१४ मंसिर २०८१, शुक्रबार

बाँकेमा नमूना मतदान शुरू
  • रासस

बाँके\आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा आज बुधवारदेखि नमूना मतदान कार्यक्रम शुरू भएको छ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको नमूना मतदान कार्यक्रम २१ गतेसम्म हुनेछ ।

नमूना मतदानमा मतदाता लाइनमा कसरी बस्ने, ज्येष्ठ नागरिकलाई मताधिकार प्रयोग गर्न कसरी दिने, मतदान गर्ने विधिलगायतका विषयमा जानकारी दिइने जिल्ला निर्वाचन कार्यालय, बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिइन् ।

जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गर्ने प्रमुख पन्तले बताइन् । स्थानीय जनसहभागितामा जानकी र खजुरा गाउँपालिकामा नमूना मतदान अभ्यास तीन घण्टा र निर्वाचनका विषयमा एक घण्टा प्रस्तुतीकरण भएको निर्वाचन कार्यालयले बताएको छ ।

जिल्लामा १७ गते नरैनापुर, १८ गते राप्तीसोनारी, १९ गते डुडुवा र नेपालगञ्ज उपमहानगरपालिका, २० गते बैजानाथ र २१ गते कोहलपुर नगरपालिकामा एक घण्टा निर्वाचनसम्बन्धी प्रस्तुतीकरण र तीन घण्टा नमूना मतदान अभ्यास हुनेछ । ‘मतदान गर्न मतदातालाई अभ्यास होस् भनेर यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको हो,’ कार्यालय प्रमुख पन्तले भनिन् ।

उनले यसपटकको निर्वाचनमा चार प्रकारका मतपत्र भएको जानकारी दिँदै प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकको दुई मतपत्र र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक तर्फको दुई मतपत्र रहेको बताइन् । नमूना मतदानमा मतपत्रमा देखिएको भिन्नता र त्यसमा कसरी मतदान गर्ने भन्ने विधि पनि सिकाइएको उनले बताइन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा मतदाता शिक्षा पनि लागू गर्ने तयारी भएको छ । कात्तिक १८ गतेदेखि गाउँदेखि सहरसम्म १५ दिने मतदाता शिक्षा सञ्चालनमा ल्याइने जिल्ला निर्वाचन कार्यालय, बाँकेले बताएको छ । त्यसका लागि वडा वडामा एसएलसी सरह योग्यताको स्वास्थ्य स्वयंसेविका नियुक्त गरेर घरदैलोमा मतदाता शिक्षा प्रदान गर्ने तयारी भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख पन्तले जानकारी दिइन् ।

  • १७ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech