१५ पुष २०८१, सोमबार

वीरेन्द्रको अवधारणामा चौहानचौरबाट बनेको वीरेन्द्रनगरको कथा
  • न्युज मानसराेवर

सुर्खेत \पाँच दशकअघिसम्म चौहानचौर/चौगानचौर गाईबस्तु चरनका रूपमा प्रयोग हुन्थ्यो। खरबारी (ढड्डी घारी) र सालघारीको घना जंगल थियो। औलोको डरले मान्छेहरू बसोबास गर्नै चाहँदैनथे। अहिलेको वीरेन्द्रनगर बजार देख्नेका लागि यो एकादेशको कथाजस्तो लाग्न सक्छ।माथिल्लो भेगका मानिस बिहानै गाईबस्तु लिएर जंगल आसपास रहेका खेतको काम गर्न आउँथे र साँझ घरै फर्किने गर्थे।

२०२२ सालतिर वीरेन्द्रनगरमा खरबारी र सालका रूख फँडानी गरेर त्यस ठाउँलाई बसोबासयोग्य बनाइयो। स्थायी रूपमा मानिस बसोबास गर्न थाल्यो। बिस्तारै पूर्वाधारको विकास हुन थाल्यो। थानी, पन्त, भारती, कार्की, खत्री यहाँका सुरुका बस्ती हुन्। उतिखेरको चौहानचौर वीरेन्द्रनगर उपत्यका हो। ८४ वर्षीया रत्नागिरी वीरेन्द्रनगरवासी हुन्। चौहानचौरलाई वीरेन्द्रनगर बनाउन निकै दुःख गरेको उनी सुनाउँछिन्। ‘त्यस्तो घना जंगललाई बस्न लायक बनाउन कम्ती कष्ट गरिएन,’ उनी सम्झन्छिन्, ‘बाँच्न र बचाउन साह्रै दुःख सह्यौँ। धेरैथोक गुमायौँ।’

८१ वर्षीय जितबहादुर खत्री पनि वीरेन्द्रनगरमै बस्छन्। आफू बसेको ठाउँलाई पहिलेको तुलनामा स्वर्ग नै ठान्छन् उनी। ‘अहिले त वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएको छ,’ उनले भने, ‘यति भएपछि हाम्रो ठाउँ त स्वर्ग बनेको छ।’ वीरेन्द्रनगरमा सुरुमा थारू र राजी बस्तीमात्र भएको उनी बताउँछन्। ‘८० वर्षअघि यहाँ थारू र राजीबाहेक कोही बस्दैनथे,’ उनले भने, ‘औलोका कारण पहाडका मानिस यहाँ बस्न रुचाउँदैनथे।’  सुर्खेतमा गोठमात्र राख्थे। ‘बिहान काम गरी साँझ घर फर्किने गर्थे,’ खत्रीले भने, ‘मंसिर १५ मात्र यहाँ आउने गर्थे।’ त्यतिखेर औलोका कारण धेरै मान्छेले ज्यान गुमाएको उनले सम्झिए। ‘हामी त यता आयौँ भने पनि कोठाबाट बाहिर निस्किँदैनथ्यो,’ उनले भने, ‘औलोका कारण धेरै मर्थे।’

२०२३ सालयता वीरेन्द्रनगर नगरपालिकमा बसोबास सुरु भएको खत्री बताउँछन्। ‘औलो उन्मूलन भएपछि उपत्यकामा बसोबास गर्न थालियो। बिस्तारै बस्ती विकास हुँदै गयो।’ सुरुमा बस्ती विस्तार गर्दा घडेरीको मूल्य तीन सय रुपैयाँ राखिएको थियो। तत्कालीन अञ्चलाधीश दानबहादुर शाक्यले एक वर्षभित्र घर बनाइसक्न निर्देशन दिए। कसैले खर र कसैले ढुंगाको छाना लगाएर घर बनाए। हाल कर्णाली मल भएको घरबाट इँट्टाको घर बनाउन सुरु गरिएको स्थानीय मुकुन्दश्याम गिरी बताउँछन्।

राणाकालमा दाङबाट पुगेका थिए थारू

राणाकालमा विभिन्न गौँडा (प्रशासक बस्ने ठाउँ) थिए। गिरीका अनुसार त्यतिबेला सुर्खेत दैलेख गौँडाअन्तर्गत पर्थ्यो। ‘अहिले प्रमुख जिल्ला अधिकारीले गर्ने काम त्यतिबेला गौँडाबाट हुन्थ्यो,’ उनी भन्छन्, ‘गौँडाका बडाहाकिम मातहतमा खरिदारलगायत हुन्थे। दैलेखका बडाहाकिमले एक जना खरिदार र जिम्मवाल खटाएका थिए।’

खरिदार जयनारायण गिरीलाई बर्दिया र जिम्मवाल भक्तवीर श्रेष्ठलाई सुर्खेतमा गुल्जार गर्नका लागि पठाइएको बूढापाका बताउँछन्। हाल राप्रपाका नेतासमेत रहेका गिरीका अनुसार मलवार (राजापुर टप्पु) तीन महिनामा गुल्जार गरेर फर्किँदा जिम्माल श्रेष्ठ बस्ती बस्ने कोही नभएको भन्दै गोठीकाँडामा गएर बसेका थिए।

खरिदार गिरी सुर्खेत फर्किएर कोही नबस्ने भए दाङका थारूहरूले औलो सहेर पनि बाँच्न सक्छन् भनी ल्याइएको थियो। ‘११ दिन लगाएर फकाउनुभएको थियो रे उहाँले,’ गिरी भन्छन्, ‘१४ घर थारु परिवारलाई सुर्खेतको पातालगंगामा ल्याएर पहिलोपटक बस्ती बसालिएको थियो।’वीरेन्द्रनगर बजारको अवधारणा ०२३ सालमा अघि सारिएको थियो। हालको वीरेन्द्रचोकबाट हेर्दा देखिने अंग्रेजी अक्षर ‘वाई’ आकारको बजार निर्माण गरिएको राप्रपाका नेता गिरीको भनाइ छ। तत्कालीन अञ्चलाधीश शाक्यले बजारको अवधारणालाई अन्तिम रूप दिएका थिए।

थारूहरूले बिस्तारै जंगल फँडानी गरेपछि बस्ती विस्तार हुँदै गयो। २०२२ सालमा औलो उन्मूलन भएपछि बस्ती बस्न सुरु भएको स्थानीय अगुवा बताउँछन्।  ०२९ साल मंसिरमा राजा वीरेन्द्र चौहानचौर आएका बेला माथेमा प्लानिङअन्तर्गत बजारको गुरुयोजना, नक्सालगायत बनाउने काम सुरु भयो।

‘बुलबुलेमा बसेर राजा वीरेन्द्रले नै वीरेन्द्रनगर नगर विकास समितिको अवधारणा अगाडि सार्नुभयो,’ गिरी सम्झन्छन्, ‘त्यसपछि चौहानचौर वीरेन्द्रनगर नगर विकास समितिका रूपमा विकास भयो।’  राजा वीरेन्द्रले वीरेन्द्रनगरको विकास योजना अगाडि सारेका कारण चौहानचौरलाई वीरेन्द्रनगर नाममा परिणत गरिएको हो।

फ्रान्सको पेरिसजस्तै सुन्दर बनाउन राज वीरेन्द्रले निर्देशन दिएका थिए। त्यसका लागि योजनाविद् माधवभक्त माथेमा नेतृत्वको टोली पनि तयार भयो। तर वीरेन्द्रनगरलाई ‘पेरिस’ बनाउने गुरुयोजना कागजमै सीमित हुन पुग्यो।

वीरेन्द्रनगरको पहिलो प्रधानपञ्च (कटकुवा पञ्चायत, २०२८) रामबहादुर मल्ल हुन्। सुर्खेत उपत्यकाभित्रका कटकुवा, गोठीकाँडा र जर्बुटा गाउँ पञ्चायतभित्र पर्ने केही भाग मिलाएर वीरेन्द्रनगर नगरपञ्चायत बनाइएको हो।

अहिले नगरपालिका १६ वडामा विभाजन गरिएको छ। उत्तरमा महाभारत पर्वतको रानीमत्ता, रातानाला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका मनोरम पहाडले घेरिएको कचौरा आकारका सुन्दर उपत्यका हो वीरेन्द्रनगर। जहाँ न धेरै जाडो हुन्छ, न धेरै गर्मी।

नगरपालिकाको विस्तारअघि ३६ वर्ग किमि क्षेत्रफल ओगटेकोमा हाल यसको कुल क्षेत्रफल २४५.८५ वर्ग किमि छ। नगरपालिकाको पूर्वमा लेकबेसी नगरपालिका, पश्चिममा बराहताल गाउँपालिका, उत्तरमा चिंगाड गाउँपालिका र भेरी नदी छन्।

नगरपालिकामा ०२२ मा विमानस्थल स्थापना भई नियमित उडान सुरु भयो। ०३८ सालमा रत्नराजमार्ग सडक निर्माण कार्य सम्पन्न भएपछि नियमित रूपमा सडक यातायात सञ्चालनमा छ।

वीरेन्द्रनगरमा पब्लिक हाईस्कुलका नाममा हालको जन नमुना माध्यमिक विद्यालय थियो। २०२५ सालमा गंगामाला प्राथमिक विद्यालय स्थापना भएको थियो। स्थानीय अगुवाका अनुसार स्वास्थ्य संस्था पनि एकमात्र कटकुवा स्वास्थ्य चौकी थियो।

विक्रम संवत् २०२५ सालमा वीरेन्द्रनगरको मुख्य बजारबाट देखिएको पहाड। तस्बिर साभार : पिसकोर

कर्णालीमा उपभोग हुने सम्पूर्ण सामग्री वीरेन्द्रनगरबाट जाने हुँदा यो पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र हो। पूर्वबाट भेरी नदी र पश्चिमबाट कर्णाली नदी बगेकाले र्‍याप्टिङ गरी आनन्द लिन आउने पर्यटकका लागि यो आकर्षक गन्तव्य बनेको छ।

२०३७ सालतिर राजा वीरेन्द्रले सुदूरपश्चिम र मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई एउटैमा गाभेर विकास क्षेत्र बनाउँदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर थियो।  २०४० सालतिर सुदूरपश्चिमको सदरमुकाम दिपायल भएपछि वीरेन्द्रनगर मध्यपश्चिमको सदरमुकाम बनेको हो। देश संघीय संरचनामा प्रवेश गरेसँगै सात प्रदेश बनेपछि वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको छ। वीरेन्द्रनगरका मुख्य सडक मात्र होइन भित्री सडक पनि विस्तार भइरहेका छन्। १६ वटै वडामा वडा काम भइरहेको छ।

वीरेन्द्रनगर नगरपालिकामा रहेको तत्कालीन क्षेत्रीय अस्पताल प्रादेशिक रुपमा परिणत भई सेवा विस्तार गरिरहेको छ। कर्णालीका नागरिकलाई स्वास्थ्य सेवाका लागि प्रदेशबाहिर जानुपर्ने बाध्यता पनि टर्दै गएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्मर खड्काका अनुसार केही दिनभित्रै मिर्गाैला प्रत्यारोपणको सेवा पनि सुरु हुँदैछ।

वीरेन्द्रनगर अहिले शैक्षिक गन्तव्यको केन्द्रसमेत बनेको छ। प्राविधिक शिक्षाका लागि पनि वीरेन्द्रनगरमा युवाहरू आउने गरेका छन्। वीरेन्द्रनगरमै रहेको मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयसँग सम्झौता गरी कर्णालीलाई विश्वसँग जोड्ने काम गरिरहेको छ।  वीरेन्द्रनगरमै सुर्खेत मेडिकल कलेज खोल्न सरकारले प्रक्रियासमेत अगाडि बढाएको छ।

  • १५ आश्विन २०७९, शनिबार प्रकाशित

  • Nabintech