११ जेष्ठ २०८२, शनिबार

झण्डै ४० वर्षपछि लुम्बिनी गुरुयोजना सम्पन्न हुने चरणमा
  • रासस

बाँके\गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा छ । सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४० वर्ष लगाएर सम्पन्न गरिँदै छ । टाँगेले सन् १९७२ देखि १९७८ सम्म ६ वर्ष लगाएर लुम्बिनी गुरुयोजना कोरेका थिए ।

त्यसलाई पन्ध्र वर्षभित्र दुई चरणमा पूरा गर्ने लक्ष्य राखिए पनि सरकारी बेवास्ताका कारण  अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।  ढिलै भए पनि गुरुयोजना सम्पन्न भएपछि लुम्बिनी संसारका घुम्नलायक थोरै गन्तव्यमध्येको एउटा गन्तव्य बन्ने निश्चित प्रायः छ ।

लुम्बिनी अन्तरराष्ट्रिय पर्यटकीयस्थलका रुपमा तयार हुनु र झण्डै २० किलोमिटर नजिकै अन्तरराष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनुले यस क्षेत्रको भविष्यलाई अझ उज्ज्वल बन्ने संकेत देखिएको बौद्ध अध्येता वसन्त महर्जन बताउँछन् । ‘लुम्बिनी गुरुयोजना समयमै सम्पन्न भएको भए पर्यटन प्रवर्द्धनमा फड्को माथ्र्यो तर ढिलो भए पनि सम्पन्न हुने चरणमा छ, यो सुखद् कुरा हो’, लेखक महर्जन भन्छन्, ‘यस क्षेत्रको प्रवर्द्धन गरी आर्थिक लाभ लिन नेपाल र भारतका बौद्ध क्षेत्रसँग जोडेर विकास गर्नुपर्छ ।’

लुम्बिनी घुम्न आउने लाखौं बौद्ध पर्यटकले बौद्ध संस्कारानुसार लुम्बिनी घुम्ने विधि प्रयोग गरे पनि उनीहरू यहाँं जम्मा तीन दिन मात्र बास बस्छन् । पहिलो दिन लुम्बिनी ग्राम क्षेत्रमा रात बिताएर पवित्र आध्यात्मिक क्षेत्र प्रवेशका लागि मानसिक र शारीरि रूपमा तयार रहने, दोस्रो दिन सांस्कृतिक क्षेत्रमा चित्त शुद्ध गर्ने र तेस्रो दिन मात्रै मायादेवी मन्दिरको दर्शन गर्नुपर्ने विधि गुरुयोजनामा छ ।

१ हजार १५५ बिघा क्षेत्रफललाई तीन दिन लगाएर घुमेपछि पर्यटकले थप समय बिताउने गन्तव्य खोजी गर्नेछन् । त्यसकै लागि लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रमा रहेका कपिलवस्तु र नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका बौद्ध गन्तव्यको विकास गर्नुपर्ने अवधारणा अघि सारेको छ ।

सुस्त गतिमा सम्पन्न हुन थालेको लुम्बिनी गुरुयोजना पूर्णतया सम्पन्न नहुँदै तयारी गरिएको अन्य गन्तव्यको गुरुयोजना निर्माण सफल होला वा नहोला भन्न सकिने अवस्था छैन तथापि एक दिन ती गन्तव्यलाई पनि लुम्बिनीजत्तिकै भव्य बनाउनुपर्ने आवश्यकता रहेको संस्कृतिविद्
डा  गितु गिरी बताउँछन् । ‘विकास कोष लुम्बिनीमा मात्रै केन्द्रित भयो जसले गर्दा बुद्धको जीवनसँग जोडिएका अन्य स्थलहरू ओझेलमा परे’, डा गिरी भन्नुहुन्छ, जबसम्म यी स्थललाई लुम्बिनीसँग जोडेर विकास गरिँदैन, तबसम्म लुम्बिनीको पर्यटन प्रवर्द्धन हुँदैन ।’

लुम्बिनीको पर्यटन प्रवर्द्धन गरी यहाँका नागरिकको जीवनस्तर परिवर्तन गर्ने हो भने सबै बौद्ध क्षेत्रलाई संरक्षण, सम्वद्र्धन गरी विकास गर्नुपर्ने उनको भनाइ छ । ‘मौसमी बाजा बजाएर मात्रै हुँदैन, सरकार प्रतिबद्ध भएर लाग्नुपर्छ, अनि नागरिक समाज र निजी क्षेत्रले साथ दिनुपर्छ’, डा गिरी सुझाव दिन्छन् ।

लुम्बिनी, तिलौराकोट, गोटिहवा, निग्लिहवा, कुदान, सगरहवा, अरौराकोट, देवदह, रामग्रामलगायत बौद्ध क्षेत्रलाई जोडेर विकास गर्न सकिए मात्रै पर्यटन प्रवर्द्धनबाट नेपालले फाइदा लिन सक्ने पर्यटन तथा संस्कृतिविद्को सुझाव छ ।

  • १ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech