बाँके\अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) स्थापनाको ५९वर्ष पुगेको छ। कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनका रुपमा २०२२ सालमा जन्मेको उक्त संगठनको मूल लिगेसी अहिले नेकपा एमालेसँग छ।
पञ्चायती शासनकाल २०२२ मा भएको पहिलो महाधिवेशनबाट सुजन खरेललाई अध्यक्ष बनाउँदै उक्त संगठनको सुरुवात गरिएको थियो। अहिले समिक बडालले उक्त संगठनको नेतृत्व गरिरहेका छन्।
अखिलको नर्सरीबाट हुर्केका नेताहरुले नेकपा एमालेको बागडोर सम्हाल्न पुगेका छन्। अध्यक्षपछिको महत्त्वपूर्ण पद महासचिवमा यही संगठनबाट आएका शंकर पोखरेल छन्। जो २०४८ सालमा भएको ११औं महाधिवेशनबाट अखिलको अध्यक्षमा निर्वाचित भएका थिए।
अखिलबाटै राजनीति सुरु गरेका योगेश भट्टराई एमालेको सचिव छन्। उनी २०५२ सालमा भएको १३औं महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए। भट्टराईपछि बीचमा अरुण नेपाल अध्यक्ष भए। त्यसपछि २०५५ सालमा भएको १४औं महाधिवेशनबाट अध्यक्ष निर्वाचित हिक्मत कार्की पार्टीको कोशी प्रदेश प्रमुख छन्।
सोही प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई दुईपल्ट अध्यक्ष भएका नेता हुन्। २०५७ सालमा भएको १५औं महाधिवेशनबाट राजेन्द्र राई अध्यक्ष भए। त्यहीबेला पूर्वमालेबाट रवीन्द्र अधिकारीलाई पनि अध्यक्ष बनाइयो। जो संघीय मन्त्री बने। पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री भएकै बेला उनको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो। यसैगरी २०५९ सालमा भएको १६औं महाधिवेशनमा पनि राई नै दोहोरिए।
दुई कार्यकाल अखिलको नेतृत्व गरेका राई अहिले एमालेमा छैनन्। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीमा सक्रिय रहेर राजनीति गरिरहेका छन्। अनेरास्ववियुकै नैतृत्व गरेका ठाकुर गैरे र सुनिता बराल पार्टी केन्द्रीय कमिटीका साथै प्रतिनिधि सभा सदस्य समेत छन्।
बार अध्यक्षदेखि बालअधिकारकर्मीसम्म
२०२५ सालमा भएको दोस्रो महाधिवेशनबाट अखिल अध्यक्ष बनेका विश्वकान्त मैनालीले कानुन क्षेत्र रोजे। उक्त क्षेत्रको नेतृत्वदायी संस्था नेपाल बार एसोसिएसनको अध्यक्षसम्म बने। अहिले एमालेबाट फुटेको एकीकृत समाजवादीका कानुनी सल्लाहकार छन्।
२०२६ सालमा ललितपुरमा सम्पन्न तेस्रो सम्मेलनबाट अध्यक्ष बनेका गोविन्दमान श्रेष्ठले लामो समय राजनीति गरेनन्। चौथो महाधिवेशनबाट मुकुन्दबहादुर श्रेष्ठ अध्यक्ष चुनिए। यसगरी २०३६ सालमा भएको अखिलको पाँचौ महाधिवेशनबाट टंक कार्की अध्यक्ष चुनिएका थिए। उनी अहिले नेकपा एमालेका केन्द्रीय सदस्य छन्। यसअघि चीनका लागि राजदूत समेत बनिसकेका छन्। कार्की २०३८ सालमा भएको छैटौँ महाधिवेशनबाट अध्यक्ष दोहोरिएका थिए।
सातौं महाधिवेश आयोजक समितिको संयोजक बनेका गौरी प्रधान बालअधिकारका क्षेत्रमा सक्रिय छन्। सातौँ महाधिवेशनबाट अध्यक्ष भने रामप्रसाद ज्ञवाली निर्वाचित भएका थिए। २०४२ सालमा काठमाडौंमा सम्पन्न आठौँ महाधिवेशनबाट अध्यक्ष बनेका झापाका चन्द्र भण्डारी पनि सक्रिय राजनीतिबाट टाढिएका छन्। २०४४ सालमा भएको अखिलको नवौँ र २०४७ सालमा भएको १०औं महाधिवेशनबाट अध्यक्षमा तुलबहादुर गुरुङ चुनिएका थिए। उनले एमाले छाडेका छन्। अहिले एकीकृत समाजवादीको गण्डकी प्रदेश अध्यक्ष छन्।
एमाले महासचिव रहेका शंकर पोखरेल २०४८ सालमा भएको अखिलको ११औं महाधिवेशनबाट अध्यक्ष बनेका हुन्। यसैगरी १२औं महाधिवेशन २०५० सालमा हुँदा अध्यक्षमा रामनाथ ढकाल चुनिएका हुन्। २०६२ सालमा भएको १७औं महाधिवेशनबाट खिमलाल भट्टराई अध्यक्ष चुनिएका थिए। उनी अहिले एमाले पोलिटब्यूरो सदस्य छन्। राष्ट्रिय सभा सदस्य रहेका उनले प्रतिनिधि सभामा निर्वाचन लड्न राजीनामा गरेका थिए। पार्टीबाट टिकट पाएका उनी ‘प्राविधिक कारण’ उम्मेदवार हुन भने पाएनन्।
२०६५ सालमा भएको १९औं महाधिवेशनबाट अध्यक्ष चुनिएकी रामकुमारी झाँक्रीले पनि एमाले छाडेकी छन्। संघीय मन्त्री समेत बनिसकेकी उनी एकीकृत समाजवादीकी सचिव छन्। २०औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित माधव ढुंगेल एमाले केन्द्रीय सदस्य छन्। २०७० सालमा भएको २१औं महाधिवेशनबाट अध्यक्ष बनेका किशोर विक्रम मल्ल पनि एमालेको केन्द्रमा छन्। २०७२ सालमा भएको २२औं महाधिवेशनबाट अध्यक्ष बनेकी नविना लामा यसअघि प्रतिनिधि सभा सदस्य थिइन्। अहिले केन्द्रीय सदस्य मात्रै छन्।
नविनाले राजीनमा दिएपछि अध्यक्ष चुनिएका ऐन महर एमाले केन्द्रीय सदस्य छन्। बझाङबाट प्रतिनिधि सभा सदस्य बन्न प्रयास गरेका थिए, तर सफल हुन सकेनन्। अनेरास्ववियुको २३ औं महाधिवेशन गत फागुनमा भएको थियो। उक्त महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।