हरेक वर्षजसो यसपटक पनि नेपाल बाढीपहिरोको प्रकोपबाट सुरक्षित रहन सकेन । बाढीपहिरोमा परी व्यापक जनधनको क्षति भएको छ । देशका मुख्य सडक खण्ड क्षतविक्षत भएका छन् । अत्यधिक वर्षाका कारण यसपटकको दशैंसमेत प्रभावित भयो । पाक्नै लागेको बर्खे बालीमा निरन्तर वर्षाले असर पुर्याउँदा आर्थिक रूपमा पनि ठूलो नोक्सोनी बेहोर्नुपर्यो ।
किसानहरूले यस्तो समस्या यो वर्ष मात्र बेहोरेका भने होइनन् । हरेक वर्ष किसान कहिले अत्यधिक वर्षा त कहिले पानी नपर्दाको मारमा परिरहेका छन् । किसानले भोग्ने यस्ता समस्याबाट बच्न नयाँ उपाय निकाल्नुपर्नेमा व्यापक छलफल पनि हुन्छ । यही बहानामा कैयन्ले राजनीतिक भाषण पनि गर्छन् । राहत र आश्वासन दिनेको लाम लाग्छ । तर, दीर्घकालीन समाधान गर्ने गतिलो प्रयास भने हुन सकेको छैन । त्यसो त दैविक विपत्तिलाई कसैले रोक्न सक्दैन । संसारभरि नै प्राकृतिक विपत्तिका घटना भइरहेका हुन्छन् । तर, सरकार गम्भीर हुने हो भने यस्ता प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्न सकिन्छ ।
उदाहरणका रूपमा जापानलाई लिन सकिन्छ । जापान धेरै भूकम्प गइरहने मुलुकमा पर्छ । तर, जुन हिसाबले त्यहाँ भूकम्प जान्छ, त्यसको तुलनामा हुने जनधनको क्षति निकै न्यून हुने गर्छ । यो सरकारले बनाएको संयन्त्रका कारण सम्भव भएको हो । प्रविधिको प्रयोग र सरकारको अग्रसरताले ठूलाठूला दुर्घटना पनि सामान्य भएका उदाहरण थुप्रै छन् । यता नेपालमा मौसम पूर्वानुमानकै कुरा गर्ने हो भने बल्ल ३ दिनको जानकारी दिने प्रविधिको व्यवस्था मिलाइएको छ । अनुमानकै आधारमा मौसमको जानकारी दिने अवस्था रहेको मुलुकका लागि ३ दिनको मौसम भविष्यवाणी प्रविधिको सहाराले गर्नु ठूलो उपलब्धि हुन सक्ला ।
केही वर्ष अघिसम्म मौसमविद्हरूले परम्परागत प्रविधिमार्फत मौसमको भविष्यवाणी गर्थे । ‘वेदर चार्ट एनालाइसिस’ अर्थात् नक्सामा पहिलेका डाटा तथा उच्च चापीय र न्यून चापीय क्षेत्र हेरेर मौसमको हिसाब गर्नुपर्ने बाध्यता थियो । अहिले मौसमविद्ले आधुनिक प्रविधिको प्रयोग गर्छन् । भूउपग्रहको तस्वीर र वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गर्ने गरिन्छ । यस प्रविधिबाट वायुको बहाव, न्यून चापीय र अधिक चापीय क्षेत्रको अवस्थालगायत विश्लेषण गरी मौसम भविष्यवाणी गरिन्छ । आधुनिक प्रविधिको प्रयोगका कारण हिजोआज मौसमको भविष्यवाणी धेरै मिल्ने गरेको पाइन्छ ।
तर, अहिले जसरी प्राकृतिक विपत्तिका कारण जनधनको क्षति भइरहेको छ, त्यसको तुलनामा उपयोगमा रहेको प्रविधिलाई त्यति धेरै उपलब्धि भने मान्न सकिँदैन । जुनसुकै मुलुकका लागि आफ्ना नागरिकको सुरक्षा पहिलो काम हुन्छ । तर, नेपालले गरिरहेको प्रविधिको प्रयोगलाई नागरिकलाई सुरक्षा प्रदान गर्न प्राथमिकता दिएको भनेर मान्न सकिँदैन । स्रोतलाई सही तरीकाले विनियोजन गर्न सके प्राकृतिक विपत्तिका पूर्वानुमानबारे जानकारी दिने आधुनिक प्रविधि उपयोग गर्न नसकिने भन्ने होइन ।
नेपालमा अझै पनि प्राकृतिक विपत्तिलाई परम्परावादी सोचसँग जोड्ने गरिन्छ । वर्षा हुनु वा नहुनुलाई देवीदेवतासँग जोडिन्छ । जलवायु परिवर्तनका कारण मौसम बदलिँदो छ । त्यसैले पनि आधुनिक प्रविधिको प्रयोगमा जोड दिन झनै आवश्यक देखिएको छ । नेपालको अर्को समस्या प्राकृतिक विपत्तिमा सतर्कताको काम नहुने पनि हो । खोलानालामा पानीको बहाव बढ्दै छ भन्ने जानकारी र जोखिमयुक्त बस्तीबाट सर्वसाधारणलाई समयमै अन्यत्र लैजाने व्यवस्था मिलाउने हो भने अहिले भइरहेको जनधनको क्षतिलाई कम गर्न सकिन्छ ।
त्यस्तै, प्राकृतिक विपत्तिबारे जानकारी दिने सबै प्रविधि प्रयोगमा ल्याउनु अहिलेको अर्को आवश्यकता हो । पहिरो जाँदै छ भने कता जाँदै छ, नदीको बहाव कुन हदसम्म बढ्दै छ भन्ने कुराको अग्रिम जानकारी दिने प्रविधिमा लगानी गर्न लोभ गर्नु हुँदैन । अहिले पानी पर्ने वा नपर्नेबारेको ३ दिनको पूर्वानुमानको जानकारी दिने प्रविधिलाई पनि सुधार गरी त्यो भन्दा बढी अवधिको सूचना दिने खालको बनाउन आवश्यक छ । प्राकृतिक विपत्तिबाट बच्ने भनेकै मानवीय व्यवहारले हो र त्यस्तो मानवीय व्यवहारका लागि पूर्वसूचना प्रणालीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।