नेपालगञ्ज:नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजेको आसपास भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ ।
अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ । उनले किन विष सेवन गरेकी हुन् थाहा हुन नसकेको र त्यस विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

यद्यपि भारतिले छोरालाई भेट्न नदिएपछि विष पिएकी दावि गरिएको छ । नेपालगन्जस्थित एक विद्यालयमा अध्ययरत छोरालाई भेट्न उनी मंगलबार बिहान खाजासमेत लिएर पुगेकी थिइन्। तर, परिवारले भेट्न अनुमति नदिएको र भारतीले दिएको खाजासमेत छोरालाई दिन नमिल्ने जवाफ विद्यालयले दिएको खुलेको छ।
भारतीको पक्षमा न्यायका लागि आवाज उठाउँदै आएकी जश्मिन ओझाका अनुसार छोरालाई भेट्न नदिइएपछि तनावमा परेकी मानन्धरले विष पिएकी हुन्। विष पिएपछि अचेत बनेकी उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ। ओझाका अनुसार अहिलेसम्म भारतीको होस खुलेको छैन ।











