कोहलपुर,बाँके:जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर भूकम्प गएको तीन महिना पुरा भएको छ । भूकम्पका कारण ठुलो मात्रामा जनधनको क्षति भयो । जिल्लाको दार्मा गाउँपालिका घर भएका २ जना र बन्गाड कुपिण्डे नगरपालिका घर भएका एक जना गरी जिल्लाका तीन जनाको भूकम्पमा परी मृत्युभयो । भूकम्पका कारण जिल्लाको दार्मा गाउँपालिका सँगै कुमाख गाउँपालिका र बागचौर नगरपालिका बढी प्रभावित भए ।
जिल्लामा १ हजार ७ सय ४३ घरमा पुर्णरुपमा क्षति भयो भने २ हजार ९ सय ५ घरमा आंशिक र २ हजार ४ सय ३२ घरमा सामान्य क्षति भयो । भूकम्पका कारणमा घरमा क्षति हुने र लाभग्राहीको सङ्ख्या बढ्ने क्रम चलिरहेको छ । भूकम्प जाँदा तत्कालै राहत र उद्धारको काम गरिए पनि अस्थायी आवास भने अझै निर्माण सम्पन्न भएको छैन् ।
जिल्लाका केही स्थानीय तहले अस्थायी आवास निर्माण गरिरहेको भएपनि केही स्थानीय तहमा भने अझै सुरु हुन सकेको छैन् । जिल्लाको दार्मा गाउँपालिकामा ९ सय ५२ अस्थायी आवास निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो । भूकम्पले घर क्षति भएपछि त्रिपालमुनि बस्दै आएका सर्वसाधारण आफैँ र विभिन्न सङ्घ संस्था तथा स्वयमसेवकहरुको सहयोग समेत गरी ९ सय ५२ ओटा अस्थायी आवास निर्माण भएका हुन् ।
सुरुवातमा गाउँपालिका भित्रमा १ हजार १ सय ७९ घर बस्न नमिल्ने गरी भत्किएका थिए । तर अहिले भने लाभग्राहीको सङ्ख्या थपिएर २ हजार ३ सय पुगेको छ । त्यस मध्ये अहिलेसम्म ५ सय २० लाभग्राहीले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको २५ हजार रुपियाँ पाएका छन् । पछिल्लो थपिएको तथ्याङ्क सहित हेर्दा दार्मा गाउँपालिकामा अझै आधा अस्थायी आवास निर्माण गर्न बाँकी छ ।
कुमाख गाउँपालिकामा रहेका १ सय ६७ मध्ये १ सय १० लाभग्राहीले पहिलो किस्ताको २५ हजार रुपियाँ पाएका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत छविलाल खड्काले भुकम्पका कारण घरमा क्षति भएका लाभग्राहीको लागि अस्थायी संरचना निर्माणको काम भइरहेको बताउनुभयो । लाभग्राहीको सङ्ख्या बढ्दै गएकाले अस्थायी संरचना निर्माणमा ढिलाइ भइरहेको उहाँको भनाइ छ ।
बागचौर नगरपालिकामा भने अझै अस्थायी आवास निर्माणको काम सुरु भएको छैन । आवश्यक प्रक्रिया पुरा गर्न समय लागेकाले अस्थायी आवास निर्माणमा ढिलाइ भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार यस नगरपालिकामा ४ सय २९ लाभग्राही रहेकोमा पछिल्लो समय १ सय ५० बढी लाभग्राही सङ्ख्या थपिएका छन् ।
समस्यामा भूकम्प प्रभावित
जिल्लाका भूकम्प प्रभावितहरुले समयमा नै अस्थायी आवास निर्माण नहुँदा समस्या भएको छ । भूकम्पले घर भत्किदा केही प्रभावित त्रिपालमा बसेका छन् । केही अस्थायी आवासमा बसेका छन् । चिसोका कारण भूकम्प प्रभावित थप समस्यामा परेका छन् । भूकम्प गएको तीन महिना वितिसक्दा स्थायी आवास निर्माण बारे सोच्नु पर्नेमा अझै अस्थायी आवास निर्माणमै सरकार अल्झिएको स्थानीय दार्मा गाउँपालिका –२ लिजापाजाकी भद्री पाण्डेले बताउनु भयो ।
प्रभावितको रकम जिल्ला प्रशासनमै
भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८० बमोजिम संघीय सरकारले जिल्लामा अस्थायी आवास निर्माणका लागि २ पटक गरेर ७ करोड रुपियाँ पठाएको छ । तर स्थानीय तहले आवश्यक प्रकृया पुरा गर्न ढिलाई गर्दा करोडौँ रकम खातामा थन्किएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म जिल्लाको दार्मा गाउँपालिकामा १ करोड ३० लाख रुपियाँ, कुमाख गाउँपालिकामा ४१ लाख ७५ हजार रुपियाँ र बागचौर नगरपालिकामा ३५ लाख रुपियाँ अस्थायी आवास निर्माणका लागि पठाइएको छ ।
त्रिवेणी गाउँपालिकामा १६ लाभग्राहीका लागि पहिलो किस्ताको रकम तत्कालै पठाउने तयारी छ । सम्बन्धित स्थानीय तहले आवश्यक कागजात उपलब्ध गराउन नसक्दा भुकम्प प्रभावितका लागि बाँकी रहेको पहिलो किस्ताकै रकम पठाउन नसकिएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो । आवश्यक प्रकृया पुरा गरेर थप किस्ता मागको लागि स्थानीय तहलाई मौखिक र लिखित रुपमै आग्रह गरिएको उहाँले बताउनुभयो ।
‘प्रकृया झन्झटिलो भएका कारण समस्या भएको स्थानीय तहले बताएका छन्, पहिले नै अस्थायी आवास निर्माण सम्पन्न हुनुपर्ने हो, प्रशासनको रेकर्ड अनुसार पहिलो किस्ता पाउने लाभग्राहीको सङ्ख्या कम देखिएको छ, तर राजनीतिक दल, सामाजिक सङ्घ संस्था र व्यक्तिगत गरेर अस्थायी आवास हजार बढी नै निर्माण सम्पन्न भएका छन्’ उहाँले भन्नुभयो ‘जुन गतिमा अस्थायी आवास निर्माण हुनुपर्ने थियो, त्यो गतिमा हुन सकेको छैन् ।’