१५ असार २०८२, आईतवार

लुम्बिनी प्रदेशका आयोजना किरणनालाको पुल निर्माणमा ढिलाइ
  • न्युज मानसराेवर

बाँके\बाँकेमा लुम्बिनी प्रदेश सरकारको बजेटमा निर्माण सुरु भएको पक्की पुलको निर्माणमा ढिलाइ भएको छ । पुल निर्माणमा ढिलाइ भएपछि वर्ष दिनभन्दा बढी समयदेखि नागरिकलाई आवागमनमा असहज भएको छ ।

किरण नाला अन्तर्गत खजुरा र जानकीमा निर्माण भइरहेका चार वटै पुलको निर्माणमा ढिलाइ भएको छ । खजुरा गाउँपालिका –२ सीतापुरस्थित किरण नाला पुल र खजुरा गाउँपालिका –४ चल्तुवा र जानकी गाउँपालिका –४ छत्रपुर जोड्ने किरण नाला पुल निर्माणमा ढिलाइ भएको छ ।

यसैगरी खजुरा गाउँपालिका –४ सिर्जना टोलस्थित किरण नालामा निर्माण भइरहेको पक्की पुलको निर्माण कार्य समेत सन्तोषजनक हुन नसकेको स्थानीयको गुनासो छ । सम्झौताअनुसार सीतापुरमा निर्माणाधीन पुल निर्माणको समय सकिएपछि फेरि असार २५ गतेसम्मका लागि म्याद थप भएको छ ।  निर्माण व्यवसायीले समयमै काम अघि नबढाउँदा पुल निर्माण समयमै हुन नसकेको कार्यालयका प्राविधिक अधिकृत ओमप्रकाश पौडेलले जानकारी गराएका छन।

सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जका अनुसार आर्थिक वर्ष २०७७–७८ मा सम्झौता भई निर्माण सुरु भएका खजुरा गाउँपालिका –२ सीतापुरस्थित किरण नाला पुल, खजुरा र जानकी गाउँपालिका जोड्ने खजुरा –४ चल्तुवास्थित किरण नाला पुल र बैजनाथ गाउँपालिकाको ‘जी’ गाउँस्थित बनखेतमा जेठीनाला पुल हुन् । तीमध्ये जेठीनाला पुल निर्माण कार्य मात्रै हाल सन्तोषजनक  रहेको बताइएको छ।

जेठीनाला पुलमा हाल अन्तिम चरणको काम भइरहेको छ । चल्तुवास्थित किरण नाला पुलको सतहमा गरिएको निर्माण कमजोर देखिएकाले फेरि सोही काम थालिएको छ । आर्थिक वर्ष २०७८–७९ मा सम्झौता भएका खजुरा –४ सिर्जना टोलस्थित किरण नाला पुल, खजुरा –१ सैनिक रामपुरे डाँडास्थित किरण नाला पुलको निर्माणमा समेत ढिलाइ भएको छ ।

प्रदेश सरकारले सुरु गरेकामध्ये डुडुवा बेतहनीस्थित डुडुला खोला पुल र जानकीको साइगाउँस्थित दोन्द्रखोलाको पुलको मात्रै निर्माण सम्पन्न भएको छ ।  निर्माण व्यवसायीले होलिडे तथा निर्माण सामग्रीको मूल्य वृद्धिको कारण देखाउँदै गत वर्ष काम नै नगरेपछि पुलहरूको निर्माण कार्य समयमै पूरा हुन नसकेको सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जले जनाएको छ ।

  • ५ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech