१८ बैशाख २०८१, मंगलवार

वित्तीय पहुँचमा समस्या
  • न्युज मानसराेवर

ऋण भन्नाले निश्चित रकम तोकिएको समयमा फिर्ता गर्ने गरी लिइएको रकमलाई बुझाउँछ । नेपालमा ऋण लिने र दिने वित्तीय संघसस्थाका शाखाहरू हजारौं भए पनि आमनागरिकको पहुँच भने पुग्न सकेको देखिँदैन । देशमा बहुदलीय व्यवस्थाको थालनी भएपछि बैंक तथा वित्तीय संघसस्थाहरूको स्थापना हुने क्रम बढेको हो । देशभर छरिएर रहेका बैंकमध्ये सबैभन्दा अग्रणी बैंक नेपाल वाणिज्य बैंक रहेको देखिन्छ । जसको शाखा ५ सय ५२ स्थानीय तहमा पुगेको छ । जबकि नेपालमा जम्मा ७ सय ५३ स्थानीय तह रहेका छन् । वाणिज्य बैंकहरूको सेवा विस्तार ग्रामीण भेगमा पहिले आवश्यकताअनुरूप हुन नसक्दा नागरिकले बैंकबाट नै सेवा लिनसक्ने अवस्था पनि रहेन ।

आज पनि कतिपय मानिसहरूमा बैंक तथा वित्तीय संस्थाहरूमा नै आर्थिक कारोबार गर्नुपर्छ भन्ने जानकारी र शिक्षा छैन । नेपाल राष्ट्र « बैंकको एक सर्वेक्षणले वयस्कको जनसंख्या ७० प्रतिशतभन्दा माथि रहेको देखाएको छ । सरकारले भने वित्तीय पहुँच बढेको, वित्तीय साक्षरता बढेको भनिरहँदा राष्ट्र बैंकको वित्तीय आधार सर्वेक्षणले चाहिँ वयस्क जनसंख्या आर्थिक आवश्यकता पूरा गर्न साहू महाजनकोमा पुग्ने गरेको तथ्य बाहिर आएको छ । त्यतिमात्र नभई साथीभाइ, परिवारमा नै निर्भर रहेको सर्वेक्षणले देखाएको छ । नागरिकलाई वित्तीय सेवाको पहुँच विस्तार गर्न देशभर बैंक तथा वित्तीय सस्थाहरूको शाखा खोल्ने भनिए पनि यथार्थमा त्यो कार्य भने कमजोर रहेको देखिन्छ ।

हजारौं सोझा नागरिकले साहू महाजनबाट चर्को मिटरब्याजमा ऋण वा सापटी लिनुपर्ने बाध्यताको अन्त्य गर्न नै देशभर बैंकिङ सेवाको विस्तार गरे पनि पहुँचका हिसाबले भने ज्यादै कमजोर रहेको देखाएको छ । विगतको भन्दा नेपालमा वित्तीय साक्षरता विस्तार भएको तर पर्याप्त नभएको स्पष्ट हुन्छ । वित्तीय पहुँचमा नपुगेका नागरिकलाई समेट्न प्रभावकारी रूपमा थप काम गर्नुपर्ने देखिन्छ । करीब ४६ प्रतिशत मानिसले सामूहिक समूह अथवा अनौपचारिक समूह मार्फत बचत तथा ऋण प्रयोग गरिरहेका पनि उक्त सर्वेक्षणले देखाएको छ । हाम्रो वित्तीय प्रणाली सीमित वर्ग र क्षेत्रको मानिसको नियन्त्रणमा रहेकाले पनि अन्य नागरिकको पहुँच नपुगेको देखिन्छ ।

पछिल्लो समय औपचारिक शिक्षाको पहुँच विस्तार भएका कारण पनि अधिकांश मानिसमा वित्तीय ज्ञान वृद्धि नभएको पाइएको छ । सर्वेक्षणले नेपालीहरूको समग्र राष्ट्रियस्तरमा हेर्ने हो भने साक्षरता ५७ विन्दु ९ प्रतिशत रहेको छ । यसका साथै वित्तीय ज्ञान, वित्तीय व्यवहार र वित्तीय मनोवृत्ति गरी तीनओटा आयामलाई समेटेर वित्तीय साक्षरताको स्तर मापन गरिएको छ । तथ्यांकअनुसार वित्तीय ज्ञान ४७ विन्दु ३ प्रतिशत, वित्तीय व्यवहार ६३ विन्दु ५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२ विन्दु ९ प्रतिशत रहेको छ । वित्तीय साक्षरतामा सबैभन्दा बढी अंक बागमती प्रदेशको ६४ विन्दु ५ प्रतिशत रहेको छ भने सबैभन्दा कमचाहिँ मधेश प्रदेशको ५२ मात्र रहेको छ ।

यसरी प्रदेश बीचमा फरक अवस्था देखिनुको कारणमा प्रदेशहरूमा हुने गरेको वित्तीय ज्ञानमा रहेको भिन्नता नै हो । तर, वित्तीय व्यवहारको र वित्तीय मनोवृत्तिको अवस्था भने सातवटै प्रदेशमा लगभग एउटै रहेको सर्वेक्षणले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच विस्तारका लागि विभिन्न काम गरिरहेको छ । नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय वित्तीय सेवा पुर्‍याउनु केन्द्रीय बैंकको एक महत्वपूर्ण उद्देश्य रहेको छ । यसको लागि केन्द्रीय बैंकले एकातिर वित्तीय संस्थाहरूको सेवा विस्तारको साथै सेवाको गुणस्तर अभिवृद्धिमा ध्यान दिएको हुन्छ भने अर्कोतर्फ नागरिकमा वित्तीय साक्षरता लगायत वित्तीय सेवा उपयोग अभिवृद्धि गर्न जानकारीमूलक र चेतनामूलक कार्यक्रमहरू सञ्चालनमा ल्याएको हुन्छ ।

सामान्यतया वित्तीय पहुँचको मापनबाट नागरिकको वित्तीय सेवामा पहुँचको स्तर पहिचान हुन्छ । वित्तीय सेवामा नागरिकको पहुँच पुग्न वित्तीय संस्थाहरूको विस्तार हुनुको साथै वित्तीय उपकरणको उपलब्धता हुनु आवश्यक छ । नागरिकमा वित्तीय सेवाको उपयोग गर्ने चाहना र आवश्यकता दुवै हुनु पर्दछ । अर्थात् वित्तीय पहुँच सुनिश्चित हुन वित्तीय सेवाको आपूर्ति र माग दुवै पक्ष सुदृढ हुन जरूरी रहेको छ । सामान्यतया, वित्तीय पहुँचको आकलनमा मुलुकको जनसंख्या र बैंक शाखा अनुपात हेर्ने प्रचलन रहेको पाइन्छ ।

यो अनुपात घट्दै जाँदा वित्तीय पहुँच बढ्दै गएको अनुमान गरिन्छ । यसबाहेक वित्तीय उपकरणहरू खासगरी निक्षेप र कर्जाको खाता संख्या तथा डेबिट कार्ड र क्रेडिट कार्ड आदिको उपयोगको विश्लेषणबाट पनि वित्तीय पहुँचको मापन गर्ने प्रचलन रहेको छ । यस आधारमा केन्द्रीय बैंकले बैंक शाखा, प्रदेशगत बैंक तथा वित्तीय संस्थाको उपस्थिति, स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति र नेपाली नागरिकका व्यक्तिगत निक्षेप खाता संख्याको आधारमा अध्ययन गरी वित्तीय पहुँचको मापन तथा विश्लेषण गर्ने गर्छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा रहेको निक्षेप खाताहरूको विवरण संकलन गरी नागरिकले खाता खोल्दा बैंकमा पेश गर्ने तीनपुस्ते विवरणको आधारमा एक व्यक्तिको एक मात्र निक्षेप खाता कति छ भन्ने यकिन गर्ने गरिएको छ । यसरी राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा अध्ययन गरेको पाइन्छ ।यसरी हेर्दा वित्तीय पहुँच पर्याप्त छैन भन्ने देखिन्छ । बैंक र बैंक खाताले मात्रै वित्तीय पहुँचको लक्ष्यलाई पूरा गर्न सक्दैन । त्यसैले वित्तीय पहुँचसँग वित्तीय साक्षरताको पनि उत्तिकै महत्त्व रहेको छ । वित्तीय साक्षरताका लागि जति खर्च भएको छ त्यसको अनुपातमा साक्षरता बढाउन सकिएको छैन । अर्थात् व्यवहारमा त्यसले असर पारेको देखिँदैन ।

लेखक विश्वशान्ति क्याम्पसमा समाजशास्त्र विषय अध्यापन गर्दछन् ।

  • १ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech