१५ असार २०८२, आईतवार

एक वर्षमा ५०७ महिला र बालबालिकाको उद्धार
  • न्युज मानसराेवर

बांके/खुला सिमानाको लाभ उठाउँदै नेपालका महिला तथा बालबालिकालाई ललाई फकाई नाका पार गराएर भारतका विभिन्न सहरमा पुर्‍याउने कार्य निरन्तर जारी छ ।

मानव बेचबिखनको अत्यधिक जोखिममा रहेको नेपालगञ्जस्थित जमुनाहा नाकामा प्रहरी र विभिन्न सङ्घसंस्थाले निगरानी बढाएर कडाइ गरे पनि विभिन्न तरिकाले महिला र बालबालिकालाई नाका पार गराउने कार्य रोकिएको छैन ।

मानव बेचबिखन रोक्ने कार्यमा सक्रिय गैर सरकारी संस्था माइती नेपालले बाँकेको जमुनाहा नाकाबाट गत एक वर्षको अवधिमा ५०७ जना महिला र बालबालिकाको उद्धार गरेको जनाएको छ ।

माइती नेपालको नेपालगञ्ज कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत एक वर्षको अवधिमा जोखिमपूर्ण अवस्थामा नाका पार गर्न लागेका ५०७ जना महिला र बालबालिकालाई जमुनाहा नाकाबाट नेपाल प्रहरी समेतको सहयोगमा उद्धार गरिएको जनाइएको छ ।

माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले विभिन्न बहाना र प्रलोभन दिएर पश्चिम नेपालका दाङ, सुर्खेत, सल्यान, दैलेख र जाजरकोट लगायतका जिल्लाबाट ल्याई नाका पार गराउन लाग्दा ५०७ जनाको उद्धार गरेर घर पठाइएको जानकारी लगाए ।

उनले उक्त अवधिमा भारत तथा खाडी मुलुक समेतबाट बेचबिखनमा परेका १० जना महिलालाई ती मुलुकमै पुगेर उद्धार गरेर ल्याइएको बताए ।

विभिन्न जिल्लाबाट हराएका ७१२ जना महिला र बाालिकाको खोज तलास तथा उद्धारको निवेदन परेकोमा खोज तलास गर्दा २४६ जना फेला परेको संयोजक कोइरालाले बताए ।

अझै पनि ४६६ जनाको अवस्था अज्ञात रहेकाले उनीहरूको पनि खोजी कार्य विभिन्न माध्यमबाट जारी रहेको उनले बताएका छन।

बेचबिखनमा सक्रिय दलालहरूले बेला बेलामा नयाँ नयाँ तरिकाको प्रयोग गरेर नाका पार गराउने कार्य गर्दै आएकाले पनि नियन्त्रणमा समस्या हुने गरेको मानव बेचबिखन नियन्त्रणमा सक्रिय अर्को संस्था शक्ति समूहले जनाएको छ ।

समूहले नाकामा कडा निगरानी गर्नुका साथै विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको समूहकी अध्यक्ष चरिमाया तामाङले जानकारी गराईन।

समूहले नाकामा सात वटा सिसी टिभी क्यामेरा पनि जडान गरेको जनाउँदै बेचबिखन रोक्ने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताईन।

मानव बेचबिखन रोक्न समय समयमा नेपाल र भारतका सुरक्षा अधिकारीहरूसँग छलफल तथा संवाद कार्यक्रम पनि गर्ने गरिएको माइती नेपालले जनाएको छ ।

  • ३० चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech