भूगोलको हिसाबले नेपाल सानो मुलुक भए पनि सानाठूला नदीनालाको संख्या ६ हजार रहेको छ ।भनिन्छ, जलस्रोतमा धनी छ नेपाल ।
यी मध्य कतिपयमा वर्र्षैभरि पानीको बहाउ भइरहन्छ भने बाँकी मौसमी । मेची, कोशी, गण्डकी, राप्ती, कर्णाली र महाकाली सदाबहार नदीहरू हुन् । यी सबै नदीको बनावट विभिन्न सानाठूला नदी र खोलाखाल्साहरूको सम्मिश्रणद्वारा भएको छ । सात–सातओटा नदीको सम्मिश्रणको उपज भएको कारणले कोशीलाई सप्तकोशी भनिन्छ भने गण्डकीलाई सप्तगण्डकी ।
नेपालको कुल भूभागको करीब शून्य दशमलव ७ प्रतिशत भूभाग यी नदीनालामा बग्ने पानीले ढाकेको छ । यसले पुष्टि गर्छ कि नेपाल वास्तवमा जलस्रोतमा धनी मुलुक हो । नेपालमा उपलब्ध प्राकृतिक साधनहरू विशेष गरेर जलस्रोत नेपालका लागि प्रकृतिले दिएको उपहार नै हो । यो प्रकृतिको उपहारलाई विकास गरेर नेपालले फाइदा लिन सकिरहेको छैन । प्रकृतिप्रदत स्रोतलाई उपयोगमा ल्याउन नसकेका कारण नेपाल अर्धविकसित देशको सूचीमा परिरहेको छ । जलस्रोतको विकासले नेपाललाई छिट्टै विकसित र समृद्ध देश बनाउन सक्ने सम्भावना रहेको छ । उपलब्ध जलस्रोतको उपयोग तीनओटा अत्यन्त संवेदनशील आर्थिक क्षेत्रहरूमा गर्न सकिन्छ ।
पहिलो, सिँचाइ । नेपाल कृषि प्रधान देश हो । विश्व बैंकको आँकडाअनुसार सन १९६० को दशकमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान ६७ प्रतिशत रहेको थियो । यो अनुपात त्यसपछिका दशकहरूमा घटिरहेको उपलब्ध आँकडाले देखाउँछ । सन् १९८० को दशकमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान ६३ प्रतिशतमा सीमित रह्यो । त्यस्तै गरेर सन् १९९० को दशकपश्चात् कृषिक्षेत्रको योगदानमा ह्रास हुँदै सन् १९१० को दशकमा २७ प्रतिशतमात्र रहेको छ । कृषि प्रधान देश हुँदाहुँदै पनि नेपालको अर्थतन्त्रमा यसको योगदान कम हुनुले के पुष्टि गर्छ भने नेपालको आर्थिक क्षेत्रमा कृषिक्षेत्रको भूमिका क्रमशः घट्दै आएको छ । यो चिन्ताजनक र मननयोग्य विषय हो । कृषिक्षेत्रको उत्पादनमा पनि यसरी नै क्रमशः ह्रास भइरहेका कारण खाद्यान्न आयात बढिरहेको छ । कृषि उत्पादन वृद्धि गराई खाद्यान्नमा आत्मनिर्भर हुन नेपालले प्रयत्न गर्नुपर्छ । कृषिक्षेत्रको विकासका लागि सिँचाइको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । नेपालको वर्षा मनसुनी हावापानीमा आधारित छ । मनसुनको आगमन कहिले ढिलो हुन्छ त कहिले छिटो, कहिले कम र कहिले बढी । यो प्रकृयाको प्राकृतिक वर्षाका कारण कृषि उत्पादनमा एकरूपता हुँदैन । प्रत्येक वर्र्ष फरक मौसमको अनुकूलता र प्रतिकूलतामा कृषि उत्पादन क्रमशः बढी र घटी हुने गर्छ । कृषि उत्पादनमा प्रत्येक वर्र्ष वृद्धि गराई खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउन हतारो नै भइसकेको छ । जलस्रोतको उपयोगका लागि पर्याप्त सिँचाइ प्रणालीको विकासले कृषि विकास हुन सक्छ । कृषि विकास र सिँचाइ विकासको सम्बन्ध सकारात्मक हुन्छ । पर्याप्त मात्रामा सिँचाइको सुविधा प्रदान गर्नाले कृषिक्षेत्रमा मानिसहरूको आकर्षण बढ्छ, जसले रोजगारीको सृजना गर्न मद्दत एकातिर गर्छ भने अर्कोतिर कृषि उत्पादनमा वृद्धि भई आयात प्रतिस्थापन हुन्छ ।
दोस्रो, विद्युत् विकास । ४० हजार मेगावाट बिजुली उत्पादन क्षमता भएको जलविद्युत्को विकास हुन सकेको छैन । जलविद्युत् उत्पादन सम्भावनाको करीब २ प्रतिशत मात्र उत्पादन हुन सकेको छ । नेपालमात्र होइन, आज विश्व नै ऊर्जा संकटमा रहेको छ । यसको विकासले नेपाललाई छिट्टै सम्पन्न गराउन सक्छ, यसमा शंका छैन । यसको विकासका लागि आवश्यक स्रोतसाधनको परिचालन गर्न जरुरी छ । प्रत्येक वर्र्ष बजेट भाषण हुन्छ । जलविद्युत् विकासको नारा सुन्न पाइन्छ । तर, यसको विकास गरी निर्यातमुखी बनाउन ठोस कदम चालेको पाउन सकिँदैन । यदि छ भने पनि नारामा नै सीमित रहन्छ । हुन त नेपालमा हुने बिजुलीको मागअनुसार घरेलु उत्पादनले आपूर्ति हुन नसकेको अवस्थामा विद्युत् निर्यातको कुरा नारामा नै सीमित रहनु कुनै अनौठो कुरा होइन । खेर गइरहेको जलस्रोतबाट जलविद्युत् विकास गरेर खाडीका मुलुकहरूबाट आयात हुने तेलको प्रतिस्थापन हुन सक्छ । आजको विश्वमा विद्युतीय सवारीसाधनको विकास भइरहेको छ । यो सवारीसाधनलाई विद्युत्द्वारा स्वचालित बनाइएको छ । यसका लागि बिजुलीको आवश्यकता पर्छ । नेपालीहरूका चूल्हाहरूमा आयातित ग्यासको सहयोगमा खाना बनिरहेको हुन्छ । आजको विश्वमा ग्यासको बदलामा विद्युत्बाट खाना पकाउन सक्ने विद्युत्ीय चूल्होका साथै त्यसलाई आवश्यक हुने भाँडाकुँडाको पनि आविष्कार भएको छ । जसरी बिजुलीले मटितेलको प्रतिस्थापन गरेको छ त्यसरी नै बिजुलीले ग्यासको प्रतिस्थापन गराउन सक्छ । नेपालमा लोडशेडिङ भइरहन्छ । अलिअलि बचेकुचेका उद्योगको सञ्चालनमा यो प्रक्रियाले अवरुद्ध गरिरहेको छ । विद्युत्को विकासले विद्यमान उद्योगहरूको मात्र सञ्चालन हुने होइन कि नयाँ उद्योगहरू पनि उम्रन सक्छन् । जलविद्युत् विकासले आधारभूत उद्योगको विकासलाई टेवा पुर्याउँछ । देशभित्रै औद्योगिक वस्तुको उत्पादन भई आयात प्रतिस्थापन हुन सक्छ । आयातित वस्तुको न्यूनीकरण गर्न जलविद्युत्को विकास अपरिहार्य भएको कुरा टड्कारो छ ।
तेस्रो, पिउने पानीको प्रशोधन । नेपालमा खानेपानी विशेष गरेर मिनरल वाटर विदेशबाट आयात गरिन्छ । नेपाल आफै शुद्ध पिउने पानीको खानी छ । मिनरल वाटरको आयात होइन कि नेपालले निर्यात नै गर्न सक्दछ । खाडीक्षेत्रका देशहरूलाई पानी होइन तेलको खानी दिएको छ । यी मुलुकले तेलको अन्वेषण र उत्खनन गरेका छन् । तेलको प्रशोधनमा विशिष्टीकरण गरेका छन् ।
तेलको निर्यातले यी मुलुकको विकास सम्भव भएको छ । देश विकासले गति एकातिर लिइरहेको छ भने अर्कोतिर ती देशमा बसोवास गर्ने मानिसको जीवनस्तरमा सुधार भइरहेको छ । गरिबभन्दा धनाढ्य मानिसहरूको संख्या बढी छ । यी देशमा बसोवास गर्ने मानिस गरीबीको रेखामुनि रहेका छैनन् । कारण एउटै उनीहरूले आफूसँग रहेको प्राकृतिक स्रोतको उत्कृष्ट उपयोग गरी निर्यात गरिरहेका छन् । मानिसहरू धनाढ्य बन्न सफल भएका छन् । जसरी संसारमा अन्य प्राकृतिक सम्पदाको वितरणमा विषमता छ, त्यसरी नै जलस्रोतको वितरणमा पनि विषमता छ । कहीँ बढी छ भने कहीँ घटी । नेपालले यसको वरदान पाएको छ ।
यो प्राकृतिक साधनको हालसम्म उपयोग गर्न नसकेकोमात्र होइन कि यसलाई उपयोग गरेर नेपाललाई विकसित र समृद्ध बनाउन सकिन्छ भन्ने सोच र विचार पनि हुन सकेको छैन । खानेपानीको क्षेत्रमा विशिष्टीकरणको आवश्यकता छ । यसको प्रशोधनमा विशिष्टीकरण गर्न सकिन्छ । बजारविनाको शुद्ध खानेपानीको प्रशोधन र विशिष्टीकरण कुनै अर्थ रहँदैन । यसका लागि बजार सम्भाव्यताको अध्ययन गर्न जरुरी हुन्छ । नेपालको बजार आफै सानो भएकाले बाह्य बजारको अध्ययन र विश्लेषण गर्न आवश्यक छ ।
खाडीक्षेत्रका मुलुकहरू खानेपानी आयात गर्छन् किनभने यो क्षेत्रमा यथेष्ट खानेपानी उपलब्ध छैन । कारण जताततै मरुभूमि छ । गुणस्तरीय र भरपर्दो शुद्ध खानेपानीको विकास गर्न सके नेपालले पनि अन्य देशहरूमा शुद्ध खानेपानीको निकासी गर्नसक्ने प्रबल सम्भावना छ । तर, यसका लागि शुद्धपानीको उत्पादन पूर्ण प्रतिस्पर्धात्मक खुला बजारको आधारमा गर्न सक्नुपर्छ । यसो गर्नाले यी देशमा मात्र होइन, विश्वका अन्य देशमा पनि निर्यात गर्न सकिन्छ । प्रतिस्पर्धात्मक खुला बजारको अवधारणामा उत्पादन र प्रशोधन गरिने शुद्ध पिउने पानीको गुणस्तर उत्कृष्ट हुन्छ । उद्यमीहरू लगानीको लागि आकर्षित हुन्छन् । रोजगारीको सृजना हुन्छ । नेपालमा उत्पादित शुद्ध पिउनेपानीकोे विश्वका मुलुकमा बजार विस्तार गर्न सकिन्छ ।
अन्त्यमा नेपालले निःशुल्क प्राप्त गरेको जलस्रोतको विकास गरी नेपाललाई विकसित र समृद्ध बनाउन सकिन्छ । यसको विकासका लागि नेपालले आन्तरिक स्रोतका साथै बाह्य स्रोतको परिचालन गर्न सक्नुपर्छ । आन्तरिक र बाह्य दुवै स्रोत परिचालनका लागि अनुकूल नीति तथा कार्यनीतिको तय गर्न जरुरी हुन्छ । सरकारी पक्षले यसमा ठोस कार्य गर्न जरुरी छ । नीति बनेकै हुँदैनन् यदि भए पनि निष्क्रिय हुन्छन् । एक नीतिले अर्कोलाई विस्थापित वा निष्क्रिय बनाउँछ । राष्ट्रिय नीति तथा कार्यनीति कार्यान्वयन हुने वा नहुने सरकारको नेतृत्व गर्ने व्यक्तिकोे हात रहेको हुन्छ । जलस्रोत विकास र उपयोगका लागि जुन नीति तथा कार्यनीति बन्छन् ती विवेकशील र चिरस्थायी हुन जरुरी छ । सरकार फेरबदलले पारदर्शी ढंगले निर्माण भएका नीति तथा कार्यनीति बदल्न नसकोस् । चिरकालसम्म रहिरहने नीति तथा कार्यनीतिले जलस्रोत विकासका लागि आन्तरिक तथा बाह्य लगानीलाई आकर्षण गर्छ ।
लेखक अर्थशास्त्री हुन् ।