१० जेष्ठ २०८३, आईतवार

बाँकेमा शिशु मृत्यु दर उच्च
  • न्युज मानसराेवर

बाँके\पश्चिम नेपालकै स्वास्थ्य हब मानिने ठुलाठुला अत्याधुनिक सरकारी र गैर सरकारी अस्पतालहरू रहेको बाँकेमा मातृ मृत्युदर उच्च हुनुका साथसाथै नवजात शिशुको मृत्यु दर पनि उच्च छ ।स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९–८० मा बाँके र बाहिरी जिल्लाका गरी बाँकेमा १४२ जना नवजात शिशुको मृत्यु भएको थियो ।

उनले उक्त क्रममा नेपालगन्जमा ९७ जना, कोहलपुरमा ३३ जना, नरैनापुर र डुडुवा गाउँपालिकामा ४–४ जना, खजुरा र राप्तीसोनारी गाउँपालिकामा २–२ जनाको मृत्यु भएको पाइएको बताए ।सूचना अधिकारी श्रेष्ठले गत आर्थिक वर्षमा १४२ जना शिशुको मृत्यु भएपनि त्यसको अघिल्लो आर्थिक वर्षमा भने २५० जनाको मृत्यु भएको तथ्याङ्क रहेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७८–७९ मा बाँके जिल्ला र बाहिरी जिल्लाका गरी बाँकेमा २५० जना नवजात शिशुको मृत्यु भएको थियो । त्यस वर्ष नेपालगन्जमा १६० जना, कोहलपुरमा ६२ जना, राप्तीसोनारीमा ९ जना, जानकी गाउँपालिकामा ७ जना, बैजनाथ र खजुरा गाउँपालिकामा ५–५ जना र नरैनापुरमा २ जना शिशुको मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७७–७८ मा बाँके जिल्ला र बाहिरी जिल्लाका गरी २३७ जना नवजात शिशुको बाँकेमा मृत्यु भएको थियो । मृत्यु हुनेहरूमा नेपालगन्जमा १२७ जना, कोहलपुरमा ७० जना, डुडुवामा ११ जना, नरैनापुरमा १० जना, राप्तीसोनारीमा ६ जना, बैजनाथमा ५ जना, खजुरा र जानकी गाउँपालिकामा ४–४ जना थिए ।

बाहिरी जिल्लाका बिरामीलाई नेपालगन्ज र कोहलपुरका अस्पतालमा उपचार गराउन ल्याउने भएको र ती मध्ये अधिकांश निकै सिरियस अवस्थामा पुगेपछि मात्रै ल्याइने गरेकोले यहाँ नै बढी मृत्यु देखिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठले बताए ।

उनले नेपालगन्जमा पश्चिम नेपालका विभिन्न जिल्लामा उपचार हुन नसकेपछि अति नै गम्भीर अवस्थामा पुगेपछि मात्रै बिरामीलाई ल्याइने गरेकोलेनै अधिकांशको मृत्यु हुने गरेको उल्लेख गरे । नेपालगन्ज पश्चिम नेपालको स्वास्थ्यको केन्द्र विन्दु मानिने र यहाँ आधा दर्जन बढी ठुला अत्याधुनिक अस्पताल रहेपनि यति धेरै सङ्ख्यामा शिशुको मृत्यु हुनु चिन्ताको विषय बनेको छ ।

पश्चिम नेपालका २४ जिल्लाका मानिसको उपचारको थलो नै नेपालगन्ज भएकोले यहाँ बिरामीलाई ल्याउनु स्वाभाविक भएपनि यति धेरैको मृत्यु हुनु भने चिन्ताको विषय भएको सामाजिक अभियन्ता हेमन्तराज काफ्लेको भनाइ छ । नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज र कोहलपुरको मेडिकल कलेज पश्चिम नेपालका बिरामीको रिफरल सेन्टरको रूपमा छन् ।

  • २८ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech