२२ बैशाख २०८२, सोमबार

रोक्यो भारतले नेपालको जडीबुटी निकासी
  • न्युज मानसराेवर

बाँके\भारततर्फ निकासी गर्ने गरी दुई वर्षअघि खरिद गरिएको सात सय टन जडीबुटी निकासी हुन नसक्दा सड्ने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् ।भारतीय प्लान्ट क्वारेन्टाइनले १६ प्रकारका जडीबुटीलाई निकासी सूचीमा नसमेटेकाले निर्यात हुन नसकेको जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले  बताएका छन।

निर्यातका लागि तयार गरिएको जडीबुटी अलपत्र हुँदा व्यवसायीको करोडौँ रुपियाँ नोक्सान हुने अवस्था आएको भन्दै सरकारले निर्यातको वातावरण बनाइदिनुपर्ने  उनको माग छ । शर्माका अनुसार जटामसी मार्क, अमला, सिकाकाई, तिगेडी, कुट्की, दालचिनी, पाखनभेद, चुत्रो बोक्रा, चुत्रो काठ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, अमलवेद र टिमुरलगायत १६ प्रकारका जडीबुटीको निकासी बन्द भएको छ ।

जडीबुटी व्यवसायी सङ्घका महासचिव भानुभक्त रिजालले नेपाली जडीबुटीको ८० प्रतिशत बजार भारत नै भएकाले निकासीमा हुने अड्चन हटाउने विषयलाई पनि प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा बनाउनुपर्ने उल्लेख गरेका छन। निकासी रोकिएपछि गोदाममा थन्किएका अधिकांश जडीबुटी कुहिन थालेको व्यवसायी मोहम्मद याकुब अन्सारीले जानकारी गराए ।

भारतीय रोकावटका कारण नेपालगञ्जबाट हुने जडीबुटी निर्यात बर्सेनि घट्दै छ । सङ्घका अनुसार आव २०७७÷७८ मा नेपालगञ्ज हुँदै ४२ थरीका ४५ लाख १८ हजार ७७७ केजी जडीबुटी निकासी भएको थियो । आव २०७८/७९ मा घटेर ४२ लाख २० हजार २२८ केजी जडीबुटी निर्यात भएको थियो । बाँकेमा जडीबुटीसम्बन्धी १२ उद्योग छन् । नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएका ३० प्रकारका जडीबुटी नेपालगञ्ज ल्याएर भारततर्फ निकासी हुँदै आएकामा निकासीमा अवरोधले व्यवसाय नै धरापमा परेको व्यवसायीको गुनासो छ ।

  • १४ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech