बाँके\ यस वर्ष नेपालबाट सरदरभन्दा १४ दिन ढिला गरी मनसुन बाहिरियो। मनसुन बाहिरिनु केही दिनअघि परेको अविरल वर्षाले देशभरमै ठूलो जनधनको क्षति गर्यो। त्यसको चेपुवामा बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिका पनि परेका थिए।यी गाउँका नागरिक हरेक वर्ष राप्ती नदीबाट सताइँदै आएका छन्। अलिकति ठूलो पानी पर्यो कि घर छाडेर सुरक्षित स्थान खोज्दै जानुपर्ने उनीहरूको बाध्यता छ।
हरेक चुनावमा यहाँका नागरिकले पाउने आश्वासन मात्रै हो। कटान, डुबानको स्थायी विकल्प वा समाधान भने पाउन सकेका छैनन्।
यहाँका नागरिकलाई फेरि जनप्रतिनिधि चुन्ने अवसर आएको छ। यसपालि बाढीले पुर्याएको क्षतिको घाउ ताजै छ। त्यसैले पनि यहाँका उम्मेदवार हुने व्यक्तिलाई मतदातामाझ पुग्न कठिन छ। किनभने विगतमा गरिएको प्रतिबद्धता पूरा गर्न नसक्नु र बाढीको स्थायी समाधान दिन नसक्नुले पनि उम्मेदवारहरू गाउँ सहजै जान सक्ने स्थिति छैन।
अब ठोस समाधानको उपाय लिएर मात्रै जनतामाझ जानुपर्ने बाध्यता यहाँका उम्मेदवारलाई छ।
यसमा बाँके क्षेत्र नं. १ का एमाले उम्मेदवार सूर्य ढकाल पनि सहमत छन्। ‘राप्ती नदीले हरेक वर्ष दुःख दिने गरेको छ,’ उनले भने, ‘यसको स्थायी समाधान अहिलेको आवश्यकता हो।’ आफूले यसअघि यस विषयमा पहल गरेको भन्दै नेतृत्व गर्न पाएमा यी समस्या पनि समाधान हुने उनले दाबी गरे।
बाँके क्षेत्र नं. १ मा यस क्षेत्रमा कोहलपुर नगरपालिका, राप्तीसोनारी र नरैनापुर गाउँपालिका समेटिएको छ।
यसरी हेर्दा ठूलो क्षेत्र बाढी प्रभावित क्षेत्र हो। त्यतिमात्रै होइन शिक्षा, स्वास्थ्य, पूर्वाधारका हिसाबमा राप्तीसोनारी र नरैनापुर बाँकेमै पछाडि परेको क्षेत्रमा गनिन्छ। त्यसैले पनि यहाँका उम्मेदवारलाई गल्ती गर्ने वा झुट बोलेर जनताको भावनासँग खेल्ने छुट छैन।
‘आजसम्म जनताकै सेवामा लागेको छु। भोलि पनि लाग्नेछु,’ ढकाल भन्छन्, ‘त्यसैले कोहलपुर, नरैनापुर र राप्तीसोनारीलाई कसरी समृद्ध बनाउने भनेर छुट्टाछुट्टै योजनाका साथ जनतामाझ पुगेको छु, पुग्दैछु।’
खेलकुदमन्त्रीसमेत रहेका बाँके क्षेत्र नं. १ का सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादीका महेश्वरजंग गहतराज ‘अथक’ पनि आफू कहिल्यै जनताबाट टाढा नरहेको दाबी गर्छन्। यसअघि यही क्षेत्रबाट निर्वाचित अथकले यसपालि पनि आफूले जित्ने पक्का भएको दाबी गरे।
‘मैले जनताको समस्या बुझेको छु, समाधान पनि गरेको छु,’ उनले भने, ‘मैले गरेको काम हेरेर जनताले मलाई फेरि जिताउनुहुनेछ भन्ने विश्वास छ।’
उनले एकपटक संसद्को अभ्यास, विधि र पद्धति बुझिसकेकाले आगामी दिनमा काम गर्न सहज हुने बताए। ‘पहिलो पटक सांसद बन्दा सिकाइकै क्रममा थिएँ। अहिले विधि र पद्धति बुझिसकेको छु। अब काम गर्न झन् सहज हुन्छ,’ उनले भने, ‘बाँकेको पिछडिएको क्षेत्रलाई मूलधारमा ल्याउन सफल भएँ। महसुस गर्न सक्ने खालका पूर्वाधार पनि बनेका छन्।’
उनले विद्यालय भवनलाई टिनको छानामुक्त गर्ने अभियानअन्तर्गत ५८ विद्यालयमा पक्की कक्षाकोठा निर्माण गरेको, वर्षौँदेखि अँध्यारोमा बस्ने बाध्य राप्तीसोनारी र नरैनापुरमा विद्युतीकरणको सुविधा उपलब्ध गराएको, विभिन्न ठाउँमा झोलुंगेपुल, मोटरेबल पुल, हुलाकी सडकअन्तर्गत राप्तीसोनारी र नरैनापुर जोड्ने गरी सडक सञ्जाल जोड्न पहल गरेको, सिक्टा सिँचाइ आयोजनाका शाखा नहर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे।
यस्तै उनले बाढी प्रभावितका लागि सुरक्षित आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरेको, तटबन्धन उल्लेख्य मात्रामा लागू भएको, फुसको घर पक्की बनाउन अभियान सञ्चालन गरेको पनि बताए।
२०७४ सालमा अथक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए। त्यतिखेर एमालेले उनलाई समर्थन गरेको थियो। अहिले भने एमालेका उम्मेदवार उनका प्रमुख प्रतिस्पर्धी हुन्।
अथकलाई सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, नेकपा (एस) र जनमोर्चाको साथ छ।
गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्षले पाएको मतका आधारमा यहाँ सत्ता गठबन्धनको मत बढी देखिन्छ। वडाअनुसार एमालेले २५ हजार ३१९, कांग्रेस २८ हजार ७१३ र माओवादीको १७ हजार ३०० छ।
कांग्रेस र माओवादीको मत जोड्दा ४६ हजार १३ मत हुन्छ। यसमा एमाले २० हजार ६९४ मतले पछि छ। एमालेलाई राप्रपालगायत दलको सहयोग भएकाले ढकालले मत बढाउन सक्छन्।
एमाले उम्मेदवार ढकाल पनि मतदातामाझ भिजेका व्यक्ति भएकाले कम आँक्न मिल्दैन। उनले एजेन्डा पनि त्यहीअनुसार सार्वजनिक गरेका छन्। राप्तीसोनारी, नरैनापुर र कोहलपुरका लागि छुट्टाछुट्टै योजना सार्वजनिक गरेर निर्वाचनमा होमिएका छन्।
उनले राप्तीसोनारीमा खोला नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि दीर्घकालीन समाधान हुने गरी काम अगाडि बढाउने, वन्यजन्तुले गर्ने क्षतिपूर्तिको व्यवस्था गर्ने, एक घर २५ लाख जीवन बिमा, एक गोठ ८ लाख पशु बिमाको नीति लागू गर्ने, शिक्षा, स्वास्थ्य र सडकको स्तरोन्नति गर्दै कृषि आधुकिकीकरण गर्ने, एक घर एक रोजगारको नीति लागू गर्नेलगायत समेटेका छन्।
त्यस्तै नरैनापुरका लागि सिक्टाको पूर्वी नहर समयमै सम्पन्न गर्ने, नरैनापुरबाट एक घर एक रोजगारको राष्ट्रिय नीति लागू गर्ने, नरैनापुरदेखि पूर्वपश्चिम राजमार्ग जोड्ने सडक विस्तार गर्नेलगायत योजना रहेको उनले सुनाए।
‘कोहलपुर-चप्परगौडी-खड्कवार-घुइयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रादेशिक पर्यटकीय मार्गको निर्माण गर्ने, बाल अस्पताल, रंगशाला, नगर भवन, आधुनिक वधशाला, आधुनिक बसपार्क, भ्युटावर, एनिमल रेस्क्यु बोटानिकल पार्कको निर्माण तथा सम्पन्न गर्ने, क्रिकेट मैदान निर्माण तीव्र रूपमा अघि बढाउनेलगायत योजना समेटेको छु,’ उनले भने।
कोहलपुर रिङरोड निर्माण गर्ने, अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गाधनी पुर्जा उपलब्ध गराउने र कोहलपुरलाई शैक्षिक क्षेत्रको हबका रूपमा स्थापित गर्ने उनका एजेन्डा छन्।
सूर्य ढकालको राजनीतिक विगत
२०४५ सालदेखि निरन्तर राजनीतिमा लागिरहेका ढकालले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य, अध्यक्ष, जिल्ला सदस्य, उपाध्यक्ष, अञ्चल अध्यक्ष, इन्चार्ज र केन्द्रीय सदस्यको अनुभव उनले विद्यार्थी राजनीतिमै लिएका हुन्।
उनी राष्ट्रिय युवा संघको अञ्चल कमिटी सदस्य, अध्यक्ष, केन्द्रीय सदस्य, इन्चार्ज, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख, केन्द्रीय सचिव, उपाध्यक्ष र कार्यवाहक केन्द्रीय अध्यक्षसमेत बन्न सफल भए।
ढकालले पार्टी कमिटीतर्फ गाउँ कमिटी सचिव, जिल्ला सदस्य, क्षेत्रीय कमिटी संयोजक, इन्चार्ज, जिल्ला अध्यक्ष, प्रदेश कमिटी सचिवालय सदस्यसम्मको जिम्मेवारीमा रहेर काम गरेका छन्।
ढकाल अहिले एमाले केन्द्रीय कमिटी सदस्यका साथै बाँके इन्चार्ज हुन्। उनले मदन भण्डारी फाउन्डेसन जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष र केन्द्रीय कमिटी सदस्य भएरसमेत काम गरेका छन्। एकीकृत विकासका लागि सामाजिक अभियानको अध्यक्ष, मदन भण्डारी तथा पुष्पलाल केन्द्रीय पुस्तकालयको महासचिव रहेका ढकालका विभिन्न पत्रपत्रिकामा लेख, आधा दर्जन बढी पुस्तक प्रकाशित छन्।
मसाल निकट अनेरास्वयु सचिवदेखि खेलकुदमन्त्रीसम्म बनेका अथक
अथक २०४३ सालदेखि राजनीतिक दलमा आबद्ध भएका हुन्। २०४५ सालमा मसाल निकट अनेरास्ववियु वीरेन्द्र मावि एकाइ सचिव भए। साथै अथकले २०४६ सालमा जिल्ला कमिटी रुकुमको कोषाध्यक्ष, २०४७ मा सचिव, २०४८ मा राप्ती समन्वय समिति सचिव र २०५० मा केन्द्रीय सदस्य भएर काम गरेका छन्।
२०४८ मा नेपाल राष्ट्रिय दलित जनपरिषद् रुकुमको सचिव, नेपाल दलित मुक्ति मोर्चा संस्थापक महासचिव र अखिल नेपाल युवक संघ रुकुमको जिल्ला समिति सचिव, २०४६ मा पार्टी सदस्य तथा सेल कमिटी, २०४७ मा एरिया कमिटी सदस्य भए।
२०५१ मा माओवादीको पार्टी जिल्ला कमिटी सदस्य, २०५६ मा जिल्ला सेक्रेटरी तथा उपब्युरो सदस्य र रुकुम जनसरकार उपप्रमुख, २०५७ मा क्षेत्रीय ब्युरो सदस्य तथा रुकुम, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बाँके, बर्दियाको पार्टी इन्चार्ज बनेका अथक २०६० मा पार्टी केन्द्रीय सदस्य भएका थिए। यस्तै २०७१ सालमा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनवाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
२०७३ जेठमा पार्टी केन्द्रीय समिति सचिवालय सदस्यमा मनोनीत भएका अथक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा निर्वाचित भए।
कोको छन् उम्मेदवार?
एमालेबाट सूर्यप्रसाद ढकाल, नेकपा (माओवादी केन्द्र) बाट महेश्वरजंग गहतराज अथक, जनता समाजवादी पार्टी नेपालबाट रामकुमार यादव, नेपाल मजदुर किसान पार्टी नवीनकुमार शाही, लोकतान्त्रिक समाजवादी पाटीबाट नेपालबाट रामचरण चौधरी उम्मेदवार छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका उब्जङ शाही, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरी, नेपालका लागि नेपाली पार्टीबाट भक्तबहादुर थापा मगर, नेपाली कांग्रेस (बीपी) काकुन्ती शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्ले र स्वतन्त्रबाट प्रदीपकुमार शाह मैदानमा छन्।