बाँके\बाँकेको नेपालगञ्ज उपमहानगरले भूकम्पको उच्च जोखिममा रहेको घरहरूको बीमाको तयारी गरेको छ। उपमहानगरको पुरानो बस्ती तथा कतिपयहरू मापदण्डविपरीत निर्माण भएकाले भूकम्पको अत्यधिक जोखिममा रहेको पाइएको छ।
पश्चिमको कुनै पनि क्षेत्रमा ८ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका तीन हजार घर ध्वस्त हुन सक्ने बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख छ।
भूकम्पीय विपत् तथा पूर्वतयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बमअनुसार उमपहानगरपालिकामा मात्रै ११ हजार ८०० बढी मानिस भूकम्पको जोखिममा रहेका छन्। यसबाट सबै भन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका र अशक्त व्यक्ति पीडित हुनेछन्। भूकम्पलगायत अन्य विभिन्न प्रकारका विपत्बाट जोगिन र जोगाउन उपमहानगरले पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिरहेको छ।
पालिकाले सहरी विपत् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तर्गत पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।
सो परियोजनाका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत् छलफल कार्यक्रम आयोजना गरिएको बताए । नेपालगञ्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज भूकम्पको उच्च जोखिममा रहेकाले जोखिम हटाउन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण भइरहेको जानकारी गराएका छन।