६ पुष २०८१, शनिबार

उम्मेदवार चुनावी अभियानमा, मतदाता धान भित्र्याउन खेतमा
  • रासस

बाँके\आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार अहिले चुनावी प्रचारको अभियानमा जुटेका छन् ।

निर्वाचनमा आआफ्ना एजेण्डासहित उम्मेदवार मतदातासमक्ष पुगेका छन् । बाँके जिल्लाका किसानलाई भने वर्षभरि आफूले गरेको परिश्रमको खेतीबाली धान भित्र्याउन चटारो छ । नेताहरू गाउँमा जाँदा अधिकांश मतदाता भने खेतमा भेटिने गरेका छन् ।

चुनाव आउन अब करीब दुई हप्ता मात्र रहँदा किसानहरू भने वर्षदिनको अन्न धान स्याहार्ने कामलाई पहिलो प्राथामिकता राखेको खजुराका किसान हरिहर थारू बताउँछन् । किसानलाई अहिले धान भित्र्याउन भ्याई नभ्याई छ भने उम्मेदवारलाई गाउँ टोल बस्तीमा गएर मत माग्न भ्याई नभ्याई छ ।

नेता गाउँ पुग्दा धान काट्न गएका किसानलाई फोन गरेर बोलाउने गरेका छन् भने कतिपय नेता त खेतमै मत माग्न पुग्ने गरेको बाँके बैजानाथ गाउँपालिका–७ पेडारीका किसान लोहारी थारूले बताए ।

उनका अनुसार विगतको निर्वाचनमा प्रचारप्रसारका लागि हूलका हूल निस्कने सर्वसाधारण मतदातालाई यसपालि खेतीपातीको मौसमपरेकाले समय निकाल्न समस्या भएको छ ।

किसान लोहारी थारू भन्छन्, ‘कतिपय ठाउँमा नेता भोट माग्न खेतमै पुग्दा मात्रै चुनाव आएको जस्तो अनुभूति हुन्छ ।’ किसानले धान भित्र्याई नसक्दासम्म प्रचारप्रसार समस्या भएको उनको भनाइ छ ।  चुनावको बेला राजनीतिक दल तथा उम्मेदवार आफ्नो घोषणापत्रमा कृषिसम्बन्धी समस्या तथा सवाललाई मुद्दा बनाउने गर्छन् । यसपालिको चुनावमा पनि दलहरूले आफ्नो घोषणापत्रमा कृषिका सवाललाई पुनः समेटेका छन् ।

यसपालिको चुनावमा किसानको पीरमर्का बुझ्ने नेतालाई मात्रै भोट दिने  कोहलपुर नगरपालिका वडा न ३ का कल्पना कार्की बताउँछिन। समयमा मलबीउको उपलब्धता, आधुनिक कृषि उत्पादनमा जोड, कृषि अनुदान, बजारीकरण, कृषि प्रोत्साहनलगायत सेवा सरकारले दिनुपर्छ । यस्तो सेवा दिने नेतालाई मात्रै यस पटक मत दिने कार्कीको  भनाइ छ ।

वर्षौंदेखि कृषि मलको समस्या झेल्दै आएका किसानलाई राहत दिने नेतालाई अहिलेको निर्वाचनमा मतदान गर्ने बाँके डुडुवा गाउँपालिका–४ का किसान बाबादिन धोबीले बताए । निर्वाचनमा सबै उम्मेदवारले विकास निमार्णका योजनासँगै जनतासँग प्रत्यक्ष सरोकार राख्ने सवालका बारेमा योजना तथा प्रतिबद्धता आआफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् ।

सोही घोषणापत्रलाई आधार मानेर उम्मेदवारहरू जनतामाझ पुगेर प्रचार गरिरहेका छन् । नेताहरूको घोषणापत्र हेर्दा प्रायः महत्त्वाकांक्षी योजना मात्र भएको किसान अगुवा जगदीशप्रसाद विश्वकर्माले बताए । वर्षभरि पेट भर्ने अन्न धान हो । अहिले किसानलाई चुनावभन्दा धान नै प्यारो छ । धान स्याहार्ने सिजनमा निर्वाचनको मिति परेकाले उनीहरू प्रचारप्रसारमा सहभागी हुन नसकेको किसानहरू बताउँछन् ।

  • २४ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech