बाँके\छिल्लो समय बाँकेका विभिन्न ठाउँमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले विभिन्न प्रकारका चेकजाँच र सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी चालक तथा यात्रुहरुले लागूपदार्थ सेवन गरेको, नगरेको परीक्षणलाई तीव्रता दिनुका साथै कारवाही पनि अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले दिनुभएको जानकारीअनुसार जिल्लामा दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन गरेको नगरेको परीक्षण भइरहेकै बेला हाल आएर लागुपदार्थ सेवन गरे नगरेको पनि परीक्षण सुरु गरिएको जानकारी गराएका छन।
बाँकेमा हुनेगरेका अधिकांश सवारी दुर्घटना तीव्र गति र मादक पदार्थ सेवन तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा हुनेगरेको हुँदा प्रहरीले गति नियन्त्रणमा ध्यान दिनुका साथै मापसे र लापसे गर्नेहरुमाथि कडा निगरानी राख्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गति नियन्त्रण र ट्राफिक नियमका बारेमा सवारी चालक र अन्य सर्वसाधारणलाई समेत सचेत पार्नु अति आवश्यक देखिएकाले सो अभियान पनि निरन्तर जारी राखेको जनाएको छ । गोरखापत्र











