दाङ\ लुम्बिनी प्रदेशमा नेकपा एमालेका नेता लीला गिरीले बुधवार मुख्यमन्त्रीको लागि दाबी पेश गरेका छन् ।प्रदेश सभाको ठूलो दल एमाले संसदीय दलका नेता गिरीले सत्तारूढ एमाले–माओवादीसहित ५८ सांसदको संमर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम २ वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न बुधवार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए ।
कूल ५८ सांसदको समर्थनसहित गठबन्धनले दाबी पेश गरेको एमाले सांसद भूमिश्वर ढकालले जानकारी दिए । गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४ र नागरिक उन्मुक्ति ४, जनमत पार्टीका ३, लोसपाका ३, जसपाका ३, स्वतन्त्र २ सांसदको समर्थन पाएका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।प्रदेशमा कांग्रेसका २७, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सांसद छन् । लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने माओवादी र एमालेबीच सहमति भएको छ ।