एक्काइसौं शताब्दीको विश्वको प्रमुख समस्यामध्ये विश्वव्यापी जलवायु परिवर्तन हो । जलवायु परिवर्तनको मुख्य कारण ग्लोबल वार्मिङलाई मानिन्छ । यो प्रायः वातावरणीय ह्राससँग सम्बद्ध छ । त्यसैले विश्वव्यापी अर्थतन्त्रहरूले वातावरणीय सम्झौताहरूमार्फत विशिष्ट समाधानहरू प्रदान गर्ने प्रयास गरेका छन् । जस्तै, २०१५ संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनमा पेरिस सम्झौता ।
त्यस्तै ग्लास्गो जलवायु परिवर्तन सम्मेलन अक्टोबर–नोभेम्बर २०२१ मा सम्पन्न भयो । त्यस सम्मेलनमा जलवायु परिवर्तनसँग लचिलोपन निर्माण गर्न, हरितगृह ग्यास उत्सर्जनलाई रोक्न र दुवैका लागि आवश्यक वित्त प्रदान गर्न महत्त्वपूर्ण उपलब्धि प्राप्त भयो । विकासोन्मुख देशहरूलाई वार्षिक १०० अर्ब डलर उपलब्ध गराउने निर्णय पनि भयो । तिनीहरू विद्यमान हरितगृह उत्सर्जन घटाउने योजनाहरू र उत्सर्जन घटाउन आवश्यक पर्ने कुराहरू बीचको अन्तरलाई कम गर्न सहमत भए । विश्वव्यापी औसत तापक्रममा भएको वृद्धिलाई १ दशमलव ५ डिग्रीमा सीमित गर्न सहमति भयो । पहिलोपटक, राष्ट्रहरूलाई कोइला ऊर्जा र खनिज ऊर्जाका लागि अनुदानहरू बन्द गर्न आह्वान गरियो ।
विश्वव्यापीकरण भनेको वस्तु, सेवा र मानिसहरूको संसारभरि स्वतन्त्र आवतजावत हो । राष्ट्रिय अर्थतन्त्रहरूलाई श्रमको एकीकरण गर्ने प्रक्रिया हो । आर्थिक विकासको प्रारम्भिक चरणमा प्रतिव्यक्ति आय उच्चमध्यम आयस्तरमा पुगेपछि वातावरणीय ह्रास शुरू हुन्छ । आय बढ्दै गएपछि आर्थिक विकासको पछिल्ला चरणहरूमा वातावरणीय ह्रासलाई कम गर्ने आधारभूत कारण पहिल्याउन थालिन्छ, नागरिक चेतनाको विकास हुन थाल्छ । यस चरणमा, भूमण्डलीकरण र अन्तरराष्ट्रिय व्यापार सूचकहरूलाई वातावरणीय ह्रासको प्रमुख निर्धारक मानिन्छ । तर, सन् २००८–९ को विश्व वित्तीय संकटपछि अन्तरराष्ट्रिय व्यापार र भूमण्डलीकरणको मापन एउटा नयाँ अनुसन्धान कार्य हो । भूमण्डलीकरणको उत्तम उपाय र विकासोन्मुख देशहरूको वातावरणीय ह्रासमा यसको प्रभावबारे अनुसन्धानकर्ताहरूबीच लगभग कुनै सहमति छैन । औद्योगिक क्रान्तिपछि विश्वको जनसंख्या ह्वात्तै बढेको छ र जनसंख्या वृद्धिसँगै वातावरणमा गहिरो असर परेको छ । वातावरणीय असन्तुलनले विभिन्न विषयमा अनुसन्धानकर्ताको टाउको दुःखाइ भएको छ ।
बितेका २ शताब्दीमा विश्वभर शहरहरू द्रुत गतिमा विस्तार भएका छन् । शहरहरू प्रविधि र आर्थिक वृद्धिको इन्जिन हुन् । शहरहरूले पृथ्वीको सतहको २ प्रतिशत मात्र ओगटेका छन्, यद्यपि विश्वको आधाभन्दा बढी जनसंख्या यही बस्छन् । विश्वव्यापीकरण र नयाँ शहरी निकटतामा प्रतिफल बढाएर प्रविधिले मानिसहरूलाई ठूला शहरहरूमा आकर्षित गर्छ । शहरीकरणको दबाबले प्रमुख पर्यावरणीय समस्याहरू निम्त्याउँछ । भूमण्डलीकरणले शहरी विकासका लागि रणनीतिहरू तयार गर्न नयाँ चुनौतीहरू उत्पन्न गर्छ किनभने विश्वव्यापीकरणले शहरी वातावरणीय प्रदूषण र प्राकृतिक स्रोतको ह्रास बढाउने खतरा हुन्छ । शहरी वातावरणीय समस्या मानिसको वर्तमान वा भविष्यको कल्याणका लागि खतरा हो ।
यसले निम्नअनुसार वातावरणीय असन्तुलन निम्त्याउँछ । अपर्याप्त पिउने पानी र सरसफाइ, भित्री हावा प्रदूषणजस्ता स्थानीय समस्या आउँछन् । वायुप्रदूषण, अपर्याप्त फोहोर व्यवस्थापन, जलस्रोत प्रदूषण र हरियाली क्षेत्रको क्षतिजस्ता समस्या शहरले निम्त्याउँछ । उत्पादन र सञ्चयको विश्वव्यापी मोडहरू वातावरणीय ह्राससँग घनिष्ट रूपमा जोडिएका छन् । शहरी जनसंख्याले आफ्नो वातावरणसँग अन्तरक्रिया गर्छ । शहरी मानिसले तिनीहरूको माध्यमबाट आफ्नो वातावरण परिवर्तन गर्छन् । खाना, ऊर्जा, पानी र जमीनको खपत र प्रदूषित शहरी वातावरणले स्वास्थ्यमा र शहरी जनसंख्याको जीवनको गुणस्तरमा असर गर्छ । शहरीकरणको विस्तार विश्वव्यापीकरणको कारण हो, किनभने विश्वव्यापीकरणले विश्वव्यापी बजार प्रणालीको उच्च मागका लागि औद्योगिकीकरणलाई बढावा दिन्छ । परिणामस्वरूप अपर्याप्त पिउने पानी र सरसफाइ सुविधा, भित्री वायुप्रदूषण र अत्यधिक भीडजस्ता स्वास्थ्य समस्या आउँछन् जुन मानिसको वर्तमान वा भविष्यको कल्याणका लागि खतराका सूचक हुन् ।
शहरी गतिविधिहरूका अतिरिक्त शहरी प्रभाव, जस्तै पारिस्थितिक अवरोध, स्रोतको कमी, रसायन र हरित गृह ग्यासहरूको उत्सर्जनको समस्या आउँछ । यसले शहरका सबै जीवित प्राणीलाई असर गर्नेछ । त्यसैले राम्रो शहरी अभ्यास र सुशासनले वातावरणीय समस्या कम गर्न मद्दत गर्न सक्छ । तथापि, सबै उपाय हुँदाहुँदै यी समस्या निरन्तर बढिरहेका छन् । साथै विश्वव्यापी वातावरण झन्झन् बिग्रँदै गएको छ । कडा कानूनको कार्यान्वयनले एक हदसम्म यसलाई निरुत्साहित गर्न सकिन्छ । यसका साथै जनताको वातावरणीय चेतनामा आमूल परिवर्तन हुनु जरुरी छ । यसका लागि पर्यावरणीय शिक्षाको अपरिहार्यतालाई व्यापक बनाउनु जरुरी छ ।
विगत १० हजार वर्षमा मानिस बढ्दा रूपमा शक्तिशाली वातावरणीय शक्ति बनेको छ । ८ हजार वर्षपहिले कृषिको आगमनसँग मानिसले भूमि परिवर्तन गर्न थाले । औद्योगिक क्रान्तिको आगमनसँगै उनीहरूले वातावरणलाई दोहन गर्न थाले जसको परिणाम सारा विश्वले अहिले भोगिरहेको छ । यो अवस्थाले विश्वव्यापीकरण ल्याएको छ । यसका साथै वातावरणमा विश्वव्यापीकरणको दबाब बढेको छ । विश्वव्यापीकरणले आर्थिक वृद्धि त गर्छ तर वातावरणलाई धेरै किसिमले असर गर्छ ।
यसले संरचनात्मक परिवर्तनलाई गति दिन्छ, जसले गर्दा औद्योगिक परिवर्तन हुन्छ । विश्वव्यापीकरणका सबै आयाम प्रतिकूल छन् किनकि यसले पैसाका लागि प्राकृतिक सम्पत्तिको दोहन गर्दै वातावरणलाई नराम्रो गरी असर गर्छ । बालिनालीका लागि चाहिने करीब २ अर्ब हेक्टर जमीन र वनक्षेत्र विगत ५० वर्षमा नष्ट भएको छ । मरुभूमीकरणले गर्दा संसारमा आर्थिक अस्थिरता र राजनीतिक अस्थिरता पनि निम्त्याइरहेको छ । प्रकृतिलाई मानिसको अस्तित्व चाहिँदैन । तर, मानिसले प्रकृतिसँग मेलमिलापमा बाँच्न सिक्नुपर्छ । यसका लागि वातावरण शिक्षा नै प्रमुख हो । यस्तो उपायले विश्वव्यापी वातावरणीय समस्याबाट बच्न सकिन्छ । यसको सही व्यवस्थापनाका लागि स्थानीय तथा प्रादेशिक सरकारको महŒवपूर्ण भूमिका हुन्छ । चुनावी घोषणापत्रमा यसको पहिचान हुनु अवाञ्छनीय हुन जान्छ ।
यस बिन्दुमा मिडियाको शक्तिलाई कम आकलन गर्नु हुँदैन । वातावरणीय समस्याहरूका बारे सूचना प्रवाहमा मिडियाको महŒवपूर्ण भूमिका हुन्छ । स्थानीय वातावरणीय समस्याहरू स्थानीय टेलिभिजनद्वारा सम्बोधन गर्न सकिन्छ । यसरी वातावरणीय समस्याहरूमा मानिसको ध्यान आकर्षित गर्न सकिन्छ । लेखक विभिन्न कलेजमा अध्यापन गर्दछन् ।