यतिखेर सुख्खा र हावाहुरी चल्ने मौसम हो। त्यसैले देशभर आगलागीका घटना वृद्धि हुन थालेका छन्। आगलागीका घटना न्यूनीकरण गर्ने पूर्वयोजना र आगलागीपश्चात् पनि तत्काल नियन्त्रणको पूर्वतयारी नहुँदा यस्ता घटनाबाट धेरै क्षति हुने गरेको बताइन्छ।
चैत–वैशाख महिना हावाहुरीको मौसम भएकाले पनि आगलागीले थप सम्भावित जोखिम बढाएको छ । यस मौसममा प्रायः ग्रामीण भेगमा आगलागीका घटना बढी हुने गरेको पाइन्छ । वनक्षेत्रमा बढ्दो आगलागीले वन पैदावरसँगै बहुमूल्य जडीबुटी, पशुपक्षीहरुमा समेत ठूलो असर पर्ने हुन्छ।
शहरी क्षेत्रमा धेरैजसो विद्युतीय सामग्री एवम् खाना पकाउने ग्यासको प्रयोगमा हुने असावधानीले आगलागी हुने गरेको देखिन्छ । साथै हिटर, इन्डक्सन चुलोलगायतका विद्युतीय सामग्री सही तरिकाले प्रयोग गर्न नजान्दा, खाना पकाइसकेपछि राम्ररी आगो ननिभाउँदा र कोठामा इन्धन सञ्चित गर्दा पनि आगलागीका घटना बढेको पाइन्छ।
यस मौसममा चल्ने हावाहुरीका कारण सामान्य आगोले पनि भयावह रुप लिन सक्छ। अतः आगलागी न्यूनीकरण र यसको नियन्त्रणका लागि सम्बन्धित पक्ष बेलैमा सचेत हुनु जरुरी छ। आगो नियन्त्रण गर्ने स्रोत–साधनको व्यवस्थापनसहित सतर्कता अपनाउनु अहिलेको आवश्यकता हो। आगलागी हुन नदिने पूर्वयोजना अवलम्बन गर्नुका साथै आगलागी भइहाल्यो भने पनि नियन्त्रणका लागि तयारी अवस्थामा रहनु अपरिहार्य छ।