१४ मंसिर २०८१, शुक्रबार

लुम्बिनी प्रदेशमा एमालेले अघि सारेका नयाँ अनुहार
  • न्युज मानसराेवर

बाँके\सत्ता गठबन्धनका उम्मेदवारसँग कडा प्रतिष्पर्धा हुने ठानिएको यो पटकको निर्वाचनमा एमालेले लुम्बिनी प्रदेशमा नयाँ अनुहारलाई अगाडि सारेको छ । पाल्पा, दाङ, प्यूठान, बाँके, पश्चिम नवलपरासीलगायत जिल्लामा एमालेबाट पहिलोपटक प्रतिनिधि सभातर्फ उम्मेदवार बन्ने उम्मेदवार छन् । पाल्पाका २ वटै निर्वाचन क्षेत्रमा एमालेले युवालाई उम्मेदवार बनाएको हो ।

पाल्पा १ मा निवर्तमान प्रदेश सांसद नारायण आचार्यलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा यस अगाडि प्रभावशाली नेता दलबहादुर रानाले चुनाव जित्दै आएका थिए । पाल्पा २ मा अनेरास्ववियुका पूर्वअध्यक्ष तथा युवा नेता ठाकुर गैरेले अवसर पाएका छन् । यस अगाडि उक्त क्षेत्रबाट सोमप्रसाद पाण्डे उम्मेदवार भएर निरन्तर चुनाव जित्दै आएका थिए ।

पाण्डे एमाले विभाजन भएपछि नेकपा एकीकृत समाजवादीमा लागेपछि गैरेलाई टिकटको बल्ल अवसर जुरेको हो । एमाले पाल्पाका अध्यक्ष घनेन्द्र घिमिरेले प्रतिनिधि सभातर्फ पार्टीका दुवै उम्मेदवार नयाँ रहेको लोकान्तरलाई बताए ।

त्यस्तै पश्चिम नवलपरासी २ मा जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीलाई एमालेले उम्मेदवार बनाएको छ । यहाँ पोलिटब्युरो सदस्य बैजनाथ चौधरी उम्मेदवार बन्न चाहन्थे । तर, चौधरीलाई टिकट नदिएर एमाले निवर्तमान नवलपरासी १ तर्फ प्रदेश सभा सांसद अधिकारी क्षेत्र नम्बर २ मा ल्याएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको एमाले जिल्ला उपसचिव राजनकुमार आचार्यले जानकारी दिए ।

पश्चिम नवलपरासी १ मा एमाले हृदयेश त्रिपाठीसँग चुनावी तालमेल गर्ने गरी यो क्षेत्र खाली राखेको छ । यहाँ एमालेले त्रिपाठीलाई सघाउने पक्काजस्तै छ । प्यूठानबाट एमाले पोलिटव्युरो सदस्य सूर्य थापा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार भएका छन् । विपक्षीप्रति कडा शब्दमा उत्रिनसक्ने थापाका लागि संसदीय प्रतिस्पर्धाको यो पहिलो अनुभव हुनेछ ।

बाँके–१ मा एमालेले युवा नेता सूर्य ढकाललाई उम्मेदवार बनाएको छ । ढकाल युवा संघका पूर्वउपाध्यक्ष पनि हुन् । उनको पनि यो संसदीय प्रतिष्पर्धाको पहिलो निर्वाचन हुनेछ । त्यस्तै क्षेत्र नम्बर ३ मा पनि एमाले नयाँ उम्मेदवार किस्मत कक्षपतिलाई उम्मेदवार बनाएको छ । उनी जिल्ला अध्यक्ष तथा खजुरा गाउँपालिकाको निवर्तमान अध्यक्ष पनि हुन् ।

दाङ–३ मा कोमल वलीलाई एमाले उम्मेदवार बनाएको छ । यो क्षेत्रमा निवर्तमान तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे आकांक्षी थिए । पाण्डेलाई प्रदेश सभामा झरेर एमालेले वलीलाई प्रतिनिधि सभा उम्मेदवार बनाएको हो । वली यस अघि राष्ट्रिय सभा सदस्य थिइन् ।

  • २२ आश्विन २०७९, शनिबार प्रकाशित

  • Nabintech