो अभियानका क्रममा आफूले सबैभन्दा ठूलो समस्या बेरोजगारी र सुकुम्बासीको समस्या रहेको देखेको बताउँछन् । बैजनाथमा रहेको यस्तो विकराल समस्या समाधानको लागि आफ्नो उम्मेदवारी रहेको छ ।

बेरोजगारी सिंगो देशको समस्या हो । यस्तो समस्या समाधानको लागि स्थानीय सरकारको मूल दायित्व हुन्छ । बेरोजगारी समस्याको दीर्घकालीन समाधानको लागि बैजनाथको सरकार पूर्वयोजना मुताविक अघि बढ्नेछ । अहिले बैजनाथमा उद्योग कलकारखाना छैन । हामीसँग भएको भनेको हाम्रो भएको माटो हो । कृषि हो ।

बेरोजगारी अन्त्यका लागि मैले कृषि हबको नीति ल्याउने उनले बताए । ‘पाँच वर्षको अवधिमा रोजगारी बढाउने काम हुनेछ । परिवारसँग भएको खेतीयोग्य जमिन मात्रै सदुपयोग गर्न सक्ने हो भने भोको बस्न नपर्ने अवस्था छ । कृषि क्रान्तिबाट अग्रसर गराइनेछ । कृषि कर्मको लागि पालिकाले स्रोतको व्यवस्था गरिने छ,’ उनले भने ।

यसैगरी सीपमूलक तालिम सञ्चालन गर्न आवश्यक रहेको औँल्याइए । बेरोजगारी अन्त्यका लागि तरकारी खेतीलाई बढवा दिने योजना उनले अगाडि सारेका छन् । उनले शिक्षा स्वास्थ्य तथा अन्य क्षेत्रको विकास प्राथमिकता दिएका छन् । बैजनाथमा १६ वटा सरकारी मावि विद्यालय छन् । शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनको लागि कृषि, विज्ञान तथा प्राविधिक शिक्षालाई जोड दिइएको उनको भनाइ छ । उच्च शिक्षा अध्ययनको लागि बैजनाथको स्रोत बाहिर जाने बाटो रोक्नुपर्ने उनको धारणा छ ।

यो सबै काम स्थानीय सरकारले गर्ने उनी बताउँछन् । हामी सरकारमा गएमा शिक्षा निःशुल्क गरिनेछ । शिक्षाका नाममा भइरहेको बेथितिको अन्त्य गर्ने उनको अठोट छ । बैजनाथको समृद्धिका लागि क्षमतावान्, बैजनाथ बनाउने उद्देश्य बोकेको व्यक्ति पालिकामा आउनुपर्छ भन्ने मान्यता उनले लिएका छन् ।

‘मेरो उम्मेदवारी पहिलो र अन्तिम हो । म अर्कोपटक पनि उम्मेदवार बन्दिनँ । म अध्यक्ष हुँदा पाँच वर्षमा जति गर्नेछु । सबै जनताकै लागि हुनेछ । मलाई कुनै लोभ र पाप र पैसा कमाउनु छैन । म कुनै बाहनामा केही खान्न, अरुलाई खान पनि दिन्नँ,’ उनी भन्छन्, ‘यो कुरा म पुष्टि गरेर देखाउने छुँ ।’

उनले लामो समय जनता र पार्टीको लागि सिंगो जीवन समर्पण गरे । अहिलेसम्म उनले कुनै पनि लाभको पद लिएनन् । लिन चाहेनन् । आफूलाई अवसर जाउँदा पनि अरुलाई अवसर दिए । जनताको साथमा काम गर्दा एकपटक आफ्नो पालो आउँछ भनेर कुरेर बसेका उनी अहिले भने अध्यक्ष पदको लागि राजी भएका हुन् ।

गत निर्वाचनमा समेत पार्टीले अध्यक्ष पदको लागि अफर गर्दा मानबहादुर रुचाललाई जिताउन मैदानमा थिए । यतिमात्रै होइन बैजनाथमा एमालेलाई जिताउन उनले २०७० मा दलबहादुर सुनारलाई जिताउनसमेत आफू जनतामाझ पुगेको सम्झिए । बैजनाथमा नेकपा एमालेलाई बलियो शक्तिको रुपमा स्थापित गर्न भूमिका खेलेका खनाल बैजनाथवासीले आफूलाई जिताएर पुरस्कृत गर्नेमा विश्वस्त छन् ।

खनालका प्रतिबद्धता

२०७४ सालमा नेकपा एमालेले जितेको थियो । यसपटक पनि नेकपा एमालेलाई जिताउन जनता निर्णायक भएको उनले बताए । पहिलाको सरकारले राम्रो काम गरेको छ । घोषणापत्रमा अघिल्लो सरकारले पूरा गर्न नसकेका कामलाई निरन्तरता दिइने उल्लेख छ । समग्रमा बैजनाथ गाउँपालिकाले जिल्लाका अन्य पालिकाभन्दा राम्रो काम गरेको दाबी गरिएको छ ।

उनले बाटो बनाउँदा जनताको अनुमति लिने प्रतिबद्धता व्यक्त गरे । पहिलाको सरकारले ४० किलोमिटर सडक पीच गरेको छ । उनले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएका छन् । बनेका स्वास्थ्यचौकीहरुको व्यवस्थापन र प्रभावकारी सेवा प्रदान गरिने उनी बताउँछन् । सुकुम्बासीलाई लालपुर्जा दिने विषय सधै राजनीतिक अस्थिरताको आक्रमणमा पर्दै आएको छ । अघिल्लो समयमा बैजनाथमा सुकुम्बासीहरुलाई जग्गा प्रदान गर्नको लागि ८० प्रतिशत काम सम्पन्न भएको छ ।

‘हामीले चुनाव जितेर गयौं भने यहाँका सुकुम्बासीहरुले लालपुर्जा प्राप्त गर्नेछन् । भूमिहीनलाई जग्गाको मालिक बनाउने काम सबैभन्दा पहिला हुनेछ । जुन पार्टीसँग विचार र नीति हुन्छ उसैले चुनाव जित्ने हो,’ उनले भने । त्यसैले नेकपा एमाले विचार, पार्टी र बलियो संगठन भएको पार्टी भएको उनको दाबी छ । त्यसैले पटकपटक बैजनाथमा बैजनाथले इतिहास रच्नेछ ।

आफ्नो जित सुनिश्चित भएको खनालले जिकिर गरेका छन् । ‘अहिले गाउँपालिकाका आठवटै वडामा जित हासिल गर्ने नेकपा एमालेको आशा छ,’ उनी भन्छन्, ‘सम्पूर्ण बैजनाथलाई सक्षम उम्मेदवार छनोट गर्न आह्वान गर्छुँ ।’

घननाथ खनाल को हुन् ?

खनालको जन्म स्याङजा जिल्लामा २०२० सालमा भएको हो । उनी बुबा प्रजापति खनाल र आमा मोतिसरा खनालको कोखबाट माइलो सन्तानको रुपमा जन्म भएको थियो । उनका आठ दाजुभाई छन् । खनालका बुवा प्रधानपञ्च थिए । खनाल २०३६ सालबाट राजनीतिमा क्रियाशील भएका हुन् । सानैदेखि विद्रोही स्वभावका उनी तमसुक च्यातेर घरभित्रै विद्रोह गरेका थिए ।

त्यतिबेला उनी मात्र कक्षा सातमा पढ्थे । उनले एसएलसीसम्मको औपचारिक अध्ययन गरेका छन् । आफू खड्कबहादुर नेपाली नाम गरेका शिक्षकको सहयोगबाट राजनीतिमा सक्रिय भएको उनी बताउँछन् । गाउँका मुखिया र प्रधानपञ्चको घरमा जन्मे हुर्के उनी सानैदेखि कम्युनिस्ट पार्टीसँग नजिक भए । २०३८ सालमा स्याङजा जिल्लाको अनेरास्ववियूका सचिव भएका उनी २०४२ सालमा जिल्लाको पार्टी कमिटीको राजनीति गर्न थाले ।

त्यसपछि भूमिगत कार्यकर्ताको रुपमा राजनीति गरेका खनालले पार्टीको क्रियाशील सदस्यता भने २०४६ पछि मात्रै प्राप्त गरे । २०३६ सालबाट राजनीति सुरु गरे पनि २०३८ सालमा पार्टीले साधारण सदस्यता प्रदान गरेको थियो ।

यस्तै उनको जन्मस्थल आरुबारी गाउँ कमिटीको संस्थापक सचिव पनि भएका थिए । उनको परिवार २०५२ सालमा त्यहाँबाट बाँकेको तत्कालीन चिसापानी गाविसमा बसाइँसराइ गरेर आएको थियो । पार्टी सदस्यता पनि यतै ल्याएका थिए । तर फेरि स्याङजा नै लिए । फेरि चिसापानी गाउँ कमिटीको सचिव भएका उनी चार महिनापछि क्षेत्रीय कमिटी समस्य हुँदै जिल्ला कमिटी सदस्य बने । हाल बैजनाथ–४ का स्थायी बासिन्दा हुन्, उनी ।

बैजनाथमा उनले पार्टीको संगठनमा महŒवपूर्ण भूमिका खेलेका छन् । २०७० सालको चुनावमा उनले पार्टीलाई जिताउन भूमिका खेलेका थिए । आफ्नै नेतृत्वमा त्यतिबेला दलबहादुर सुनारलाई जिताउन सफल भएको उनले सम्झिए ।

सुनार त्यतिबेला मन्त्रीसमेत भएका थिए । उनी हाल नेकपा समाजवादीमा आबद्ध छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा अरुलाई अवसर दिनुपर्छ मेरो समय भएको छैन भनेर अर्को व्यक्तिलाई अवसर दिएका थिए । उनको पारिवारिक पृष्ठभूमि नै राजनीतिक छ । उनका हाल श्रीमती र छोराछोरी रहेका छन् ।

  • २७ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech