८ मंसिर २०८१, शनिबार

पर्यटनले लय समात्ने आशा
  • न्युज मानसराेवर

विश्व पर्यटक आगमनको तथ्यांक हेर्दा सन् २०२१ मा सन् २०२० मा भन्दा ४ दशमलव  शून्य १ प्रतिशतले वृद्धि भएको थियो । संयुक्त राष्ट्रसंघसँग आबद्घ विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले निकालेको तथ्यांकअनुसार सन् २०२२ को प्रथम ३ महीनामा यूरोप महादेशमा मात्रै सन् २०२१ को प्रथम ३ महीनामा आएका पर्यटक संख्याको तुलनामा सन् २०२२ को प्रथम ३ महीनामा २८० प्रतिशतले बढेको छ । त्यस्तै अमेरिका महादेशमा पनि सन् २०२१ को प्रथम ३ महीनाको तुलनामा सन् २०२२ को प्रथम ३ महीनामा ११७ प्रतिशतले बढेको देखिएको छ । उता मध्यपूर्वमा पनि सन् २०२१ को प्रथम ३ महीनामा आएको पर्यटक संख्याको तुलनामा सन् २०२२ को प्रथम ३ महीनामा १३२ प्रतिशतले बढेको छ । अफ्रिका महादेशमा चाहिँ समीक्षा अवधिमा ९६ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको देखिन्छ । त्यस्तै एशिया प्यासिफिक क्षेत्रमा चाहिँ ६४ प्रतिशतले बढेको छ ।

सन् २०१९ को विश्व पर्यटन आगमनको वार्षिक पर्यटन आगमन संख्यासँग तुलना गरेर हेर्ने हो भने अझै पनि यूरोपमा पर्यटक आगमन ४३ प्रतिशतले कमी रहेको छ भने अमेरिकी महादेशमा पर्यटक आगमन संख्या ४६ प्रतिशतले कमी रहेको छ । त्यस्तै मध्यपूर्वमा यस्तो संख्या ५९ प्रतिशतले कमी रहेको छ । अफ्रिका महादेशमा चाहिँ ६१ प्रतिशतले कम रहेको छ । एशिया प्यासफिक क्षेत्रमा चाहिँ सन् २०२१ को प्रथम ३ महीनामा आएको पर्यटक संख्याको तुलनामा सन् २०२२ को प्रथम ३ महीनामा ६४ प्रतिशतले कमी रहेको छ ।

सो तथ्यांकमा जनाइएअनुसार समग्रमा कतिपय देशमा अझै पनि सन् २०१९ को तुलनामा ९३ प्रतिशतसम्म पर्यटक आगमनको संख्या कम रहेको देखिन्छ ।

नेपालमा पनि सन् २०२२ लागेदेखि नै विदेशी पर्यटक आगमनमा वृद्धि भइरहेको छ । यसरी तथ्यांक हेर्दा नेपालमासन् २०१९ को अन्तिमतिर शुरू भएको कोरोना महामारी यताकै सबैभन्दा धेरै संख्यामा विदेशी पर्यटकले नेपाल भ्रमण गरिरहेका छन् । त्यसैले अब हामीले ठोकेरै भन्न सक्छौं सन् २०२० र सन् २०२१ मा भन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने पक्का भएको छ ।

सन् २०२२ को अर्धवार्षिक (६ महीनाको) विदेशी पर्यटक आगमनको तथ्यांकअनसार २ लाख ३७ हजार ६९६ जनाले नेपाल भ्रमण गरिसकेका छन् । सन् २०२१ मा १ लाख ५० हजार ९६२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

अभियान दैनिकले गत असार १८ गते प्रकाशित गरेको समाचारअनुसार सन् २०२२ को ६ महीना (जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे र जुन) मध्ये जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ५८ हजार ३४८, मेमा ५३ हजार ६०८ र जुनमा ४६ हजार ९५७ जना विदेशी पर्यटक नेपाल आइसकेका छन् ।

सन् २०२१ मा विश्व पर्यटनमा ४ दशमलव शून्य १ प्रतिशतले वृद्धि भएको थियो भनी माथि नै उल्लेख गरी सकिएको छ । खासमा यो वर्षको ६ महीनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यालाई आधार मानेर हेर्दा सन् २०२२ को शुरूदेखि नै गतवर्षको भन्दा ३० देखि ६७ प्रतिसतसम्म बढी संख्यामा विदेशी पर्यटकको नेपाल आगमन भइरहेको देखिन्छ । यो वर्षको जनवरी महीनामा १६ हजार ९७५ जना विदेशी पर्यटक आएका छन् भने गतवर्षको जनवरीमा ८ हजार ८७४, फेब्रुअरीमा ९ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा १ हजार ४६८ र जुनमा १ हजार १४३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । निश्चय नै यो तथ्यांकले अब नेपाली पर्यटनले लय समातेको भन्ने आशा र संकेत देखाएको छ ।

यही गतिमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या बढ्दै गएमा सन् २०२२ मा कम्तीमा ४ लाख ८०/८५ हजारदेखि ५ लाख २०/२५ हजारसम्म पुग्न सक्ने देखिन्छ । तर, हाल के गरौं, कसो गरौंको अवस्था रहेको छ । अब कोरोना फैलिएमा कस्तो रूपमा फैलने हो ? कसैलाई थाहा छैन । छिमेकी देश भारतमा कोरोना फैलँदो क्रममा रहेको देखिन्छ । त्यस्तै हाम्रो देश नेपाल पनि गत १०/१२ दिनदेखि थोरै संख्यामा भए पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको देखिन्छ । उता अब कोरोना महामारी रोकिन्छ, फैलन छोड्छ भनेर संयुक्त राज्य अमेरिका (युनाइटेड स्टेट अफ अमेरिका) ले कोरोना मुक्त भनी आफ्नो देशलाई घोषणा गरिसकेको छ । त्यस्तै नेपालमा पनि कोरोना भाइरस म्युटेड भइसकेको भन्ने विज्ञहरूको भनाइ छ ।

यसरी हेर्दा लगभग २ वर्षपछि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या मात्रै बढेको नभएर विश्वभरि नै पर्यटकको संख्या बढी रहेको बेला फेरि के हो, के हो ? को स्थिति निर्माण हुँदै छ । रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण विश्व महँगीको मारमा परेको छ । यसले गर्दा मानिसको बचत पनि घटेको छ । त्यसैले विश्व पर्यटन बजारले आशा गरेजति तीव्रता लिने सम्भावनामा आशंका नै छ । अझ विश्वभरि नै आर्थिक विकास संकुचनमा जान लागेको छ । यस्तो अनिश्चयले गर्दा पर्यटनमा जाने मानिसको संख्या घट्ने निश्चितजस्तै छ ।

तर, आशा गरौं, अब कोरोना महामारी सानो ठूलो परिमाणमा बढे तापनि पहिलेको जस्तो व्यापक रूप लिएर फैलने छैन । तर, रूस र युक्रेन युद्धका कारण सृजित आर्थित सुस्ती भने पर्यटनका लागि सुखद संकेत देखिएको छैन । निश्चय नै विश्व पर्यटन बढ्नेछ र विश्व पर्यटनले लय समातेरै छाड्ने छ भनी आशा गरौं । लेखक पर्यटनकर्मी हुन् ।

  • २८ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech