बाँके\ सरकारले ८४ करोड रुपैयाँको हतियार किन्न तीन विदेशी कम्पनीसँग गरेको सम्झौता अहिले रोकिएको छ। सरकारले विदेशी मुद्रा सञ्चितिको कारण देखाएर रोकेको बताए पनि भारतको ‘अब्जेक्सन’ हुन सक्छ भनेर टिप्पणी भइरहेको छ।
सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको बुँदा नम्बर ५ मा ‘नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाका निम्ति चाहिने हातहतियार, कलपुर्जा, गोलीगठ्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अधिकार छ। दुई सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारबाहीको तय गर्नेछन्’ भन्ने उल्लेख छ। तर भारतले लागू गरेको छैन। नेपालको हातहतियार खरखजाना खरिदमा भारतले प्रत्यक्ष चासो राख्दै आएको छ।
अब फर्किऔं २०४५ तिर। तत्कालीन राजा वीरेन्द्रले चीनबाट ‘एन्टी एयरक्राफ्ट गन’ खरिद गर्न चाहेका थिए। सन् १९८८ जुलाई अर्थात् २०४५ साउन, भदौतिर नेपालले चीनबाट चाइनिज एयर डिफेन्स आर्टिलरी ल्याउन चाहेको थियो। आकाशबाट युद्ध विमान खसाउने हतियारे ‘एन्टी एयरक्राफ्ट गन’ चीनबाट ल्याउने कुरा भारतलाई मन पर्ने कुरै भएन। त्यसपछि भारतले नेपालमाथि नाकाबन्दी लगायो। भारतले लगाएको त्यो तेस्रो नाका बन्दी थियो। राजीव गान्धीले लगाएको त्यो १५ महिने नाकाबन्दी १० चैत २०४५ बाट सुरु १७ असार २०४७ सम्म चलेको थियो।
त्यो समय नेपालका प्रधानमन्त्री थिए, मरीचमान सिंह श्रेष्ठ। कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतसँगका यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।
नाकाबन्दी गर्नुका अन्य कारण पनि छन् भन्छन्, राजनीतिक विश्लेषक नरेन्द्रजँग पिटर। राजीव गान्धी पत्नी सोनिया गान्धीलाई नेपाल भ्रमणको समय गैरहिन्दुलाई पशुपतिमा पस्न नदिइएको कारणबारे चर्चा भएको थियो। इटालीयन मूलकी श्रीमती सोनिया गान्धी र तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी सन् १९८८ मा नेपाल आएको समय सोनियालाई पशुपतिमा प्रवेश गर्न नदिइएको विभिन्न जानकारले लेखेका छन्।
२०४५ को भूकम्पले थलिएका बेला भारतले लगाएको नाकाबन्दीको नेपालका प्रधानमन्त्री मरीचमानले डटेर सामना गरेको विश्लेषक पिटर सम्झन्छन्। त्यो अवस्थामा मरीचमानले नाकाबन्दी सामना गर्न चीनबाट नुन आयात गरेका थिए। राजा वीरेन्द्र र भारतीय प्रधानमन्त्री राजीव गान्धीबीचको टकरावको चपेटामा मरीचमान परेका थिए। मरीचमानको छोटो कार्यकालमै नेपाली राजनीतिमा परिवर्तन भयो। बहुदल आयो। त्यसको खलनायकको रूपमा कतिपयले व्याख्या गर्छन्, उनी मरीचमानलाई।
३१ जेठ २०४३ मा राष्ट्रिय पञ्चायतबाट प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित भएका मरीचमानले जनआन्दोलन उत्कर्षमा पुगेपछि २३ चैत २०४६ मा प्रधानमन्त्री पद गुमाउनुपर्यो। त्यो आन्दोलनले मरीचमानलाई भारतसँग सम्बन्ध बिगारेको आरोप मात्र लगाएन, प्रजातन्त्र सिध्याउन खोजेको, जनताका अधिकार कुठाराघात गरेकोसमेत भनियो। हुलदंगा गर्ने, आगजनी गर्ने र ढुंगामुढा गर्नेहरूका क्रियाकलापलाई जनआन्दोलन भन्न नसकिने उनको अडान थियो। आन्दोलनलाई नियन्त्रण गर्न नसकेको भन्दै राजा वीरेन्द्रले उनलाई बर्खास्त गरेका थिए।
राजा वीरेन्द्रले मरीचमान हटाएर तत्कालै लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए। जनआन्दोलनको उभारका कारण अन्ततः तीन दशक चलेको पञ्चायत २६ चैत २०४६ मा ढलेपछि वीरेन्द्र बहुदल मान्न तयार भए। भागमा आएको प्रधानमन्त्रीको पद गणेशमान सिंहले कृष्णप्रसाद भट्टराईलाई दिएका थिए। बहुदल आएको झन्डै तीन महिनापछि मात्रै भारतले नाकाबन्दी खुलाएको थियो।
नेपाली राजनीतिक वृत्तमा मरीचमानको नाम सधैं स्मरण गरिन्छ। मरीचमान पञ्चायती व्यवस्थामा प्रभावशाली व्यक्ति थिए। पञ्चायतका हार्ड लाइनरको रूपमा परिचित मरीचमान पञ्चायती व्यवस्थाको अन्त्यतिर नेपालको प्रधानमन्त्री बने पनि उनकै पालामा पञ्चायत सकियो। सोही कारण उनी पञ्च र राजाबाटै तिरस्कारमा परे। ‘उनी पञ्चायतका पक्षपोषक हुन् भन्ने कुरा देशको मामिला हो तर अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई स्वाभिमान छ भन्ने देखाउने एक नायक हुन्। मरीचमानको योगदानबारे कुनै दिन इतिहासले मूल्यांकन गर्नेछ,’ विश्लेषक पिटर भन्छन्, ‘बहुदलपछि उनको राजनीतिक जीवन कमजोर बन्यो तर भारतले लगाएको नाकाबन्दी जुन प्रकारले सामना गरे, त्यो स्मरणीय छ।’ जनआन्दोलन दबाउन मरीचमानको भूमिका थियो भन्ने कुरामा पिटर त्यति सन्तुष्ट छैनन्।
‘मरीचमान एक पात्र मात्र हुन्, त्यसपछाडि सिंगो दरबार छ। सबै भूमिका त्यसको हो। प्रधानमन्त्री त कठपुतलीजस्तो थियो नि त्यो बेला,’ उनले भने।
सल्यानको खलंगा बजारमा १७ कात्तिक १९९७ मा जन्मिएका मरीचमान देशका प्रधानमन्त्री भए। २०१७ देखि राजनीतिमा सक्रिय उनी २०३० मा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए भने पञ्चायतभित्रको अनुदारवादी खेमामा बसेर काम गरेका थिए। त्यसका कारण पनि दरबार र पछि राजा वीरेन्द्रको विश्वास पात्र बनेका मरीचमान पञ्चायती व्यवस्थाको सुदृढीकरणमा योगदान दिने मुख्य पात्र हुन्।
पञ्चायतको संगठन हेर्ने नीति तथा जाँचबुझ समिति बनाइएको थियो। त्यसको उनी अध्यक्ष मात्र भएनन्, राष्ट्रिय पञ्चायतकै अध्यक्षसमेत बनेका थिए।
मरीचमानको ३० साउन २०७० अर्थात् आजकै दिन काठमाडौंमा भएको थियो। क्यान्सरबाट ग्रसित श्रेष्ठको ७१ वर्षको उमेरमा निधन भएपछि उनको भूमिकाबारे मानिसले खुलेरै टिप्पणी गरेका थिए। भारतसँग नझुकेका मरीचमानलाई क्यान्सरले छोएपछि उपचारका लागि नयाँदिल्लीस्थित मेदान्त अस्पताल पुर्याइएको थियो। तर उनले आफ्नै देशमा प्राण त्याग्ने इच्छा जताएपछि भारतबाट एयर एम्बुलेन्समा २९ साउनमा नेपाल ल्याइएको थियो। ३० साउनमा उनले प्राण त्यागेका थिए। साभार