८ मंसिर २०८१, शनिबार

लुम्बिनीका भ्रमण गन्तव्य
  • न्युज मानसराेवर

बुटवल\तराईको समथर भूभाग, पहाडका सुन्दर थुुम्का अनि हिमाल। लुम्बिनीमा घुम्नलायक यस्ता थुप्रै ठाउँ छन्। भ्रमण गर्न चाहनेका लागि लुम्बिनी प्रदेश उचित गन्तव्य हो। बुद्ध जन्मथलो छ यहाँ। नेपालको १० वर्षे जनयुद्ध स्थल रोल्पाको थवाङ पनि यहीँ छ। पर्यटकलाई लोभ्याउने यस्ता अनेक ठाउँ छन् लुम्बिनीमा।

नवलपरासी सुुस्ता पश्चिम, रूपन्देही, कपिलवस्तुु, दाङ, बाँके र बर्दिया तराईका जिल्ला हुन्। पाल्पा, गुुल्मी अर्घाखाँची, प्युठान पहाडी जिल्ला हुन् भने रोल्पा र रुकुम पूर्व हिमाली जिल्लामा पर्छन्। तराई, पहाड र हिमालको भोगौलिक विविधाअनुसारकै घुम्ने स्थल पनि छन्।

बुुद्ध जन्मस्थल र विश्व शान्तिको मुहान

लुम्बिनी शान्तिका अग्रदूूत गौतम बुद्धको जन्मभूमि हो। यो विश्वभरिका बौद्ध धर्माम्बलम्बीहरूको आस्थाको केन्द्र त हो नै,  नेपालको प्रमुख पर्यटकीय र धार्मिक स्थल पनि हो। बौद्धमार्गीहरू जीवनमा एकपटक लुम्बिनी पुगेकै हुन्छन्।

लुम्बिनीकै नामबाट प्रदेश नै नामकरण भएको हो। लुम्बिनी सन् १९९७ मा विश्व सम्पदामा सूचीकृत भएको छ। यसको विकास र सम्पदा संरक्षणका लागि लुम्बिनी विकास कोषले काम गर्दै आएको छ।

आन्तरिक र बाह्य पर्यटकका लागि मायादेवी मन्दिर अर्को आकर्षण हो। प्राचीन शाक्यको राजधानी कपिलबस्तुुबाट मायादेवी बच्चा जन्माउनकै लागि देवदह माइत हिँडेको बेला लुम्बिनीग्राम (लुम्बिनी) मा सिद्धार्थ गौतमको जन्म भएको बौद्धग्रन्थमा उल्लेख छ।

मन्दिरमा मायादेवीको प्राचीन मूर्ति छ। सन् १९६६ मा सघन उत्खननबाट पत्ता लागेको जन्म स्मारक, ईसापूर्व २४९ मा सम्राट अशोकले स्थापना अशोक स्तम्भ, पवित्र पोखरी यहाँका हेर्नैपर्ने स्थल हुन्। त्यस्तै मायादेवी मन्दिरमा पाँचौँदेखि सातौँ शताब्दीसम्मका भग्नावशेष छन्। त्यतिमात्रै होइन, सुन्दर बगैँचा, शान्तिदीप, दक्षिणतर्फ दायाँ र बायाँतर्फ विहार क्षेत्र छुट्याएको नहरले पर्यटकलाई लोभ्याउँछ। ३ किमि क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा साना सवारीसाधन र रिक्सामा मज्जाले भ्रमण गर्न सकिन्छ।

बुद्धत्वप्राप्त गर्नुअघि सिद्धार्थ गौतमले २९ वर्ष बिताएको ऐतिहासिक तिलौराकोट दरबार पनि लुम्बिनीमा भ्रमण गर्नुपर्ने अर्को महत्त्वपूर्ण ठाउँ हो। लुम्बिनीबाट २२ किमि दूर क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थान निग्लिहवा रहेको छ। हजारौँ शाक्यको नरसंहार गरिएको सगरहवा, कुदान, अरौराकोट, सिसहनिया, कपिलधाम र जगदीशपुर तालजस्ता महत्त्वपूर्ण ठाउँ पनि यहाँ छन्। बुद्धको अस्तुधातु रहेको रामग्राम र बुद्धको मावली देवदह पनि प्रदेशका घुम्नुपर्ने ठाउँ हुन्।

लुम्बिनी जान गौतमबुुद्ध अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गर्न सकिन्छ। भैरहवाबाट २२ किमि पश्चिममा अवस्थित लुम्बिनी पुग्न सार्वजनिक सवारी सजिलै पाइन्छन्। त्यहाँ बास बस्न पर्यटकको सुविधा अनुसारका होटल प्रशस्त छन्।

प्रेमको प्रतीक रानीमहल 

लुम्बिनी प्रदेशको महत्त्वपूर्ण पर्यटकीय स्थलमध्ये एक हो, रानीमहल। कतिपयले यसलाई ‘नेपालको ताजमहल’ पनि भन्ने गर्छन्। पाल्पाको तानसेन नगरपालिका वडा न. १३ मा अवस्थित छ रानीमहल।

पाल्पा र स्याङ्जाको संगमस्थल कालीगण्डकी किनारमा रहेको रानीमहल तत्कालीन पाल्पा राज्यका राजा खड्गशमशेरले आफ्नी दिवंगत पत्नी तेजकुमारीको सम्झनामा बनाएको इतिहास छ। १९५० सालमा शिलान्यास गरी १९५४ सालमा कालिनदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमुनाले सिंगारेर बनाइएको छ।

                                                                        रानीमहल

प्रेमका प्रतीक मानिने रानीमहल पर्यटकका लागि राम्रो गन्तव्य हो। तानसेनबाट १३ किमिको दूरीमा रहेको यस ठाउँमा अहिले सडक कालोपत्रे भएकाले सजिलै पुग्न सकिन्छ।

र्‍याफ्टिङ गर्न चाहनेले कालीगण्डकी नदी किनारमा त्यसमा रमाउन सक्छन्। रानीमहललाई साक्षी राखेर रात बिताउने पर्यटक पछिल्लो समय बढेका छन्। खाजा, खाना र बासका लागि होटलसमेत छन्। दिनभरि घुमेर तानसेन आएर बस्न पनि सकिन्छ। बुुटवल, भैरहवाबाट बिहान गएर घुमेर साँझ फर्कन पनि सकिन्छ।

धार्मिक स्थल सुपादेउराली 

गोरुसिंगे–सन्धिखर्क सडक खण्डमा पर्ने सुुपादेउराली धार्मिक स्थल हो। नरपानी र फलामे दुवै अग्ला महाभारत पर्वत श्रृंखलाको बीचमा झण्डै ४५०० फिटको उचाइमा यो मन्दिर छ। यहाँ भाकल र दर्शन गरेपछि आँटेको काम सफल हुने किंवदन्ती छ। खोँचमा रहेको मन्दिरमा भाकल गर्ने र भाकल चढाउनेको घुइँचो लाग्ने गर्छ। मन्दिरमा बलि दिने चलन छ।

त्रेता युगमा देवी सीताले बनाएको चुलो, जाँतो आदि शिला यहाँ हेर्न सकिन्छ। यसबाट त्रेतायुगदेखि नै यहाँ शक्ति थियो भन्ने जनविश्वास छ। एकादशी, औँसी, कृष्ण जन्माष्टमी, ऋषिपञ्चमी, शिवरात्री, रामनवमी, श्रीपञ्चमीलगायत पर्वमा पूजा गर्ने र भेटी चढाउनेको भीड लाग्छ। नर्तनाञ्चल पहाडसँग जोडिएको खाँचीमा त्यहाँका राजाको दरबारको भग्नावशेषसमेत छ। यसैसँग जोडिएको मसिनाको लेक र सेङ्लेङ दह पर्यटकीय केन्द्रको रूपमा रहेको छ।

गुुल्मीको शिर रेसुङ्गा

पहाडको शिरमा रहेको पर्यटकीय स्थल हो, रेसुुङ्गा। धार्मिक, ऐतिहासिक, पर्यटकीय ठाउँको रूपमा यो प्रख्यात छ। प्राचीन युगमा धेरै ऋषि महार्षिले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको मान्यता छ। त्रेता युगमा महर्षि ऋषि श्रृङले यहाँ आश्रम बनाइ साधना गरेकाले उनकै नामबाट रेसुङ्गा नामकरण भएको किंवदन्ती छ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारदेखि माथि शिरोभागमा रहेको रेसुङ्गाबाट हरियाली र तराईका फाँट देख्न सकिन्छ। भारतको भूूभागसम्म देखिन्छ।

तम्घासलाई काखैमा राखेर आफू शिरमा बसेको रेसुङ्गा पुुग्दा जोकोही आनन्दित हुुन्छ।  समुद्री सतहबाट २३४० मिटर उचाइमा रहेको यो ठाउँ जैविक विविधताले भरिपूर्ण छ। सिद्धस्थान, विष्णुपादुका, यज्ञशाला, महापोखरी, फूलबारी, सानो रेसुङ्गा, साउने, मैरा, कान्छा प्रभुको तपस्यास्थल, गौशालालगायत दर्शनीय स्थल छन् यहाँ। रेसुङा जान तम्घासबाट गाडी पाइन्छ। पैदल यात्रा गर्नेका लागि समेत यो उपयुक्त थलो हो।

बागेश्वरी र स्वर्गद्वारी  

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल हो। लुम्बिनी प्रदेशको ऐतिहासिक सहर नेपालगञ्जको यो मन्दिर निकै चर्चित छ। यो मन्दिरमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ।

यस मन्दिरमा पूजाआजा गर्न छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने गर्छन्। नेपालगन्ज वार्ड नं.२ मा अवस्थित बागेश्वरी मन्दिर लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण ठाउँ हो।

                                      नेपालगञ्ज बागेश्वरीमा रहेको जुँगेमहादेवको मन्दिर

हिन्दू धर्मावलम्बीबाहेक अन्य धर्मका मानिस पनि बागेश्वरी मन्दिर आउने गरेका छन्। प्यागोडा शैलीमा निर्मित तीनतले यो मन्दिर पशुपतिनाथ मन्दिरको शैलीमा बनेको जस्तो देखिन्छ। मन्दिरको आधार तह वर्गाकार परिधिमा बनेको छ। आधार तहको चार दिशामा मन्दिर प्रवेशको लागि भर्‍याङ बनाइएका छन्। चारै दिशामा प्रवेशद्वार बनाइए पनि पूर्व, उत्तर र दक्षिणको प्रवेशद्वार खुला रहन्छन् भने पश्चिमको बन्द रहन्छ। भर्‍याङ दायाँबायाँ धातुद्वारा निर्मित सिंह स्थापित छन्।

                                               स्वर्गद्वारी

प्रदेशको अर्को धार्मिक स्थल हो, प्युठानको स्वर्गद्वारी। उपत्यकाबाहिर रहेका विभिन्न तीर्थस्थलमध्ये स्वर्गद्वाराी आश्रमलाई लिइन्छ। प्युठानको सदरमुकाम खलंगा बजारबाट करिब २५ किमि टाढा पश्चिम–उत्तर करिब ६९६० फिट उचाइमा छ। डाँडामा रहेकाले शीतल हावापानी छ। सय वर्षभन्दा अघिदेखि स्थापना गरिएको यज्ञकुण्डको अग्नि निरन्तर प्रज्वलित छ। यहाँ बाह्रै महिना अहोरात्र यज्ञ चलिरहन्छ। नेपालीसँगै भारतीय श्रद्धालुका लागि गतिलो गन्तव्य हो, स्वर्गद्वारी।

राष्ट्रिय निकुञ्जदेखि सिस्ने हिमालसम्म

लुम्बिनी प्रदेशमा दुई राष्ट्रिय निकुञ्ज छन्, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज। बाँके राष्ट्रिय निकुञ्ज २०६७ सालमा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित गरिएको थियो। यहाँ जैविक विविधताको दृष्टिले आठवटा इकोसिस्टम, १ सय २४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ किसिमका उभयचर पाइन्छन्। यहाँ दुर्लभ चरा पनि छन्।

बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किमि क्षेत्रलाई समेटेर निकुञ्जसँगै यसको मध्यवर्ती क्षेत्रको पनि घोषणा भएको थियो। यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा ठूला वन्यजन्तुको लागि एकदमै महत्त्वपूर्ण बासस्थानको रूपमा रहेको छ।

बाँके राष्ट्रिय निकुञ्जमा हिँडिरहेको पाटेबाघ। तस्बिर स्रोतः बाँके राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्ज लुम्बिनी प्रदेशको अर्को गौरव हो। विदेशी र स्वदेशी पर्यटक लोभ्याउने ठाउँ हो यो। २०४५ सालमा यो राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो। यस निकुञ्जमा पाटेबाघ, एकसिंगे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिंगा र जंगली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन्। जलचरमा घडियाल गोही, मगर गोही र विभिन्न किसिमका माछा पाइन्छन्। यस निकुञ्जमा हालसम्म ४ सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख छ।

हिमाली जिल्ला रुकुम पूर्वको पुुथा र सिस्ने हिमाल यस प्रदेशमा छन्। पुथा हिमाल समुद्र सतहदेखि ७२४६ मिटर र सिस्ने हिमाल ५८४९ मिटर अग्लो छ। सिस्ने हिमाललाई स्थानीय भाषामा ‘मुर्कट्टा’ हिमाल पनि भनिन्छ। यो हिमाल कान्जिरोवा हिमश्रृंखलाअन्तर्गत पर्छ। लुुम्बिनी प्रदेशले सिस्ने हिमालको चित्र प्रदेशको लोगोमा राखेको छ।

रोल्पाको थवाङ

माओवादी युद्धका बेला रोल्पा रुकुमले छुट्टै पहिचान बनाएको थियो। जनयुद्धको सुरुवात यहीबाट भएको थियो। त्यसो त रोल्पाको थवाङ अझ बढी चर्चामा छ। थबाङ मगर जातिको बाहुल्य रहेको गाउँ हो। खाम भाषी रहेका उनीहरूको थुप्रै मौलिक संस्कार, संस्कृति र परम्परा छन्।

युद्धताका तालिम केन्द्र, विद्रोहीको हेडक्वार्टर, सेल्टर, भिडन्त स्थल, कम्युन, सहकारी र जननमुना हस्पिटल यहाँ भएकाले यो ऐतिहासिक स्थलका रूपमा परिचित छ। मुुलुक शान्ति प्रक्रियामा गएपछि यस स्थानलाई युुद्ध पर्यटकीय स्थल बनाउने आवाज उठ्यो। यहाँका बासिन्दाले सबै काम सामूहिक सल्लाहमै गर्छन्। भोट हाल्न गए सबै जाने, नगए कोही नजाने परम्परा छ। विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समूहको सदस्यमा चुनाव हुँदैन। सामूहिक निर्णयले चुन्ने गरिएको छ।

रोल्पाको थबाङ

जलजला र थवाङ रोल्पाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र हुन्। यहाँ जलजलादेवीको मन्दिरलगायत विभिन्न धार्मिक संरचना निर्माण गरिएका छन्। जलजला पहाडमा सधैँ रंगीबिरंगी फूल फुलेको हुन्छन्। त्यहाँ सरदर ३६ भन्दा बढी प्रजातिका फूल फुल्छन्। फूलको सुवासले मगमगाउने जलजला पहाडमा देशविदेशबाट पर्यटक आउने गर्छन्। यस क्षेत्रमा विभिन्न जडीबुटी पनि पाइन्छन्।

दाङमा नयाँ पर्यटकीयस्थल

दाङ उपत्यका आफैँमा सुन्दर छ। यहाँ पर्यटकीय स्थलको विकास क्रमश भइरहेको छ। घोराही उपमहानगरपालिका वडा नं ५ मा अवस्थित धारापानी धाम दाङको प्रमुख धार्मिक पर्यटकीय स्थल हो। पाण्डवेश्वर मन्दिरको नामले पनि चिनिने धारापानीधाम सहरी क्षेत्रदेखि नजिकै पर्ने भएकाले पर्यटकको रोजाइमा पर्छ। यहाँ सुन, चाँदी, पितल, तामा र फलामबाट तयार गरिएको मुलुककै अग्लो भनिएको त्रिशूल स्थापना गरिएको छ।

धारापानी क्षेत्र

पश्चिम क्षेत्रकै एक चर्चित धाम हो रिहार। जसलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा पनि चिनिन्छ। यहाँ भारतको उत्तर प्रदेशबाट समेत पर्यटक आउने गर्छन्। लुम्बिनीको स्थायी राजधानी राप्ती उपत्यकानजिकै रहेको अर्को पर्यटकीय स्थल हो, जखेरा ताल।

लमही नगरपालिका वडा नं. ३ मुसन्डीमा रहेको यो पर्यटकका लागि आकर्षक गन्तव्य हो। पूर्वपश्चिम राजमार्गको भालुवाङ–लमही सडक खण्डदेखि करिब १.५ किमिजति उत्तर चुरे पहाडको काखमा छ यो ताल। १२ बिगाहा क्षेत्रफलमा फैलिएको ताल अहिले यस क्षेत्रको प्रसिद्ध पिकनिक स्पट बनेको छ।

कपिलवस्तुको जगदीशपुर ताल, तत्कालीन समयमा विश्व विजेता बन्न हिँडेको ब्रिटिसलाई हराउन सफल भएको बुटवलको जितगढी किल्ला, बुटवल फुलबारी, सिद्धबाबा धाम, पाल्पाको भैरवस्थान मन्दिरलगाय प्रदेशका पर्यटक स्थल हुन्।

  • २४ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech