बाँके\बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थ व्यवस्थापनका लागि प्रारम्भिक वातावरणीय परीक्षण गरेको छ । गाउँपालिकाभित्र रहेका नदी, खोला, बगर तथा घाटबाट दिगो र वातावरणमैत्री रुपले नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलनका लागि गाउँपालिकाअन्तर्गतका नदी, खोला बगर तथा घाटकोे प्रारम्भिक वातावरणीय परीक्षण गरिएकोे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी गराए ।
गाउँपालिकाको प्रस्तावमा बिएमएस–एडब्लुएएस–आरआइपिपिए कन्सल्टेन्सीले गाउँपालिकाभित्र रहेका मुगुवा खोला, खैरी खोला, टिकुलीपुरघाट, सिधनिया घाट, बग्दैला घाट, अलिनगर घाट, खल्ला टेपरी, जलल घाट र झिझरी खोलाको प्रारम्भिक वातावरणीय परीक्षण गरेको हो ।राप्ती सोनारीमा रहेका नदीजन्य पदार्थ उत्खनन कार्यमा चोरी निकासी बढी हुने गरेकाले यसतर्फ ध्यान दिँदै वातावरण संरक्षणक लागि स्थानीय सरकारले अनुगमन, वृक्षरोपण, जनचेतनामूलक कार्यक्रम गर्न सक्नेगरी वातावरण व्यवस्थापनको योजनासमेत निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिए ।
करिब तीन महिनाको अध्ययनपछि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पारिएकोे वातावरण तथा सामाजिक व्यवस्थापन विज्ञ राजीव खनालले बताउनुभयो । खोला, बगर तथा घाटबाट दिगो र वातावरणमैत्री रुपले ढुङगा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्दा यो अध्ययन जरुरी रहेको बताइएको छ ।गाउँपालिकाभित्र रहेका नौ वटै खोला, बगर, घाटबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खनन गर्न नेपाल सरकारले तोके बमोजिमको मापदण्ड बनाइएको छ । वातावरण संरक्षण ऐन २०७६ तथा नियमावली २०७६ अनुसार कुनै पनि क्षेत्रबाट दैनिक तीन सय घनमिटरसम्म नदीजन्य पदार्थ सङ्कलन गर्नुपूर्व प्रारम्भिक वातावरणीय परीक्षण गनुपर्ने वातावरण तथा सामाजिक व्यवस्थापन विज्ञ खनालले भनेका छन।
ढुङ्गा, गिट्टी लगायतको नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्य गाउँपालिकाको सबैभन्दा ठूलो आयस्रोतका रूपमा रहेको छ । अवैध निकासी तथा चोरीपैठारी बढिरहेको अवस्थामा प्रारम्भिक वातावरणीय परीक्षणको जरुरी देखिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी गराए।
अध्ययन पश्चात गाउँपालिकासँग जोडिएको बाँके राष्ट्रिय निकुन्ज, जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह, जनप्रतिनिधिलगायत सरोकारवाला निकायलाई प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदनवारे जानकारी गराइएको छ ।
गाउँपालिका अध्यक्ष पौडेलले आफू निर्वाचित भए लगत्तै गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्यलाई व्यवस्थित गरिरहेको बताए । वातावरण संरक्षण गर्ने दायित्व पनि स्थानीय सरकारको भएकाले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार समय समयमा अनुगमन गर्दै वातावरण संरक्षण गरिने पौडेले उल्लेख गरेका छन। साभार