११ बैशाख २०८२, बिहीबार

चैतेधान खेतीमा आकर्षण बढाउने योजना प्रदर्शनीमार्फत
  • रासस

बाँके\दुई वर्षदेखि बाँकेका किसानहरूले चैतेधान उत्पादन गर्न थालेका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन शुरू गरेपछि ती क्षेत्रमा चैतेधान उत्पादन थालिएको हो ।

वर्षेधान सीमित मात्रामा उत्पादन हुँदा भारतबाट ठूलो परिमाणमा चामल आयात गर्नुपर्ने भएपछि वैकल्पिक धानको उत्पादनमा जोड दिइएको परियोजना कार्यान्वयन इकाई नेपालगञ्जका प्रमुख राकेश ओझाले बताए ।परियोजना सञ्चालन भएको पकेट क्षेत्रमा किसान छनोट गरी उनीहरूलाई धानको बीउ, विषादी र मलखाद निःशुल्क उपलब्ध गराइएको छ ।

पकेट क्षेत्रमा हर्दिनाथ र हाइब्रिड-१ नामक धानको खेती हुने गरेको छ । हाल धान जोन कार्यक्रम सात हेक्टर जमिनमा छ । यसलाई अझै विस्तार गर्ने लक्ष्य रहेको परियोजना इकाई कार्यान्वयन कार्यालयले जनाएको छ । ‘किसानलाई प्रविधिबारे जानकारी दिँदै धान जोनमा विभिन्न बालीको प्रदर्शनी गरेर आकर्षण बढाउने योजना छ,’ ओझाले भने ।उनले किसानलाई कृषि यान्त्रिकीकरणमा ५० प्रतिशत, साना सिँचाइमा ५० प्रतिशत र आधुनिक मेसिनमा ५० प्रतिशत सुविधा उपलब्ध गराइएको जानकारी दिए ।

उनका अनुसार अहिले किसानलाई साना सिँचाइ र मलको आवश्यकता छ ।जिल्लाको बैजनाथ गाउँपालिका वडा २, ३ र ४ को नौवास्ता, ७ को वनकटवा, वडा ८ को टिटिहिरियामा ७ हजार ४२३ घरधुरी धान जोन कार्यक्रममा संलग्न छन् ।जानकी गाउँपालिका–१ को साइगाउँ, वडा नं २ को बेलाभार, वडा नं ३ को नेपालगञ्ज र वडा नं ४ को खजुराखुर्दका ४ हजार ७८७ घरधुरी छन् ।त्यस्तै खजुरा गाउँपालिका वडा नं २ को खजुराखुर्द, वडा नं ४ को सीतापुरमा गरी ३ हजार ३४४ घरधुरी सो कार्यक्रममा संलग्न भएको परियोजना कार्यान्वयन इकाईले जनाएको छ ।

धान जोन समन्वय समितिका संयोजक सर्वजित विष्टले वर्षेधानभन्दा चैतेधानको उत्पादकत्व बढी भएको बताए । उनले किसानलाई ७५ प्रतिशत अनुदानमा सिँचाइ योजना उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्दै नहर भएको ठाउँमा खेती सफल हुने बताए । धानको बिक्रीवितरणका समयमा बिचौलियाले धेरै नाफा लिने भएकाले बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने किसानहरूको भनाइ छ ।

  • १८ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech