बाँके\आइतवार आठौं राष्ट्रिय योग दिवस नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसवर्ष स्वस्थ जिवनको चाहना योग शिक्षा र साधना भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।योग समिति नेपालको केन्द्रिय कार्यालयबाट आज बिहान निस्केको र्याली सेतु विक चोक न्युरोड, त्रिभुवन चोक, चारवाहिनी हुँदै नेपालगञ्ज उपमहानगरपालिका पुगेर योगाभ्यास गरिएको थियो । र्यालीमा योगगुरु, योग प्रशिक्षकलगायत योग प्रेमिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
योगगुरु गिरीराज भट्टराइको सभापतित्वमा कार्यक्रम गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा योग समिति नेपालका सल्लाहकार विश्वजित तिवारी, नन्दलाल वैश्य, डा रोमा वोहरा, डा दिनेश चौधरी लगायतको उपस्थिती रहेको थियो ।
योग समिति नेपालकी सचिव निर्मला शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले योग मानव स्वास्थ्यका लागि शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएको हुँदा सबैले योग गर्ने जरुरी रहेको बताए ।उनले केहि वर्ष पछि नेपालगञ्ज नगरलाई योगमय बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले योग समिति नेपालले बिभिन्न वडामा सचेतना फैलाएर योगाभ्यास गरिरहेकोले नेपालगञ्ज उपमहानगरपालिका अब योगीहरुको सहर भनेर पनि चिन्न धेरै समय नलाग्ने बताए ।यस्तै योग समिति नेपालका सल्लाहाकार नन्दलाल वैश्यले योग एउटा यस्तो अभ्यास हो जोकसैलाई दिन पनि नमिल्ने र कसैबाट लिन पनि नमिल्ने भएको हुँदा आफुले गरे मात्र आफनो शरीरलाई फाइदा हुने बताए ।
पछिल्लो समयमा योगतर्फ मानिसहरु आकर्षित भइरहेको योग गुरु गिरीराज भट्टराइले बताए । योग समिति नेपालका सदस्य झबि शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।