बाँके\ बाँकेको बैजनाथमा रहेको नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन र बस्ती ब्यवस्थापनका लागि पहिलो चरणको प्रक्रिया सुरु गरिएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा जनप्रतिनिधि र नौवस्ता औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका कर्मचारीबीच सहमती भएसँगै पहिलो चरणको प्रक्रिया सुरु गरिएको हो ।
पहिलो चरणको प्रक्रियामा मंगलबारदेखी ड्रोनमार्फत सर्भे सुरु गरिने बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए । २०७१ सालदेखी सञ्चालन आउन नसकेको औद्योगिक क्षेत्र अब सञ्चालनमा आउने र जनताको बस्ती पनि ब्यवस्थापन हुने उनले बताए ।
ड्रोनमार्फत सर्भे गर्नका लागि कन्सल्टेन्सी र इन्जिनियरसहितको टोली खटिने बताइएको छ । औद्योगिक क्षेत्र सञ्चालन र बस्ती ब्यवस्थापनका लागि बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सांसद समेत रहेका काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौंर, प्रतिनिधि सभाका सांसद आशा बि.क, औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अधयक्ष लगायत सम्पूणै राजनीतिक दलका प्रतिनिधि, स्थानीय बासिन्दाको भूमिका रहेको अध्यक्ष शाहीले बताएका छन् ।
सो क्रममा प्रतिनिधि सभाका सांसद बिक, प्रदेश सभाका सांसद माया पुन, गाउँपालिका अध्यक्ष शाही, उपाध्यक्ष निर्मला रोकाय, औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका कर्मचारी, वडा नम्बर ३ का वडाअध्यक्ष निखिल बैगार, कार्यपालिका सदस्य भूमिसरा राना लगायत काँग्रेस नेता तथा नेतृको उपस्थिती रहेको थियो ।











