१० जेष्ठ २०८३, आईतवार

नरैनापुर मलेरियाको उच्च जोखिममा
  • न्युज मानसराेवर

बाँके\बाँकेको नरैनापुर गाउँपालिका मलेरियाको उच्च जोखिममा रहेको छ । सिमा क्षेत्रसंग जोडिएको पालिकाका स्थानीयहरु भारतमा आउजाउ बढी हुनेभएकोले मलेरियाको उच्च जोखिममा परेको हो ।

गाउँपालिकाका अनुसार भारतमा मलेरिया लागेका व्यक्ति सिधै नरैनापुरमा आउने भएकाले पनि मलेरियाको उच्च जोखिममा नरैनापुरलाई राखिएको छ । गत आर्थिक वर्षमा त्यहाँ १०२ जनामा मलेरिया पुष्टि भएको थियो ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले गत आर्थिक वर्षमा चार हजार ३८४ जनाको मलेरिया जाँच गर्दा १०२ जनामा मलेरिया पुष्टि भएकाले जोखिम बाँकी नै रहेको पुष्टि भएको  बताएका छन।

स्वास्थ्य शाखा प्रमुख साहका अनुसार अघिल्लो आव २०७÷०७९ मा दुई हजार ६७५ जनाको औलो जाँच गर्दा ८९ र आव २०७७÷०७८ मा एक हजार ५५८ जनाको जाँच गर्दा ३५ जनामा मलेरिया पुष्टि भएको थियो । मलेरियाका कारण कसैको मृत्यु नभएको पनि स्वास्थ्य शाखाले जनाएको छ ।

त्यसै गरी नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले खुला सिमाना र निर्बाध ओहोरदोहोरका कारण गाउँपालिका मलेरियाको उच्च जोखिममा परेकाले सतर्कता अपनाएर जोखिम घटाउने प्रयास भइरहेको बताए ।

उनले गत केही वर्ष यता गाउँपालिकामा हरेक वर्ष लगातार मलेरियाका बिरामी भेटिने गरेकाले चेकजाँच बढाउनुका साथै जनचेतना वृद्धि गर्ने कार्य पनि गरिरहेको बताए ।

भारतबाट फर्किनेबाट मलेरिया पनि भित्रिने आशङ्का रहेकाले नेपालगन्जको मुख्य जमुनाहा नाकामा पनि निरन्तर मलेरिया जाँच भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सो कार्यालयका अनुसार कोरोना परीक्षणका लागि नाकामा स्थापना गरिएको हेल्थडेस्कले कोरोनासँगै मलेरिया पनि नियमित परीक्षण गर्दैआएको छ । भारतबाट फर्किनेमा फाटफुट मलेरिया देखिनेगरेको जमुनाहा नाकास्थित हेल्थ डेस्कले जनाएको छ ।

  • १४ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech