जुम्ला\जुम्लामा नेपाली सेनाको हेलिकप्टरमार्फत् मतपत्र ल्याउन थालिएको छ। जुम्लाका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ओसार्न थालेको हो।
सेना नन्दबक्सगणका गणपति रविन थापाका अनुसार बुधबार २ पटक सेनाको हेलिकप्टरले मतपत्र ल्याइएको छ। कर्णाली राजमार्गबाट ठूला गाडी आउन नसकेकाले मतपत्र हेलिकप्टरमार्फत् ल्याउन थालिएको हो।
काठमाडौंबाट सुर्खेत गाडीमा मतपत्र पुगेको हो भने त्यहाँबाट जुम्ला ओसार्ने काम हेलिकप्टरमार्फत् भइरहेको छ।
स्थानीय तहको निर्वाचनमा ट्रकमार्फत् मतपत्र ल्याइएको थियो ।
जुम्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार सुर्खेतबाट हेलिकप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ। उनले प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र जुम्ला ल्याइएको हो। अब समानुपातिकको चार हजार मतपत्र आउन बाँकी छ। उनका अनुसार बाँकी मतपत्र बिहीबार ल्याइनेछ।
जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि ७६ हजार मतपत्र र प्रदेशसभा ‘क’ का लागि आवश्यक ४१ हजार तथा प्रदेशसभा ‘ख’ का लागि ३६ हजार मतपत्र माग गरिएको छ।