१२ मंसिर २०८१, बुधबार

रामलीला महोत्सवले बढाएको दसैँको रौनक
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्जमा आयोजना गरिएको रामलीला महोत्सवले दसैँ पर्वमा रौनक छाएको छ। सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा मञ्चन हुँदै आएको छ।  यो वर्ष रामलीलाको एक सय ५५ औैं संस्करण असोज १० गते घटस्थापनादेखि प्रारम्भ भएकोे छ।

रामलीला महोत्सव यो वर्ष भव्यताका साथ सुरु भएकोे सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए। उनका अनुसार एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४ औं वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो।

दुई वर्ष देखि रोकिएको रामलीला हेर्न यस वर्ष भक्तजनको भिड लागेको छ। सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन हुँदै आएको छ। रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रासलीला एवं रामलीला मण्डल नेपालगञ्ज आएको छ।

मण्डल सञ्चालक राधारमण शर्मा नेतृत्वको कलाकार टोलीले भगवान राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गरिरहेका छन्।  रामलीलाको मञ्चन राज्याभिषेक अर्थात विजयादशमीको रातिसम्म चल्ने रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले जानकारी दिए। यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको उनको भनाइ छ।

रामलीला मञ्चनका लागि नेपालगञ्जको रामलीला मैदानको मञ्च दुलहीझैं सिंगारिएको छ। रामलीलालाई भव्य, सभ्य र सफल बनाउन विभिन्न उपसमितिमा जिम्मेवारी बाँडफाँट गरिएको छ। सञ्चालक समितिका अध्यक्ष कनोडियाका अनुसार रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको शुरुआत गरेका थिए। भारतको बृन्दावनबाट ल्याइएका कलाकारहरूले रामलीला मञ्चन गर्छन्।

नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौंको संख्यामा मध्यरातसम्म सहभागी हुने गरेका छन्। धनुषा यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ। नेपालगञ्जको परम्परालाई जोगाई राख्नका लागि सहयोग संकलन गरेर रामलीला महोत्सव गर्दै आएको रामलीला सञ्चालक समितिका प्रचारमन्त्री विष्णुलाल प्रजापतिले बताए। उनका अनुसार रामलीला महोत्सव सञ्चालन गर्न करिव १५ लाख रुपैयाँ खर्च हुन्छ।

सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयमाझ लोकप्रिय छ। भारतको उत्तरप्रदेशबाट समेत हजारौं श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेका छन्।

यो वर्ष भारतको वृन्दावनबाट आएका कलाकारले नाटक मञ्चन गरिरहेका छन्। यसअघि पनि भारतका विभिन्न स्थानका कलाकारहरू आउने गरेका थिए। नेपालको जनकपुरबाट पनि केही वर्षअघि कलाकार ल्याएर रामलीला मञ्चन गराइएको प्रचारमन्त्री विष्णु कुम्हालको भनाइ छ।

कुम्हालका अनुसार जंगबहादुर राणाले नेपालगञ्ज शहर बसालेदेखि नै मनोरञ्जनका लागि स्थानीय बासिन्दाको सहयोगमा भगवान श्रीरामको कथामा आधारित नाटक मञ्चन गर्न थालिएको हो। गोस्वामी तुलसी दासले श्रीराम चरित्र मानस अवध भाषामा अनुवाद गरेपछि रामलीला मञ्चन गर्न सहज भएको कुम्हालले बताए। रामलीलामा श्रीरामको जीवन चरित्र देखाइन्छ। दशैँको अवसरमा समुदायमा सकारात्मक सन्देश फैलाउन र रामराज्यको अनुभूति दिलाउन रामलीला महोत्सवलाई निरन्तरता दिईएको आयोजकले जनाएको छ।

घटस्थापनादेखि सुरु हुने रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, वाणासुर, सीता स्वयम्बर, राम वनवास, दशरथ मरण, सीताहरण, लंका दहन, लक्ष्मण शक्ति वाणको लीलालगायत प्रदर्शन हुने गरेको छ ।

विजयादशमीका दिन ४५ देखि ५० फिटको रावणको पुत्ला दहन गरी महोत्सव समापन गरिन्छ।  रासस

  • १७ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech