संयुक्त राष्ट्रसंघमा आबद्घ विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले गत सेप्टेम्बर महीनामा निकालेको तथ्यांकअनुसार सन् २०२२ को ७ महीनामा विश्व पर्यटन आगमन दरमा गत वर्षको सोही अवधिमा भन्दा ६० प्रतिशतले वृद्घि भएको देखिएको छ । उक्त तथ्यांकअनुसार सन् २०२१ को ७ महीनाको अवधिमा १७५ मिलियन पर्यटकले भ्रमण गरेका थिए भने सन् २०२२ को ७ महीनाको अवधिमा चाहिँ ४७४ मिलियन विदेशी पर्यटकले भ्रमण गरिसकेका छन् । अझ उक्त अवधिमा अन्यत्र हेरेर यूरोप महादेश र मध्यपूर्वमा पर्यटन आगमन सबैभन्दा बढेको देखिन्छ । यूरोप महादेशमा ७४ प्रतिशत र मध्यपूर्वमा ७६ प्रतिशतले पर्यटन आगमन दर बढेको छ । हुन त यो वर्ष मध्यपूर्वको कतारमा विश्व कप फुटबल आयोजना भइरहेकाले पर्यटक आगमन दर अरू बढ्न सक्ने देखिन्छ ।
तथ्यांक नै हेर्ने हो भने सन् २०२१ को प्रथम ३ महीनामा आएको विश्व पर्यटन आगमन दर सन् २०२० मा भन्दा ४.०१ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै संयुक्त राष्ट्रसंघसँग आबद्घ विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले पछिल्लोपटक निकालेको तथ्यांकअनुसार सन् २०२२ को प्रथम ३ महीनामा यूरोप महादेशमा मात्रै सन् २०२१ को प्रथम ३ महीनामा आएको पर्यटक संख्याको तुलनामा २८० प्रतिशतले पर्यटक आगमन बढेको थियो । त्यस्तै अमेरिका महादेशमा पनि सन् २०२१ को प्रथम ३ महीनाको तुलनामा सन् २०२२ को प्रथम ३ महीनामा ११७ प्रतिशतले पर्यटक आगमन बढेको देखिएको थियो । उता मध्यपूर्वमा पनि सन् २०२१ को प्रथम ३ महीनामा आएको पर्यटक संख्याको तुलनामा सन् २०२२ को प्रथम ३ महीनामा १३२ प्रतिशतले पर्यटक आगमन बढेको थियो भने अफ्रिका महादेशमा चाहिँ सन् २०२१ को प्रथम ३ महीनामा आएको पर्यटक संख्याको तुलनामा सन् २०२२ को प्रथम ३ महीनामा ९६ प्रतिशतले मात्रै पर्यटक आगमनमा वृद्धि भएको थियो ।
त्यस्तै एशिया प्यासिफिक क्षेत्रमा चाहिँ सन् २०२१ को प्रथम ३ महीनामा आएका पर्यटक संख्याको तुलनामा सन् २०२२ को प्रथम ३ महीनामा सबैभन्दा कम दरमा पर्यटन आगमन दरको वृद्घि रहेको थियो । किनभने एशिया प्यासिफिक क्षेत्रमा सन् २०२२ को ३ महीनामा आएको पर्यटक संख्या ६४ प्रतिशतले मात्रै बढेको थियो ।हाल सकिनै लागेको (सन् २०२२ डिसेम्बर मध्य चल्दै छ) सन् २०२२ को ११ महीनाको तथ्यांकअनुसार नेपालमा ५ लाख ४६ हजार चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् ।
यसरी हेर्दा हामीले सन् २०२२ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको अनुमानित आगमन दरले निश्चित सीमा रेखा नाघेर केही बढी नै संख्या पुगेको छ । किनभने, नेपालमा सन् २०२२ मा पुग–नपुग ५ लाख विदेशी पर्यटक आउलान् कि ? भन्ने अनुमान गरिएको थियो । तर, ११ महीनाको अवधिमै लगभग साढ ५ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । जुन हाम्रा लागि धेरै राम्रो संकेत हो । अब माथिको तथ्यांकको आधारमा भन्नुपर्दा अकस्मात् कोरोना महामारी वा अन्य कुनै खाले महामारी रोग नफैलिएमा सन् २०२३ मा कम्तीमा ७ लाख ५०–५५ हजारदेखि ७ लाख ८०–९० हजारसम्म विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने अनुमान गर्न सकिन्छ ।
नेपालमा सन् २०२२ लागेदेखि नै विदेशी पर्यटक आगमनमा वृद्धि भइरहेको छ । यसरी तथ्यांक हेर्दा नेपालमा पनि सन् २०१९ को अन्तिमतिर शुरू भएको कोरोना महामारी यताकै सबैभन्दा धेरै संख्यामा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसैले अब हामीले ठोकेरै भन्न सक्छौं कि सन् २०२० र सन् २०२१ मा भन्दा सन् २०२३ मा साढे तीनदेखि चार गुणसम्म बढी विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने छन् । यसै ‘अभियान’ दैनिकले गत असार १८ गते प्रकाशित गरेको समाचारअनुसार सन् २०२२ को ६ महीना (जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे र जुन) मध्ये जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ५८ हजार ३४८, मेमा ५३ हजार ६०८ र जुनमा ४६ हजार ९५७ जना विदेशी पर्यटक नेपाल आइसकेको तथ्यांक थियो । त्यसयता सन् २०२२ को जुलाई महीनामा ४४ हजार ४६२, अगस्त महीनामा ४१ हजार ३०४, सेप्टेम्बर महीनामा ५८ हजार ३१४, अक्टोबर महीनामा ८८ हजार ५८२ र नोभेम्बर महीनामा ७२ हजार ६५३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । निश्चय नै माथिको तथ्यांकले अब नेपाली पर्यटनले लय समातेको भन्ने आशा र संकेत देखाएको छ ।
संयोगले कोरोनालगायत अन्य महामारीले के गर्ने हो, कसो गर्ने हो ? भन्ने अवस्था रहँदा रहँदै पनि त्यस्तो केही भएन । किनभने हाल पनि केही न केही रूपमा रहेको कोरोना महामारीको अनेक रूप आउला कि ? भन्ने आशंका हटिसकेको थिएन, छैन । अझै पनि अब फेरि कोरोना महामारी फैलिएमा कस्तो रूपमा फैलने हो ? कसैलाई थाहा छैन । त्यसो त अब कोरोना महामारी रोकिन्छ, फैलन छोड्छ भनेरै संयुक्त राज्य अमेरिकाले कोरोनामुक्त भनी आफ्नो देशलाई घोषणा गरिसकेको छ । यसरी हेर्दा कोरोना महामारीको लगभग २ वर्षपछि नेपालमा मात्रै नभएर विश्वभरि नै विदेशी पर्यटकको आगमन दर र संख्या बढेको बढ्यै छ । आशा गरौं, अब विश्व पर्यटन आगमन दर संख्या लगातार रूपमा बढ्ने नै छ । हाम्रो यो आशा र विश्वासमाथि अब कोरोना महामारीले फेरि हठात् रूपमा तुषारापात गर्ने छैन । सन् २०२३ देखि नेपाली पर्यटनले अरू बढी गति लिने छ भन्ने आशा गरौं । साथै विश्व पर्यटनमा समेत हालको पर्यटन आगमन दर बढेर सन् २०२३ मा कम्तीमा पनि ७०–७५ प्रतिशतले वृद्धि होओस् भन्ने कामना गरौं ।
लेखक पर्यटनकर्मी हुन् ।