सुर्खेत\चुनाव मिति नजिकिएसँगै कर्णाली प्रदेशमा भाबी मुख्यमन्त्रीको चर्चा सुरु भएको छ। प्रदेशसभामा एक कार्यकाल बिताइसकेका नेताहरू फेरि प्रदेशसभामै चुनाव लडेका छन् भने केही नयाँ अनुहार पनि मैदानमा छन्। यस्तै केही नेताले पनि प्रतिनिधिसभा छाडेर प्रदेशमा उम्मेदवार बनेका छन्।
१० जिल्ला रहेको कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्रबाट निर्वाचित र १६ जना समानुपातिक सांसद गरेर ४० जना प्रदेशसभा सदस्य रहने प्रावधान छ। सुर्खेत र दैलेखमा चारचार तथा जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा दुईदुई गरी प्रदेशसभामा २४ वटा निर्वाचन क्षेत्र छन्। ०७४ मा वाम गठबन्धन हुँदा माओवादीको साथ पाएको एमालेले प्रदेशसभाअन्तर्गतका २४ क्षेत्रमध्ये १४ वटा सिट जितेको थियो। माओवादीले प्रदेशसभामा ९ सिट प्रत्यक्ष जितेको थियो।
कांग्रेसले भने प्रदेशसभाअन्तर्गत हुम्ला (ख) मा जितेको थियो। हुम्लामा जीवनबहादुर शाही विजयी भएका थिए। उनी अहिले कर्णाली सरकारको मुख्यमन्त्री छन्। यसपटकको निर्वाचनमा एमालेलाई विरासत जोगाउने चिन्ता छ भने कांग्रेस धेरै सिट जित्ने दाउमा छ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि एमालेबाट यामलाल कँडेल, गुलाबजंग शाह, विनोदकुमार शाहले आकांक्षा देखाएका छन्। यस्तै कांग्रेसका जीवनबहादुर शाही, राजीवविक्रम शाही र ललितजंग शाह तथा माओवादीका विन्दमान विष्ट र राजकुमार शर्मा पनि मुख्यमन्त्री बन्ने दौडमा छन्।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) मा उम्मेदवार बनेका यामलाल कँडलले सबैभन्दा बलिया नेताका रूपमा पर्छन्। उनी एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्जसमेत हुन्। संघीय सरकारको पर्यटनमन्त्रीसमेत बनिसकेका कँडेल राष्ट्रिय राजनीतिमा पनि परिचित छन्। २०७४ सालको निर्वाचनमा विजयी कँडेल मुख्यमन्त्रीको लाइनमा रहे पनि अवसरबाट वञ्चित भए। उनलाई त्यति बेला पार्टीकै नेताबाट अन्तर्घात भएको विषय बाहिरिएको थियो।
कँडेलले कांग्रेसका कमलराज रेग्मीलाई पराजित गरेका थिए। कँडेलले २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँदा रेग्मीले १५ हजार ९४७ मत प्राप्त गरेका थिए। यसपटकको चुनावमा कँडेलसँग प्रतिस्पर्धाका लागि वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका पुराना नेता कालीप्रसाद शाक्य मैदानमा छन्।
एमालेबाटै मुख्यमन्त्रीको लाइनमा रहेका अर्का नेता हुन्- एमाले पोलिटब्युरो सदस्य तथा कर्णाली सहइन्चार्ज सल्यानका गुलाबजंग शाह। शाह सल्यान प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धा वाम लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका सुरेश अधिकारीसँग हुनेछ। पार्टीले प्रतिनिधिसभाका लागि एकल सिफारिस भए पनि शाह प्रदेशमै उम्मेदवार बनेका छन्।
२०७४ को निर्वाचनमा उनी सल्यान प्रदेशसभा (क) बाट १९ हजार ६५८ मत ल्याएर निर्वाचित भएका थिए। उनले कांग्रेसका एकराज डाँगीलाई पराजित गरेका थिए। डाँगीले १० हजार ६१२ मत ल्याएका थिए।
एमाले दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका विनोदकुमार शाह पनि कर्णालीको भावी मुख्यमन्त्रीको दाउमा छन्। यसअघि दैलेख-२ बाट प्रतिनिधिसभाका लागि सिफारिसमा परे पनि उनी प्रदेशसभाका लागि उम्मेदवार बनेका छन्।
उक्त क्षेत्रमा एमालेबाट टिकट नपाएपछि माओवादी प्रवेश गरेर टिकट हात पारेका योगेन्द्र शाही र विनोदकुमार शाहको भिडन्त हुँदैन। शाह पाका नेता हुन् भने शाही युवा नेता हुन्।
नेपाली कांग्रेसबाट हाल कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः मुख्यमन्त्री बन्ने दाउमा प्रदेशसभामै उम्मेदवार बनेका छन्। यसअघि कांग्रेस हुम्लाले मुख्यमन्त्री शाहीलाई प्रतिनिधिसभा र प्रदेशसभामा एकल सिफारिस गरेको थियो। हुम्लामा गठबन्धन भएपछि प्रतिनिधिसभाको सिट माओवादी केन्द्रको भागमा परेको छ।
हुम्लामा रहेका प्रदेशसभाका दुई सिटमा एक माओवादी र कांग्रेसको भागमा परेको छ। जीवनबहादुरलाई मुख्यमन्त्री बनाउने तयारीका साथ कांग्रेसले प्रदेशको उम्मेदवार बनाएको कांग्रेस स्रोतको दाबी छ। उक्त निर्वाचन क्षेत्रमा २०७४ को प्रदेशसभा निर्वाचनमा ४ हजार ५१९ मत ल्याएर जीवनबहादुर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका विजय भण्डारीले ३ हजार ९९५ मत ल्याएका थिए।
आगामी निर्वाचनमा यसअघि प्रतिनिधिसभामा स्वतन्त्र विजयी भएका उम्मेदवार छक्कबहादुर लामाले जीवनबहादुरसँग प्रतिस्पर्धा गर्दैछन्। संघबाट प्रदेशमा झेरेर एमालेबाट उम्मेदवार बनेका लामा शाहीका लागि चुनौती बनेका छन्।
जाजरकोट प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य एवम् राजीवविक्रम शाह पनि मुख्यमन्त्रीको लाइनमा छन्। कांग्रेस कर्णाली सभापति रहेका ललितजंग शाह मुख्यमन्त्रीको अर्का दाबेदार हुन्। उनी जुम्लाको प्रदेशसभा ९क० बाट उम्मेदवार बनेका छन्।
माओवादी केन्द्रबाट पनि मुख्यमन्त्री बन्ने लक्ष्यसहित दुई जना नेता प्रदेशसभामा उम्मेदवार बनेका छन्। माओवादीबाट प्रदेशको पूर्वमन्त्री विन्दमान विष्ट र पार्टी केन्द्रीय सदस्य एवम् कर्णालीका पूर्वअध्यक्ष राजकुमार शर्मा मुख्यमन्त्रीका आकांक्षी छन्।
विष्ट सुर्खेत निर्वाचन क्षेत्र नम्बर-२ (ख)बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन्। विष्ट २०७४ को प्रदेशसभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट १५ हजार ६४८ मत ल्याएर निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका तप्तबहादुर विष्टलाई पराजित गरेका थिए। तप्तबहादुरले १२ हजार ४७७ मत प्राप्त गरेका थिए।
माओवादीले शर्मालाई रुकुम पश्चिम प्रदेश सभा (ख) बाट उम्मेदवार बनाएको छ। शर्माको प्रतिस्पर्धा एमालेका उम्मेदवार कर्णबहादुर घर्ती मगरसँग हुनेछ। २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट माओवादीले जित हात पारेको थियो। माओवादीका गोपाल शर्मा १८ हजार ५८७ मत प्राप्त गरी विजयी भएका थिए। कांग्रेसका खडकबहादुर डाँगीले ८ हजार १२७ मत प्राप्त गरेका थिए।