बाँके\ यसवर्ष समयमा पानी परेकाले वर्षे धान रोपाइँ उत्साहजनक रूपमा सकिएको छ। नेपालमा हिमालपारिका दुईजिल्ला मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा रोपाइँ सकिएको छ। चौबिस जिल्लामा सतप्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ। नेपालमा वर्षे धान साउन महिनाभर रोपिन्छ। यसवर्ष कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको छ।
गत वर्ष त्यहाँ ९८ प्रतिशत रोपाइँ भएको थियो। कर्णाली प्रदेशमा १० जिल्ला छन्। उक्त प्रदेशका जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, रुकुम पश्चिम र जाजरकोटमा सत्प्रतिशत रोपाइँ भएको छ। नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो। त्यहाँ यस वर्ष ८४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भए पनि ८७ हजार ५०० हेक्टर जमिनमा धान खेती गर्न सकिन्छ।
संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने जुम्ला जिल्लाको छुमचौर हो। सबैभन्दा धेरै धान उत्पादन हुने झापा जिल्लालाई सरकारले धान उत्पादनको सुपार जोन घोषणा गरेको छ।
कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाइँ हुँदा ३८ हजार तीनसय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। कूल ३८ हजार ८८६ हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिने कर्णालीलाई सुख्खा प्रदेश भनिन्छ तर यसवर्ष समयमा वर्षा भएकाले कर्णाली भोकमरीको चपेटामा नपर्ने संकेतदेखिन्छ।
नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्त्व छ। धानको उत्पादन वृद्धि हुँदा अर्थतन्त्र बलियो हुन्छ भने उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा असर पर्छ। उत्पादन बढ्दा जीडीपी माथि उक्लन्छ। कृषि क्षेत्रको उत्पादनमा धानको योगदान १२ प्रतिशत छ।
यसवर्ष प्रदेश १ को सोलुखुम्बु, ओखलढुंगा, बागमती प्रदेशको धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, र चितवन, गण्डकी प्रदेशको म्याग्दी, स्यांजा, वाग्लुङ, नवलपुर, लुम्बिनी प्रदेशको बर्दिया, र सुदूरपश्चिम क्षेत्रको दार्चुला, बझाङ, बाजुरा र कञ्चनपुरमा सतप्रतिशत रोपाइँ भएको छ।
‘यसवर्ष हामी खुसी छौँ,’ भक्तपुरका अगुवा किसान रामकृष्ण ढकालले भने। जेठ १५देखि नै मनसुन सक्रिय भई समयमा रोपाइँ भएकाले यसवर्ष धेरै किसान खुसीदेखिएका छन्। मौसमले साथ दिए पनि अझैसम्म केही किसानले रासायनिक मल भने पाउन सकेका छैनन्।
गतवर्षको यसै अवधिमा ९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो। गत वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर जमिनमा धान रोपाई भएको थियो तर यसवर्ष सोही अवधिमा १४ लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। गत वर्षभन्दा यसवर्ष ७४ हजार ३१२ हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ।
नेपालमा झन्डै १६ लाख हेक्टर जमिनमा धान खेती गरिन्छ। यसवर्ष कर्णाली प्रदेश र सुदूर पश्चिममा ९९ प्रतिशत, लुम्बिनीमा ९०, बागमतीमा ९७, मधेश प्रदेशमा ९३ र प्रदेश १ मा पनि ९३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। नेपालको प्रमुख खाद्यन्न बाली धान हो। नेपालमा चैते धान, वर्षे धान र घैया धानको रोपाइँ हुँदै आएको छ।
आर्थिक वर्ष ०६०/६१देखि ०७८/७९ सम्म को तथ्यांकलाई केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मुख्य मौसममा निर्भरदेखिन्छ। जुन वर्ष मौसमअनुकूल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेकोदेखिन्छ भने मौसमअनुकूल नभएका बखत धानको उत्पादन घटेको पाइन्छ।
संसारका आधा जनसंख्याको मुख्य खाना चामल हो। एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत हुन्छ। संसारमा सबैभन्दा धेरै धान फल्ने देश चीन हो। विश्वका ७८ भन्दा बढी देशमा आठ सय ६४ थरीका धानका बीउ सिफारिस भएका छन्। नेपालमा ८६ उन्नत र सात रैथाने जातको बीउबाट उत्पादन गरिदै आएको छ।