१३ मंसिर २०८१, बिहीबार

पालिका प्रमुख जसले तय गरे संसद् यात्रा, कोही पराजित
  • न्युज मानसराेवर

काठमाडौँ\गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सांसदबाट राजीनामा दिएर विभिन्न राजनीतिक दलमा आबद्ध नगरप्रमुख उम्मेदवार बने। तीमध्ये केहीले जित निकाले भने केही पराजित भए। ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा नगरप्रमुखबाट राजीनामा दिएर सीमित संख्याका नगरप्रमुख प्रतिनिधिसभाका उम्मेदवार बने। प्रदेशसभामा भने धेरै पूर्वनगरप्रमुखहरू उम्मेदवार बने।

पालिकाको सीमित परिधिमा रहेर राजनीति गर्नेहरू एकै पटक संसदीय निर्वाचनमा आउँदा अपेक्षा बढी भए पनि नतिजा भने उनीहरूको पक्षमा खासै आएको देखिएन। हालसम्मको निर्वाचन परिणामअनुसार प्रतिनिधिसभामा ३ जना पूर्वनगरप्रमुख विजयी भएका छन्। आधा दर्जन बढी पूर्वनगरप्रमुख प्रदेशसभा निर्वाचनमा पराजित भए।

यस्ता छन्, प्रतिनिधिसभामा पुगेका गाउँ सरकारका प्रमुख

सन्तोष चालिसे
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख सन्तोष चालिसे प्रतिनिधिसभामा विजयी भएका छन्। कांग्रेस उम्मेदवार रहेका चालिसे काठमाडौं ३ बाट निर्वाचित भएका हुन्। घिमिरेल यो क्षेत्रमा निकट प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर राईलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका छन्। चालिसे २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए। २०७४ कै आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका एमालेका राई पूर्वनगरप्रमुख चालिसेसँग पराजित भए। चालिसे प्रतिद्वन्द्वी राईलाई ३ हजार ५७६ मतले पछि पार्दै विजयी भएका हुन्।

चालिसेले १३ हजार ८५३ मत प्राप्त गर्दा एमालेका राईले १० हजार २७७ मत ल्याए। जोरपाटी–साँखु सडक खण्डको दुरवस्थामा चालिसेलाई मुकदर्शक बनेको आरोप लगाउँदै दोस्रो पटक निर्वाचनमा होमिएका राईले पराजय भोगे। फोहोर तथा फुटपाथ व्यवस्थापनमा गोकर्णेश्वरले उदाहरणीय काम गरेकाले नै पूर्वनगरप्रमुख घिमिरलाई जनमतले साथ दिएको बताइन्छ।

वासुदेव घिमिरे
तिलोत्तमाका पूर्वनगरप्रमुख वासुदेव घिमिरेले पनि संसद् यात्रा तय गरेका छन्। उनी रुपन्देही ५ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। घिमिरे २०७४ मा एमालेबाट तिलोत्तमा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए। घिमिरेले तिलोत्तमालाई नेपालभरकै उत्कृष्ट नगरपालिका बनाउन सफलता पाएकै कारण यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्य चुनिएको बताइन्छ। यसअघि रुपन्देही ५ मा निरन्तर कांग्रेसले जित्दै आएकामा घिमिरेले कांग्रेसको गढ भत्काउँदै एमालेको पक्षमा जित निकाल्न सफल भए।

रुपन्देही ५ मा पहिलो संविधानसभादेखि विगत ३ कार्यकाल निरन्तर कांग्रेसका भरतकुमार शाह विजय हुँदै आएका थिए। यस पटकको चौथो जितमा शाह चुनावी मैदानमा रहे पनि उनलाई घिमिरेले पराजित गरे। पूर्वनगरप्रमुख घिमिरे ९ हजार बढी मतका साथ विजयी भए।

घिमिरे रुपन्देही ५ बाट ३६ हजार ८२२ मतसहित विजयी भए भने निकटतम प्रतिद्वन्द्वी शाहले २७ हजार १२० मत ल्याए।

धबलशमशेर राणा
नेपालगन्ज उपमहानगरका पूर्वप्रमुख धबलशमशेर राणा यो निर्वाचनमा बाँके २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। पूर्वनगरप्रमुखको हैसियतमा चुनावी मैदानमा होमिएका राणाले एमालेको साथ पाएपछि फराकिलो मतान्तरसहित जित हात पारेका हुन्। राणाले जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईलाई  ६ हजार ५७ मतान्तरले पराजित गरेका हुन्। राणा २९ हजार ५७७ मत ल्याएर विजयी हुँदा राईले २३ हजार ५२० मत ल्याए। राप्रपालाई यहाँ एमालेको साथ थियो भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणा थिए।

राप्रपाबाट उम्मेदवार रहेका राणाले २०५१ को आमचुनावमा पराजय बेहोरेका थिए। २०५२ मा नेकपा एमाले प्रवेश गरेका थिए। राणा २०५४ मा नेपालगन्ज महानगरको नगरप्रमुख, दोस्रो संविधानसभाको चुनावमा फेरि पराजय र अन्त्यमा २०७९ को आमनिर्वाचनबाट संसद् प्रवेश गरेका हुन्।

तपेन्द्रबहादुर रावल
प्रतिनिधिसभामा उम्मेदवार बनेका कैलालीको टीकापुर नगरपालिकाका पूर्वनगरप्रमुख तपेन्द्रबहादुर रावलले असफलता भोगेका छन्। एमालेबाट प्रतिनिधिसभा उम्मेदवार बनेका रावललाई नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले पराजित गरेकी हुन्।

रावलले ५ हजार ९१० मत पाउँदा श्रेष्ठले ३० हजार ४०४ मत ल्याइन्। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभातर्फ कैलालीको १, २ र ३ नम्बर क्षेत्रमा विजयी भएको छ भने ४ र ५ मा कांग्रेसले जित निकालेको छ। श्रेष्ठ चौधरीकी पत्नी हुन्।

भीम देउवा
२०७४ को स्थानीय तह निर्वाचनमा कैलालीको गौरीगंगा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका भीम देउवा यस पटकको निर्वाचनमा प्रदेशसभाका उम्मेदवार थिए। सुदूरपश्चिमको प्रदेशसभामा प्रवेश गर्ने उनको रहर यस पटक पूरा हुन सकेन।

एमालेबाट प्रदेशसभाका लागि कैलाली ४ ‘ख’बाट उम्मेदवार बनेका उनी नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीसँग पराजित भए। देउवाले ९ हजार ४३२ मत ल्याए भने सोडारीले १३ हजार ४८९ ल्याए।

हरिसिंह साउद
कैलाली ४ ‘ख’ को प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका कैलालीको अत्तरिया नगरपालिकाका पूर्वनगरप्रमुख हरिसिंह साउद पनि पराजित भएका छन्। एमालेबाट उम्मेदवार रहेका साउद सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार प्रकाश बमसँग पराजित भएका हुन्। साउद बमसँग ५१५ मतको झिनो अन्तरले पराजित भए। बमले १२ हजार ४७३ मत ल्याउँदा साउदले ११ हजार ९५८ मत पाए।

अमानसिंह तामाङ
बागमती प्रदेशसभाको सिन्धुपाल्चोक २ ‘ख’ मा ८ हजार ७६७ मतान्तरले युवराज दुलालसँग पराजित भएका अमानसिंह तामाङ पनि पूर्वनगरप्रमुख हुन्। सिन्धुपाल्चोकको चौतारा सँगाचोकगढी नगरपालिकाका प्रमुख तामाङ यस पटक प्रदेशसभामा एमालेबाट उम्मेदवार बनेका थिए। उनलाई सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका दुलालले पराजित गरेका हुन्। दुलालले २० हजार ९०६ मत ल्याए भने  तामाङले १२ हजार ९३९ मत पाए।

दुलाल र तामाङ पूर्वसहकर्मी हुन्। यी दुवै माओवादी भए पनि तामाङ उक्त पार्टी छाडेर  छाडेर एमाले प्रवेश गरेका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीले तामाङलाई नगर प्रमुखको टिकट नदिएपछि माओवादीसँग रुष्ट थिए।

सुरेन्द्र विष्ट
कञ्चनपुरको भीमदत्त नगरपालिकामा २०७४ को निर्वाचनमा नगरप्रमुख जितेका सुरेन्द्र विष्टले यस पटकको प्रदेशसभा निर्वाचनमा हार बेहोरेका छन्। कञ्चनपुर ३ ‘ख’ मा एमालेबाट उम्मेदवारी दिएका विष्ट गठबन्धन उम्मेदवार कांग्रेसका बेलबहादुर राना मगरसँग पराजित भएका हुन्। मगरले १६ हजार १५२ मत ल्याए भने विष्टले १० हजार ५४८ मत ल्याए।

घनश्याम पाण्डे
दाङको तुलसीपुर उपमहानगरका पूर्वनगरप्रमुख घनश्याम पाण्डे यस पटकको प्रदेशसभा निर्वाचनमा पराजित भए। एमालेबाट दाङ ३ ‘क’ मा उम्मेदवारी दिएका पाण्डे कांग्रेसका डिल्लीबहादुर चौधरीसँग पराजित भएका हुन्। चौधरीले १९ हजार ८५० मत प्राप्त गरी विजयी हुँदा पाण्डेले १४ हजार ४५० मत ल्याए। यी दुईबीच ५ हजार ४०० मतान्तर रह्यो। पाण्डे पूर्वनगरप्रमुख हुन् भने चौधरी यसै क्षेत्रका पूर्वप्रदेशसभा सदस्य हुन्।

केशवबहादुर चन्द
प्रतिनिधिसभामा बैतडीबाट स्वतन्त्र उम्मेदवारी दिएका पाटन नगरपालिका पूर्वनगरप्रमुख केशवबहादुर चन्द पनि यस पटकको निर्वाचनमा पराजित भए। बैतडीमा सत्ता गठबन्धनले माओवादीका लागि छाडिदिएपछि रुष्ट बनेका कांग्रेस नेता चन्द स्वतन्त्र रूपमा उम्मेदवार बनेका थिए। यस क्षेत्रमा एमालेले जित निकालेको छ।

२ हजार ५०९ मत ल्याएका चन्द तेस्रो स्थानमा रहे भने गठबन्धनका उम्मेदवार नरेन्द्रबहादुर कुँवर ३२ हजार ८० मतले दोस्रो स्थानमा रहे। विजयी एमाले उम्मेदवार दामोदर भण्डारीले ३३ हजार ६११ मत ल्याए।

द्वारिकलाल चौधरी

सुनसरीको इटहरीका पूर्वनगरप्रमुख द्वारिकलाल चौधरी सुनसरी २ ‘क’मा माओवादीबाट प्रदेशसभा उम्मेदवार थिए। उनी एमालेका रेवती भण्डारीसँग पराजित भए। चौधरी २ हजार ६८० मतान्तरले भण्डारीसँग पराजित भए। चौधरीले ११ हजार ८४८ मत ल्याए भने भण्डारीले १४ हजार ५२८ मतसहित विजयी भए।

चुनावको मुखैमा एमाले छाडेर माओवादी प्रवेश गरेका द्वारिकलाल २०७४ को स्थानीय तह निर्वाचनमा सुनसरीको इटहरी उपमहानगरमा नगरप्रमुख चुनिएका थिए। सार्वजनिक रूपमा राम्रो छवि बनाउन नसकेको र जनप्रतिनिधिको मर्यादा कायम राख्न असफल भएको आरोप लागेका चौधरीलाई यस पटक प्रदेश १ को प्रदेशसभामा छिर्ने चाहना अधुरै रह्यो।

  • १३ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech