१४ मंसिर २०८१, शुक्रबार

आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
  • न्युज मानसराेवर

तुलसीपुर,दाङ: लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले बताउनुभयो ।

प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका योजनालाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा प्रवक्ता निराजन घिमिरेले जानकारी दिए । यसका साथै प्रदेश सरकारले अघि बढाएका तर, हालसम्म सम्पन्न हुन नसकेका योजनाहरूलाई सम्पन्न गर्ने लक्ष्य राख्ने भएको छ ।

प्रदेश सरकारले अघि बढाएका गौरवका आयोजनासँगै सडक पूर्वाधार तथा खानेपानी आयोजना अलपत्र छन् । ती आयोजनाहरूलाई पूरा गर्ने गरी सरकारले वार्षिक नीति तथा कार्यक्रममा प्राथमिकता राख्ने भएको हो ।
दूर दराजका बस्तीहरू जहाँ पूर्वाधार पुगेको छैन, त्यस्ता ठाउँहरूमा पूर्वाधार पुर्‍याउने, पूर्वाधार पुगेका स्थानमा सेवा प्रवाह र गुणस्तरमा ध्यान दिने भएको छ । समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको अवधारणा अनुसार कृषि, पर्यटन, उद्योग, वन लगायतका क्षेत्रबाट उद्यमशीलता विकास गर्ने लक्ष्य सरकारले राखेको हो ।

प्रदेशमा रहेको मातृ मृत्युदर, बाल मृत्युदर, महिला तथा बालबालिकामा रहेको कुपोषण घटाउन सबै जिल्लामा सुरक्षित मातृत्व कार्य योजना कार्यान्वयन गर्ने, प्रादेशिक अस्पतालहरूको विशिष्टिकृत सेवा विस्तार गर्दै सबै वर्ग, उमेर, लिंग र जातजातिको पहुँच सुनिश्चित गर्ने, युवालाई अनुशासित बनाउन प्रदेश स्तरमा खेलकुद पूर्वाधारको विकास गर्दै ती खेलहरूलाई स्थानीयस्तरमा क्रमशः पुर्‍याउने, खेलाडीको क्षमता विकाससँगै प्रोत्साहनको कार्यक्रम अघि बढाउने गरी सरकारले प्राथमिकता निर्धारण गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तयार पारिसकेको छ । जसमा प्रदेश सरकारले दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सृजना, संघीयताको सबलीकरण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार, स्रोत साधनको परिचालनमा मितव्ययीता एवम् प्रभावकारी लगायतका विषयवस्तुलाई प्राथमिकतामा राखेको छ ।

  • २१ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech