बाँके\बाँके र बर्दियाका विभिन्न युनिटमा आवद्ध नेपाली सेना र स्वास्थ्यकर्मीलाई सर्पदंशको उपचार र सचेतनासम्बन्धी तालिम दिइएको छ । वर्षा सुरु भएसँगै सर्पदंशका घट्ना जिल्लामा बढ्दै गएपछि बाँकेको राप्तीसोनारीस्थित श्री अर्जुनबाण गण ओभरी व्यारेकमा सर्पदंशको उपचार र सचेतनामूलक प्रशिक्षण दिइएको हो ।
ओभरी व्यारेकका गणपति एवम् प्रमुख सेनानी अशोक खड्काले बाँके र बर्दियाका विभिन्न युनिटमा आवद्ध नेपाली सेना र सर्पदंश उपचार केन्द्र शम्शेरगन्जका स्वास्थ्यकर्मीलाई ओभरी व्यारेकमा प्रशिक्षण दिइएको जानकारी दिएका छन।
सर्पदंश रोग विशेषज्ञ डा। आचार्यले नेपालमा करिब ९० प्रजातिका सर्प रहेको जनाउँदै ती मध्ये २० प्रतिशत मात्रै बिषालु हुनेगरेको जानकारी दिए । उनले खासगरी यो क्षेत्रमा गोमन र करेट प्रजातिका बिषालु सर्पको जोखिम धेरै रहेको बताए ।
डा. आचार्यले भने, ‘सर्पले टोके पनि समयमै उपचार पाए बिरामीको ज्यान जोगिन सक्छ । घर वरपरको वातावरण सफा राख्ने, झाडी भए हटाउने, घर वरपर दुलो (प्वाल) देखिए पुर्ने, सकेसम्म भुइँमा नसुत्ने, सुते पनि झुल लाएरमात्रै सुत्ने गरेमा सर्पदंशको जोखिम कम गर्न सकिन्छ ।’
प्रशिक्षण कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारु, राप्तीसोनारी–८ का अध्यक्ष शालिकराम डाँगी, रेडक्रसका ओभरी शाखा सभापति अम्मर खड्का लगायतको उपस्थिति थियो ।
राप्तीसोनारी गाउँपालिका –८ ओभरीमा तीन वर्षअघि सर्पदंश उपचार केन्द्र स्थापना गरिएको थियो । बि.स. २०७७ मा स्थापना भएको सो केन्द्रले अहिलेसम्म बिषालु सर्पले टोकेका ८१ जनाको उपचार गरिसकेको छ ।
बि.स २०७७ सालमा ३ जना, २०७८ मा ३४ जना, २०७९ मा ३५ जना र २०८० सालको हालसम्म ९ जना बिरामीले सो केन्द्रबाट सेवा लिएको तथ्याङ्क छ । तीमध्ये तीन जना बिरामीलाई गोमन सर्पले डसे पनि उपचारबाट निको भएका थिए ।