१० जेष्ठ २०८३, आईतवार

अस्पतालको कार्यक्रममा मुख्यमन्त्रीको भाषण : घरेलु मदिरा ब्राण्डिङ गरौं
  • न्युज मानसराेवर

बुटवल\लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गरेर ब्राण्डिङ गर्नुपर्ने बताएका छन् । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको ११ औं वार्षिकोत्सव उद्घाटन गर्दै उनले विदेशबाट वर्षेनी अर्बौं रकमको मदिरा आयात हुने गरेको भन्दै आयात प्रतिस्थापन गर्न घरेलु मदिरालाई उद्योगबाट उत्पादन गरी गुणस्तरीय र ब्राण्डेड बनाउनुपर्ने बताए ।

घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गर्न सक्ने हो भने गाउँघरमा हजारौं रोजगारी सिर्जना हुने र मानव स्वास्थ्यको जोखिम पनि कम हुने बताए । ‘हामी विदेशबाट सामान आयात गरेर बेच्ने र नाफा कमाउनेमा मात्रै सीमित भयौं, आफ्नै देशमा उत्पादन गरौं, रोजगारी सिर्जना गरौं भन्नेमा ध्यानै छैन’, मुख्यमन्त्री चौधरीले भने, ‘मदिराकै कुरा गर्ने हो भने नेपालमा मगर, थारु लगायत जातिले घरेलु मदिरा उत्पादन गरिरहेका छन्, त्यसको ठूलो मात्रामा कारोबार पनि भएको छ तर करको दायरामा आएको छैन ।’

घरेलु मदिराको गुणस्तरमा पनि प्रश्न उठेको भन्दै उनले यसलाई उद्योगमा परिणत गर्न सके नेपालमै गुणस्तरीय उत्पादन गर्न सकिने बताए ।

मुख्यमन्त्री चौधरीले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरणका लागि लुम्बिनी सरकारले निजी क्षेत्रसंग मिलेर अध्ययन गर्न ८ करोड रुपैयाँ बजेट छुट्याएको पनि बताए । पर्यटकलाई विदेशी मदिरा नभई नेपालकै ब्राण्डेड मदिरा बेच्न सके विदेशी मुद्रा आर्जन हुने सुझाए । साभार

  • १० पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech