कोहलपुर\बाँकेका कोहलपुर नगरपालिकामा नापी तथा मालपोत कार्यालय उद्घाटन गरिएको छ । जिल्लाका तीन स्थानीय तहलाई लक्षित गरी कोहलपुर नगरपालिकामा नापी र मालपोत कार्यालयको शाखा कार्यालय उद्घाटन गरिएको हो ।
शाखाको मुख्य केन्द्र कोहलपुर नगरपालिकामा हुनेछ । बैजनाथ र राप्तीसोनारी गाउँपालिका कार्यक्षेत्र रहनेगरी दुई वटा कार्यालयको संयुक्त उद्घाटन गरिएको हो । आइतबार एक कार्यक्रमका बीच नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कार्यालय उद्घाटन गरिन् । यो सँगै लामो समयदेखि कोहलपुरमा नापी र मालपोत कार्यालयको शाखा स्थापना गर्ने यहाँका सरोकारवालाहरुको प्रयास सफल भएको छ । नापी र मालपोत जस्ता महत्वपूण सेवा लिन नेपालगन्ज जाने बाध्यता हट्ने भएको छ ।
कोहलपुरमा कार्यालय उद्घाटन भएसँगै बाँके जिल्लाका करिब साढे २ लाख बढी जनता लाभान्वित हुने भएका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शशी श्रेष्ठले बाँकेका तीन वटा स्थानीय तहका नागरिकलाई सहज र सरल सेवा प्रवाहका लागि स्थापना गरिएको बताए । उनका अनुसार कार्यालय बोर्ड झुण्ड्याउन र सस्तो लोकप्रियताको लागि मात्रै उद्घाटन गरिएको होइन । ‘लामो समय भूमिसँग जोडेर राजनीति भयो । हामी त्यसो गर्दैनौ । हामीले पक्का लालपूर्जा दिएका छौँ । शुसासन कायम गर्ने हाम्रो लक्ष्य हो ।’ मन्त्री श्रेष्ठले भनिन् । आफू बादी, कमलरी तथा भूमिहीनहरुको खुसी लागि तत्पर रहेको बताइन् । सम्पतिमा महिलालाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
उक्त अवसरमा बोल्दै नेपाल सरकार युवा तथा खेलकूदमन्त्री महेश्वर गहतराज अथकले कोहलपुरमा मालपोत र नापी कार्यालय उद्घाटन हुनु खुसीको क्षण भएको बताए । उनका अनुसार अब तीन पालिकाका नागरिक सेवाका लागि नेपालगन्ज जानु पर्ने दिनको अन्त्य हुने भएको छ ।‘ सेवाको लागि दुरी घटेको छ । समय बच्ने भएको छ । भाडा बच्ने भएको छ ,’ मन्त्री अथकले भने, ‘यो कार्यालय तत्काल सञ्चालन हुन्छ ।
ढिलासुस्ती हुँदैन । यो सबैको प्रतिफल हो । महत्त्वपूर्ण उपलब्धि हो ।’ नेपाल सरकार कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पुर्णा कुमारी सुवेदी कार्यालय उद्घाटन हुँदा गाउँ गाउँमा सिंहदरबार आएको अनुभूति भएको बताइन् ।
कार्यालय उद्घाटन हुनु सबै संयुक्त प्रयासको प्रतिफल भएको उनले बताइन् । उक्त कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कार्यालय स्थापनाका लागि भूमिका खेल्ने सम्पूर्ण राजनीतिक दललाई धन्यवाद व्यक्त गरे । तत्काल पुरानो संरचनामा सेवा प्रवाह हुने र छिटो भन्दा छिटो सेवा प्रवाह हुने उनले बताएका थिए ।
उक्त समारोहमा नापी विभाग महा निर्देशक प्रकाश जोशी , भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्वर घिमिरे र बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मालपोत कार्यालय बाँकेका प्रमुख छविलाल नेपालीले स्वागत मन्तव्य राखेको कार्यालय उद्घाटन सत्रमा कोहलपुर, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिध तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।