एजेन्सी ,सहयोग \ विश्व बजारमा गहुँ र मकैको भाउ बढेको छ । रुसले युक्रेनसँग भएको महत्वपूर्ण अन्न निर्यात सम्झौताबाट हात झिकेपछि विश्व कमोडिटी बजारमा गहुँ र मकै महँगिएको हो । यो सम्झौताले दुई देशबीच युद्ध जारी रहँदा कृष्ण सागर भएर अन्न निर्यातको लागि बाटो खुलेको थियो ।
सिकागो बोर्ड अफ ट्रेडमा गहुँको फयूचर्स सोमबार ५ दशमलव ५ प्रतिशतले बढेर प्रतिबशेल ८ डलर ७४ सेन्टमा पुगेको थियो । मकैको फयूचर्स पनि प्रतिबशेल २ दशमलव ३ प्रतिशतले बढेर ६ डलर ९६ सेन्टमा उक्लिएको थियो । विश्वको गहुँ निर्यात बजारमा युक्रेन र रुसको हिस्सा झन्डै एक तिहाई रहेको बताइन्छ । यी दुई देश जौ, मकै, तोरीको तेल र सूर्यमुखी तेलको पनि शीर्ष तीन निर्यातकर्तामा पर्दछन् ।
युक्रेनले सिभास्तोपोल शहरमा ड्रोनबाट आक्रमण गरेपछि रुसले शनिवार सम्झौता अनिश्चित समयकधा लागि स्थगित गरेको थियो । युक्रेनले भने रुसलाई ‘ब्ल्याकमेल’ गरेको अनि कपोकल्पित आतंकवादी आक्रमण सृजना गरेको अरोप लगाएको छ । गरिब देशहरुले यसअघि नै चरम भोकमरी भोगिरहेका छन् । सम्झौताबाट रुसको बहिगर्मन गरिब देशका लागि प्रलयकारी हुन सक्ने मावनीय सहायता संगठन इन्टरनेशनल रेस्क्यू कमिटी (आईआरसी) ले चेतावनी दिएको छ ।
जुलाईमा संयुक्त राष्ट्र संघ र टर्कीको तत्परतामा युक्रेनमा थुप्रिएका अन्न सुरक्षित तवरले निर्यात कृष्ण सागर भएर निर्यात गर्ने सहमति भएको थियो । यसले विश्व बजारमा आकाशिएको अन्नको मूल्य कम गर्न निकै सघाएको थियो । मार्चमा कीर्तिमानी स्तरमा उक्लिएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को विश्वव्यापी खाद्य सूचकांक लगातार सात महीना घटेको थियो ।
यो सम्झौता नोभेम्बर १९ मा सकिने क्रममा रहेको थियो । सम्झौतालाई लम्ब्याउने प्रयास भइरहेकै समयमा मस्कोले बीचमै सम्झौताबाट हात झिक्ने हो कि भन्ने भय पनि चुलिएको थियो । बीचमै सम्झौता निलम्बन गर्ने रुसको निर्णयले विश्वभर अन्नको भाउमा तीव्र उतारचढाव गराउने जेपी मोर्गन चेजमा कृषि कमोडिटी रणनीतिज्ञ ट्रेस अलेनले भनेका छन् । विषम मौसमी अवस्थाका कारण कृषि उत्पादन प्रभावित भइरहेको अवस्थामा विश्वभर अनाजको आपूर्ति कसिलो बनेको छ ।
अमेरिकाले गहुँको निर्यात केही बढाउन सक्ने भएपनि यसले युक्रेनी आपूर्तिको भर्पाई गर्न सक्दैन । यस्तो अवस्थामा विश्वभर गहुँ र मकैको भाउ बढ्ने अलेन बताउँछन् । यो वर्ष ३४ करोड ५० लाख मानिसहरुले चरम खाद्य असुरक्षाको सामना गर्ने आईआरसीले बताएको छ । रुसले हात झिकेको भएपनि अहिलेसम्म बन्दरगाहमा अड्किएर बसेका २०० भन्दा धेरै अन्न बोकेका जहाजलाई पठाउने प्रयास भइरहेको छ । सोमवार कृष्ण सागरतर्फको युक्रेनी बन्दरगाहबाट १२ ओटा जहाज हिडेका थिए ।
यी जहाजमा अफ्रिका, एशिया र यूरोपतर्फ जाने ३ लाख ५४ हजार ५०० टन अन्न छन् । संयुक्त राष्ट्र संघले युक्रेन र टर्कीसँग थप १६ ओटा जहाज कृष्ण सागर भएर पठाउने तयारी गरिरहेको छ । यसबारे रुसलाई पनि सूचीत गरिएको छ । रुसले हात झिकेको भएपनि यो पहललाई ब्यूँताउने कोशिश भइरहेको भएपनि यो प्रयास लामो समय चल्ने सम्भावना कम छ ।