७ पुष २०८१, आईतवार

६ वस्तुमा आयात प्रतिबन्ध हट्यो
  • न्युज मानसराेवर

काठमाडौँ\सरकारले गत वैशाख १३ देखि आयातमा प्रतिबन्ध लगाउँदै आएको १० वस्तुमध्ये ६ ओटाको आयात खोलेको छ । बाँकी चार वस्तुमाथिको आयात प्रतिबन्ध भने असोज २८ गतेसम्म थप गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १३ को राजपत्रमा सूचना प्रकाशित गरी एम्बुलेन्स र शववाहनबाहेकका कार, जीप भ्यान, औद्योगिक कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल र ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोनको आयातमा लागेको प्रतिबन्ध आगामी असोज २८ गतेसम्म थप गरेको हो ।

कुरकुरे लेजजस्ता खानेकुरा, ३२ इन्चभन्दा ठूलो आकारका रंगीन टेलिभिजन, खेल्ने तास, कच्चा पदार्थबाहेकको हीरा, कच्चा पदार्थबाहेकको चुरोट तथा सुर्तीजन्य वस्तु र सबै प्रकारका खेलौना भने आयात प्रतिबन्धको सूचीबाट हटेका छन् । विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती वस्तु आयातमा वैशाख १३ देखि प्रतिबन्ध लगाउँदै आएको छ ।

मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी १० वस्तु आयातमा बन्देज लगाएको थियो । प्रतिबन्ध लगाउनुको उद्देश्य विदेशी मुद्राको मौज्दातमा हुन सक्ने गम्भीर ह्रासको अवस्थालाई हटाउने वा रोक्ने वा अत्यन्त न्यून अवस्थामा रहेको विदेशी मुद्राको सञ्चितिमा वृद्धि गर्ने गरी मुलुकको बाह्य वित्तीय स्थिति र भुक्तानी सन्तुलनको सुरक्षा गर्नु रहेको मन्त्रालयको भनाइ छ ।

विदेशी मुद्रा सञ्चितिमा परेको चाप केही कम भएपछि सरकारले आयातमा लगाएको बन्देज खोलेको हो । यस वर्ष साउनमा पोहोर साउनको तुलनामा मुलुकको वैदेशिक व्यापारघाटा पनि १० प्रतिशतले घटेको तथ्यांक भन्सार विभागले गत साता सार्वजनिक गरेको थियो ।

विदेशी मुद्रा सञ्चिति पनि गत चैतको तुलनामा असारमा बढेको छ । गत चैत मसान्तमा नेपालसँग ११६७ अर्ब ९२ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो । यसले ६ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकको भनाइ थियो ।

विदेशी मुद्रा सञ्चिति घटेर उक्त तहमा पुगेपछि नै सरकारले आयातमा प्रतिबन्ध लगाउने निर्णय लिएको हो । आयात निरुत्साहित गर्ने नीति भने सरकारले मंसिरदेखि नै लिएको थियो ।

गत असार मसान्तमा विदेशी मुद्रा सञ्चिति बढेर १२१५ अर्ब ८० करोड रुपैयाँ बराबर पुगेको छ । यसले ६ दशमलव ९ महीनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकको भनाइ छ । कोरोना महामारी पनि मत्थर भएको, विदेशी मुद्रा आर्जन हुने समय पर्यटकीय याम शुरू हुन लागेको र विप्रेषण आप्रवाहमा देखिएको सुधारले सरकारलाई ६ वस्तुको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णयमा पुर्‍याएको देखिन्छ ।

सरकारले गत मङ्सिरदेखि नै आयातमा कडाइ गर्न थालेको हो । शुरूमा सरकारको आर्थिक सल्लाहकार तथा वित्तीय क्षेत्रको नियमनकारी संस्था नेपाल राष्ट्र बैंकले चाँदी आयातमा दिइने विदेशी मुद्रा सटहीमा सीमा तोक्यो । पुसमा विलासी वर्गमा पर्ने वस्तुको आयात एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्‍यो । त्यति गर्दा पनि आयात घट्ने लक्षण नदेखेपछि चैत चौथो साता वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई राष्ट्र बैंकका अधिकारीहरूले निजी प्रयोजनका सवारीसाधन आयातका लागि एलसी नखोल्न मौखिक निर्देशन दिए । त्यसपछि अन्तिम अस्त्रका रूपमा विलासी वर्गमा पर्ने वस्तु आयातमा औपचारिक प्रतिबन्ध लगाइएको थियो ।

आयातकर्ता व्यवसायीले भने सरकारले प्रतिबन्ध लगाए पनि यहाँ ल्याएपछि दर्ता गरेर मात्र चलाउन पाइने चारपांग्रे र दुईपांग्रे सवारीसाधनबाहेक अन्य वस्तुको आयात नरोकिएको दाबी गर्दै आएका छन् । आयातकर्ता व्यापारीहरूको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघका पूर्वमहासचिव मदन मित्तल सवारीसाधन र ठूलाठूला मेशिन औजारबाहेक अन्य वस्तुको आयात प्रतिबन्धले तस्करहरूलाई चलखेल गर्ने मौका दिने बताउँछन् । दक्षिणतर्फको सिमाना खुला रहेकाले तस्करी रोक्न नसकिने उनी बताउँछन् । आयात प्रतिबन्धित वस्तुहरू बजारमा सजिलै भेटिने उनको दाबी छ ।

पूर्वउद्योग उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मोतिलाल दुगडले पनि गत शुक्रवार संघको ४२औं वार्षिक साधारणसभा उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा आयातमा प्रतिबन्ध लगाएका वस्तु निर्बाध आइरहेको भन्दै प्रतिबन्धको औचित्यमा वर्तमान वाणिज्यमन्त्रीकै सामु प्रश्न उठाएका थिए ।

नेपाल मदिरा आयातकर्ता संघले औपचारिक आयातमा प्रतिबन्ध लागेपछि अनधिकृत बाटोबाट चोरीपैठारी बढेको दाबी गर्दै आएको छ । मदिरा आयातकर्ताहरू त प्रतिबन्धपछि चोरीपैठारी गरी विदेशी ब्रान्डका मदिरा भित्र्याउने कारोबारीले झन् धेरै विदेशी मुद्रा पठाइरहेको दाबी गर्छन् । सीधै उत्पादकबाट किन्दा प्रतिलिटर १५ अमेरिकी डलरमा पाइने मदिरा भारतमा किन्दा प्रतिलिटर ४१ डलर तिर्नुपर्ने उनीहरूको भनाइ छ ।

  • १५ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech