बाँके बैजनाथ । नेतृत्व तहमा महिला सहभागिताको आकर्षण बढन थालेको छ । समय गतिशिल छ कुनै बेला चुलोचौकोमा सीमित महिला पछिल्लो समय नेतृत्वदायी भूमिकामा देखिन थालेका हुन् ।
त्यसको उदाहरण हो फागुन २२ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले संघको ९ औँ अधिवेशनमा वाणिज्य तर्फको उपाध्यक्ष पदमा संगीता सुवेदी र कोषाअध्यक्ष पदमा सीता कार्कीलाई उम्मेदवार बनाएको छ ।
सहभागीता र समावेशीतालाई हाम्रो समूहले प्रमुखताका साथ जोड दिएका छौँ ‘ प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तथा बाणिज्य संघका पूर्वअध्यक्ष चिन्तामणी धिताल भन्छन् ।
यसभन्दा पहिले पनि संघको ८ औँ अधिवेशनमा जिम्मेवारी पदमा सुवेदी र कार्की निर्वाचित भैइसकेका अनुहार हुन् । वाणिज्य तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी सुवेदीका अनुसार महिलाहरुले हरेक संघ संस्था, र विभिन्न निकायका जिम्मेवारी पदमा रहेर काम गर्न सक्छन् भन्ने पूर्ण विश्वास रहेको उनको दावि छ ।
समतामूलक समाज नै समन्यायिक विकासको आधार हो । आधुनिक मान्यता अनुसार विकास भनेको भौतिक संरचनाको निर्माण र आर्थिक वृद्धि दरमात्र होइन । बरु सबै वर्ग र लिंगको सशक्तीकरणले यसलाई अगाडि बढाउँछ ।
त्यसैले यतिबेला संघको नेतृत्वमा महिला पुग्ने र त्योखाले वातावरण निर्माणमा सबैले सघाउने परिपाटी आवश्यक रहेको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट कोषाअध्यक्ष पदमा उम्मेदवार दिएकी सिता कार्कीको बुझाइ रहेको छ ।
देशको आधाभन्दा बढी जनसंख्या ओगट्ने महिला विकासको मूलधारबाहिर रहेकाले देशले फड्को मार्न सकिरहेको छैन् । सामाजिक विकास, समानता र सिर्जनात्मक कार्यमा महिला–पुरुष हातेमालो गरेर नेतृत्वदायी भूमिकामा पुगेर संघलाई हाँक्नु आवश्यक रहेको खुल्ला सदस्यकी उम्मेदवार पवित्रा ढकाल भन्छिन् ।
समान अवसर र पहुँचको अभावले महिला सहभागितामा प्रत्यक्ष असर गर्छ । यसको परिभाषा विकसित मुलुक र विकासोन्मुख मुलुकमा फर भए पनि तुलनात्मक रूपमा विकसित देशमा महिला सहभागिता बढी छ ।
पछिल्लो उदाहरण हेर्नुभयो भने संघमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले महिला सहभागितालाई पहिलो प्राथमिकतामा राखेको महिला नेतृ एवं सदस्य पदकी उम्मेदवार शर्मिला मल्ल भन्छिन् ।
महिलालाई घरबाहिर गएर काम गर्ने वातावरणको सिर्जना परिवारले गरिदिनुपर्ने हुन्छ । राजनीतिक शक्ति, पारिवारिक निर्णय र आर्थिक गतिविधिमा महिलाको सहभागिता बढेमात्र हामीले खोजेको समुन्नत समाज निर्माण हुनेमा शंका छैन ।
अहिले महिला स्वतन्त्रता, समानता, समता, सहभागिता, महिला आरक्षण र सशक्तीकरण लगायत विषय चर्चामा छन् । त्यसैले यी शब्दलाई साँघुरो घेरामा सीमित नराखी व्यावहारिक बनाउँदै लैजान सबै तम्तयार हुनुपर्छ । महिलाहरुलाई पनि संघको जिम्मेवारी पदमा समावेश गरेर समावेशीको नारा लगाउनु उचितमा देखिन्छ ।