काठमाडौँ\चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ३ महीनामा १६ हजार ३४१ लघु, घरेलु तथा साना उद्योग दर्ता भएका छन् । मुलुकभरका ७७ ओटा लघु, घरेलु तथा साना उद्योग कार्यालयमा उक्त संख्यामा उद्योग दर्ता भएका हुन् । यी उद्योगबाट ५० हजार २११ जनालाई रोजगारी उपलब्ध हुनेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आठौं उद्योग दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उक्त संख्याले रोजगारी पाउने प्रस्तावसहित उद्योग दर्ता गराएको जानकारी दिइएको हो । उद्योग विभागमा भने यो अवधिमा ८६ ओटा उद्योग दर्ता भएका छन् । ती उद्योगले ५ हजार ९३५ जनाले रोजगारी पाउने बताएका छन् । उक्त अवसरमा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी र मन्त्रालयका सचिव तोयनारायण ज्ञवालीले औद्योगिक बुलेटिन सार्वजनिक गरेका छन् ।
मन्त्रालयका अनुसार स्थानीय स्तरमै रोजगारी सृजना गर्ने उद्देश्यले लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको छ । त्यस कार्यक्रमअन्तर्गत आव २०७८र७९ मा ५१ हजार ४२८ जना नयाँ लघु उद्यमी सृजना भएका छन् । भइरहेकामध्ये २० हजार ५७३ जना उद्योमीको स्तरोन्नति भएको छ । यसैगरी कार्यक्रममा मन्त्रालयले निजीक्षेत्रको सहकार्यमा शुरू भएका कार्यक्रम ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग गर्ने गरी सरकारी–निजीक्षेत्र साझेदारी गरिएको ज्ञवालीले बताए ।
बजेटमा भएको व्यवस्था कार्यान्वयन गर्न नेपाल उद्योग वाणिज्य महासंघसँग समझदारीपत्रमा हस्ताक्षर गरिएको उनले बताए । ‘औद्योगिक लगानी र पूर्वाधार स् समृद्धिको आधार’ नाराका साथ मनाइएको उक्त कार्यक्रममा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले उद्योग प्रशासन, व्यवस्थापनमा सहजता ल्याउन नीतिगत, कानूनी, संस्थागत, प्रक्रियागत र प्रविधिजस्ता पक्षको सुधारलाई निरन्तरता दिएको बताए ।
उद्योगमैत्री वातावरण सृजनाले मात्रै परम्परागत कृषि प्रणालीलाई उद्यमशीलतातर्फ रूपान्तरण गर्न सकिने र त्यसबाट मात्रै दिगो र आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सकिने उनको धारणा थियो । उद्योग प्रशासनका कार्यलाई अनलाइन प्रणालीमार्फत गर्दा विभागको सेवा सरलीकृत भएको र औद्योगिक सुशासन कायम गर्ने कार्यमा सहजता आउने उल्लेख गरिएको छ ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निश्चित उद्योगलाई विभाजन गरेर सेवासुविधा दिनुपर्नेमा जोड दिए । उनले नेपालमा मूल्य अभिवृद्धि हुने, रोजगारी सृजना र निर्यात गर्ने उद्योगलाई सरकारले ब्याजमै अनुदान दिनुपर्नेमा जोड दिए । अहिले अर्थतन्त्र निकै समस्यामा परेको भन्दै उनले अर्थतन्त्रको समस्या समाधान गर्न उद्योग सञ्चालन गर्ने वातावरण निर्माणमा सरकार र निजीक्षेत्र दुवै लाग्नुपर्ने धारणा राखे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ उद्योग खोल्न र पुरानालाई विस्थापित हुन नदिन सरकारले स्पष्ट औद्योगिक नीति ल्याउनुपर्ने सुझाव दिए । अहिले जग्गा खरीद गरेर उद्योग सञ्चालनमा ल्याउन निकै कठिन रहेको भन्दै उनले सरकारले स्थापना गरेका विशेष आर्थिक क्षेत्र ९सेज०, औद्योगिक क्षेत्रमा उद्योग जान सक्ने व्यवस्था मिलाउनुपर्ने बताए ।
स्वदेशी उत्पादन र निर्यातलाई प्राथमिकता दिएर परिसंघले विभिन्न अभियान र योजना अघि सारेको उनको भनाइ छ । सरकारले निजीक्षेत्रका यी कार्यमा सहयोग र सहकार्य गर्न पनि आवश्यक रहेको उनले बताए । उद्योगहरूको उत्पादन लागत नै बढी भएकाले लागत घटाउने विषयमा गृहकार्य गर्नुपर्नेमा पनि उनले जोड दिए ।