१४ मंसिर २०८१, शुक्रबार

प्रतिस्पर्धीको उम्मेदवारी खारेजपछि विष्णु पौडेललाई कति सहज?
  • न्युज मानसराेवर

बुटवल\रुपन्देही-२ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गर्दै निर्वाचन आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ।

सत्तारुढ गठबन्धनको उम्मेदवारी नै खारेज भएपछि रुपन्देही-२ मा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई चुनाव जित्न सहज हुने देखिएको छ। अब यस क्षेत्रमा पौडेलसहित साना दल र स्वतन्त्र गरी १५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

यहाँ राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस (बीपी) की नमादेवी गौतम जैसी, मंगोल नेसनल अर्गनाइजेसनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार छन्।

स्वतन्त्रबाट रुपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक उम्मेदवार रहेको निर्वाचन अधिकृत उद्धवीर नेपालीले जानकारी दिए।

१८ जनाको उम्मेदवारी दर्ता भएकोमा तीन जना उम्मेदवारमाथि परेको उजुरी छानबिन गर्दा सत्ता गठबन्धनका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्याललाई निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार बन्न अयोग्य ठहर गरेको छ।

कमल भुसालको उम्मेदवारीविरुद्ध स्वतन्त्र उम्मेदवारहरू विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दिएका थिए। उजुरीमाथि छानबिन गर्दा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले भुसालको उम्मेदवारी खारेज भएको हो।

यस्तै गुरुङ र बस्यालको उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १६ (ज) अनुसार दुवै जना उम्मेदवार हुन अयोग्य भएकाले उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

गुरुङको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका २ करोड ५० लाख बराबरका चेक बाउन्स भएपछि सिद्धार्थ बैंकले उनलाई कालो सूचीमा राखेको थियो। गुरुङलाई अदालतले बैंकिङ कसूरमा दुई हजार रूपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो।

सत्ता गठबन्धनले भने गुरुङको उम्मेदवारी खारेजीको निर्णय सच्याउन र निर्वाचन अधिकृत उद्धवीर नेपालीलाई हटाउन माग गर्दै बुधबार जिल्ला निर्वाचन आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो।

  • २७ आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech