बुटवल\ बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन आइतबारदेखि शुरू भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहका बीच तीन दिने त्रिपिटक (पाठ) को उद्घाटन गरेका हुन् ।
अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सह–आयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन शुरू गरिएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसाथ गरेको बताउँदै विश्वभर ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउनुपर्ने बताए ।
उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरेर काठमाडौंमा भेट हुँदा बुद्धको शिक्षाको मुख्य भागका रुपमा रहेको ध्यान विधिलाई योग दिवस जस्तै गरी अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन अनुरोध गरेको सुनाए ।
‘कुन डे भन्ने कुरा छलफल गरौंला तर मेरो हृदयमा भएको ध्यान दिवसका बारेमा सरकारले प्रस्ताव लैजान्छ’, उनले भने । उनले मेडिसिनलाई गृहमन्त्रालयले शुरूवात गरिसकेको समेत बताए ।











