१५ असार २०८२, आईतवार

बाँकेमा एचआईभी सङ्क्रमितबाट जन्मिएको शिशु सङ्क्रमणमुक्त
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्जस्थित भेरी अस्पतालको एआरटी सेन्टरमा नियमित औषधि सेवन गर्दै आएका एचआईभी सङ्क्रमित महिलाबाट जन्मिएका पाँच जना शिशु सङ्क्रमणमुक्त रहेको पाइएको छ।

पछिल्लो डेढ वर्षयता सङ्क्रमितबाट जन्मेका १८ महिनाभन्दा कम उमेरका पाँच जना शिशु पूर्ण स्वस्थ र सङ्क्रमणमुक्त रहेको  भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले जानकारी गराएका छन।

उनका अनुसार अस्पतालबाट नियमित औषधि सेवन गर्दै आएकामध्ये पाँच जना आमाबाट जन्मिएका १८ महिनामुनिका शिशु एचआईभी सङ्क्रमणमुक्त रहेका छन्।  यहाँ २०६२ फागुनमा रोग प्रतिरोधक क्षमता अभिवृद्धि केन्द्र अर्थात् एआरटी सेवा सुरु गरिएको थियो। सो एआरटी युनिटमा नेपाली र भारतीय गरी ५६० जना सङ्क्रमित उपचारका लागि नियमित आउने गरेका छन्।

तीन छोराछोरीकी आमा दीपिका थापा (नाम परिवर्तन)ले नियमित औषधि सेवन गरियो भने आमाबुवा सङ्क्रमित भए पनि स्वस्थ बच्चा जन्मिने रहेछ भन्ने उदाहरण आफू नै बनेको जनाएका छन।

“एचआईभी सङ्क्रमित भएपछि मान्छे मरिहाल्छ भन्ने सुनेकी थिएँ, उनलेभने , “तर त्यसो होइन रहेछ औषधि नियमित सेवन गर्ने र जीवनशैलीलाई बदल्ने हो भने अरू मानिसजस्तै सहज जीवनयापन गर्न सकिने रहेछ।” चिकित्सकको सल्लाहअनुसार नियमित एआरटी सेवा लिएका महिलाले जन्माएका धेरै बच्चामा एचआईभी सङ्क्रमण नेगेटिभ देखिने गरेको अस्पतालले जनाएको छ। भेरी अस्पतालका एचआईभी फोकल पर्सन डा. रिसालले एआरटी सेवा लिने क्रम बढेपछि एचआईभी सङ्क्रमणबाट मृत्यु हुने दर पनि घटेको बताए ।

सङ्क्रमितलाई बाँचुन्जेल दिनको एक पटक टीडीएफ–३ डीसीईएफभी नामक औषधि खुवाउने गरिन्छ। यस्ता आमाबाट जन्मिएका शिशुलाई जन्मिएको ७२ घण्टाभित्रै प्रोफायल एक्सिस नामक औषधि खुवाउने गरिन्छ।

नियमित औषधि खुवाएर १८ महिनापछि बच्चाको एचआईभी अवस्था जाँच गरिन्छ। सबैको नतिजा राम्रो रहेको भेरी अस्पतालका एचटीसी काउन्सिलर होमनाथ सुवेदीले बताए । उनले चिकित्सकले सन्तानको चाहना राख्ने आमाबुवालाई पीएमटीसीटी सेवा लिन सुझाव दिने गरेको बताए ।

  • २३ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech