काठमाडौँ\नेपाली कांग्रेसले समानुपातिक सूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको छ। पार्टीभित्र समानुपातिक सूचीमा व्यापक असन्तुष्टि बढेपछि कांग्रेसले निकै हेरफेर गरेर अन्तिम नामावली बुझाएको एक नेताले बताए।
कांग्रेस नेताहरू शनिबार दिउँसोदेखि बालुवाटारमा छलफलमा बसेका थिए। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार नै आयोगमा अन्तिम सूची बुझाइएको हो।
समानुपातिकको बन्दसूचीमा असन्तुष्टि जनाएको डा. शेखर कोइराला पक्षले पार्टीभित्र विद्रोहको चेतावनी समेत दिएको थियो।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधि आज सकिँदैछ। बन्दसूचीमा भएकालाई नाम फिर्ता लिन सोमबारका लागि समय तोकिएको छ।