१२ मंसिर २०८१, बुधबार

विकासमा सबैको सहकार्य आवश्यकःमन्त्री नमुना
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सरकारकी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना)ले विकासमा कसैले राजनीति गर्न नहुने बताएकी छन।खजुराको सैनिकमा सोमबार ४१औं मगर संघ स्थापना दिवस तथा मगर एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै (नमुना)ले   उक्त कुरा बताएकी हुन।

मन्त्री केसीले विकासमा राजनीति नभएर सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन।
‘विकासमा राजनीति होइन, सबैको सहकार्य अहिलेको आवश्यकता हो’ उनले भनिन , ‘म पनि जुनसुकै राजनीतिक दलमा रहेपनि विकासमा राजनीति गर्दैन । विकासका काममा सबैसँग समन्वय र सहकार्य गर्छु ।’

जिल्लाकै अर्को स्थानबाट निर्वाचन जितेपनि खजुरा क्षेत्रको विकासमा आफुले पहल गर्ने मन्त्री केसीले प्रतिवद्धता समेत जनाइन।

‘खजुरा क्षेत्र मेरो राजनीतिको आधारभूमी समेत हो । मैले खजुराबाट नै राजनीति सुरु गरेकी हुँ’ उनले भनिन , ‘खजुरा क्षेत्रको बारेमा म जानकार छु । स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर यहाँको विकासको लागि पहल गर्छु ।

’आफु अहिले केही गर्नसक्ने स्थानमा पुगेको भन्दै मन्त्री केसीले खजुरासहित बाँकेको लागि आफुले गर्नसक्ने भूमिका निभाउन तयार रहेको बताइन। ‘अहिले म केही भएपनि गर्नसक्ने ठाउँमा पुगेकी छु । सबैको सहकार्यमा म काम गर्छु’ उनले  भनिन , ‘खजुराको स्थानीय सरकारले गर्न नसक्ने काम प्रदेशबाट गर्न तयार छु । प्रदेशबाट पनि हुन नसक्ने कामको समन्वय संघीय सरकारसँग गरेर गर्ने प्रतिवद्धता जनाउन चाहान्छु ।’

अर्को प्रसंगमा मन्त्री नमुनाले नेपालमा अहिलेको व्यवस्था परिवर्तनमा मगर समुदायको समेत महत्वपूर्ण भूमिका रहेको बताइन।
‘नेपालमा विभिन्न कालखण्डमा भएका व्यवस्था परिवर्तनमा मगर समुदायको भूमिका हामीले बिर्सन हुँदैन’ उनले भनिन ,‘प्रजातन्त्रदेखि गणतन्त्र आउँदासम्म उहाँहरुको भूमिका धैरे छ ।’ नेपालमा मात्र नभएर विदेशी भूमीमा समेत मगर समुदायको आफ्नै प्रतिष्ठा रहेको मन्त्री केसीले दाबी गरेकी छन।

  • १५ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech