१० जेष्ठ २०८३, आईतवार

तीन वर्षमा २३० ले ज्यान गुमाए बाँकेमा
  • न्युज मानसराेवर

बाँके\बाँकेमा पछिल्लो तीन वर्षमा ४४४ वटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार ती दुर्घटनामा परेर २३० जनाले ज्यान गुमाएका छन् ।जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले दिनुभएको जानकारीअनुसार पछिल्लो तीन वर्षमा जिल्लामा भएका साना ठूला ४४४ वटा सवारी दुर्घटनामा परेर २३० जनाले ज्यान गुमाएका छन् भने ५२० जना घाइते भएका छन् ।

उनले घाइतेमध्ये अधिकांशको हात खुट्टामा गम्भीर चोट लागेका कारण उनीहरु अपाङ्गताको अवस्थामा रहेको पनि बताए । अधिकांश दुर्घटनाका घटनाहरु किन र कसरी भए भन्ने बारेमा प्रहरीले गरेको अध्ययन अनुसन्धानबाट सडक दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको पाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवेदीले बताए ।

उनले जिल्लामा सो अवधीमा भएका दुर्घटनाको घटना विवरण हेर्दा अधिकांश दुर्घटना चालकको लापरवाही बेवास्ता र मनपरीले गर्दा भएको पाइएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटनाको मुख्य कारण सडकको अवस्था, चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु र सडकमा चौपायाको झुण्ड हुनु र सवारी साधनको अवस्था नै रहेको पाइएको छ ।

गत तीन वर्षको अवधिमा दुर्घटनामा परेर करिब ६० भन्दा बढी पशु चौपायाको पनि ज्यान गएको तथ्यांकले देखाएको छ । छाडा पशु चौपायाका कारण पनि बाँकेमा धेरै दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाँकेमा ट्राफिक नियम उल्लङ्घनका घट्नाहरु पनि सो अवधीमा ठूलो सङ्ख्यामा भएका छन् । दुर्घटनाको अर्को प्रमुख कारण ट्राफिक नियम उल्लङ्घन पनि बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुवेदीले पछिल्लो तीन वर्षमा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा एक लाख ३१ हजार ८८९ सवारी साधनलाई कारवाही गरिएको उल्लेख गरे ।

कारवाहीबाट सात करोड ५८ लाख ३१ हजार रुपियाँ राजस्व समेत असुलेको उनले जानकारी गराए । जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवेदीले विगतका दुर्घटना र कारण केलाउँदै जाँदा जिल्लामा ट्राफिक सचेतनाका विभिन्न कार्यक्रम र गतिविधि निरन्तर सञ्चालन गर्नुपर्ने, गति नियन्त्रणलाई कडाइका साथ लागू गर्नुपर्ने र मापसे चेकजाँचलाई पनि निरन्तर जारी राख्नु पर्ने देखिएको बताएका छन।

  • २९ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech